कोरोना निको भएपछि गोठको बास

कोरोना निको भएपछि गोठको बास

बागमती प्रदेश ब्युरो : हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन्। हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि घर गएका थिए। ११ र १२ वर्षका बालिकालाई कोरोना सार्न सक्ने भन्दै उनीहरूलाई घरदेखि आधा किमि टाढाको गोठमा राखिएको हो।

कोरोना पोजिटिभ देखिएका उनीहरूकी दिदी कोरोना जितेर आइसोलेसनबाट फर्किसकेकी छन्। उनी हेटौंडामै छिन्। ‘हाम्रो रिपोर्ट नेगोटिभ आएको २१ दिनपछि गाउँ आएका हौं तर हामीलाई घरमा बस्न दिइएन’, ११ वर्षीया स्किन मोक्तानले भनिन्, ‘घरमै सुरक्षित ढंगले बस्छौं भन्दा कोेरोना सार्नसक्ने भन्दै हामीलाई गोठमा राखिएको छ।’ दिदीलाई आइसोलेसन वार्डमा राखेपछि उनीहरू होम क्वारेन्टाइनमा बसेका थिए। ‘दिदीलाई कोरोना पोजिटिभ देखिएको आठ दिनपछि हाम्रो पीसीआर टेस्ट गरेका थियौं’, स्किन मोक्ताने भनिन्, ‘रिपोर्ट नेगेटिभ आउनेबित्तिकै हामी घर आउन चाहेका थियौं तर गाउँलेले परिवारमा दिएको दबाबका कारण तत्कालै घर आउन सकेनौं।’

गोठमा बस्दा असुरक्षित महसुस भएको १२ वर्षीया स्वस्तिका दोङले दुःखेसो पोखिन्। ‘हामीलाई खाना पुर्‍याउन आउने आमाबुवालाई पनि लसपस नगर भन्दै गाउँलेले गाली गर्छन्’, उनले भनिन, ‘हामीले कुनै गलत काम गरेको जस्तो दबाब भइरहेको छ।’ कोरोना रिपोर्ट नेगेटिभ आएर घर फर्कंदासमेत गाउँघरमा अपमानित र फरक व्यवहार हुँदा दुःख लागेको १२ वर्षीया सुशीला स्याङ्बोले बताइन्। ‘रात परेपछि असुरक्षित महसुस हुन्छ’, उनले भनिन्, ‘आज गोठमा बसेको सात दिन भयो, अझै कति बस्नुपर्ने हो।’

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तानले वडामा क्वारेन्टाइन नभएकाले गोठमा राख्नु परेको बताए। ‘उनीहरूलाई गाउँमा ल्याउन गाउँलेले मानिरहेका थिएनन् तर क्वारेन्टाइन राख्न मिल्ने घर वडामा नभएकाले गोठमा राखिएको हो।’

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कोरोना नेगेटिभ देखिएकाले उनीहरूलाई गाउँमा ल्याइएको बताए। विभेद गर्नेलाई कानुनी कारबाही गरिने उनको भनाइ छ। पालिकाबाहिरबाट आउनेलाई राक्सिराङ–३ स्थित सूर्याेदय माविमा बनाइएको क्वारेन्टाइनमा राख्ने गरिएको छ।

पानी र नुन किन्न पनि दिइएन

दोलखाको भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गरिन्। तर समाजमा विकसित भएको भेदभाव र दुराशय हटाउन भने धेरै कठिन भइरहेको उनी बताउँछिन्। भदौ ६ गते संक्रमण पुष्टि भएर नौ दिनपछि कोरोना जितेर घर फर्केकी उनी कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताउँछिन्। उनले भनिन्, ‘मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन।’ घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जानेसम्मका घटना बेहोरेको उनको दुःखेसो छ।

सामाजिक लाञ्छनाले तनाव

आफ्नो व्यवसाय चलाएर बसिरहेको थिएँ। काठमाडांै जाने जरुरी काम परेर नागढुंगामा परीक्षण गराउँदा मेरो कोरोना रिपोर्ट पोजिटिभ देखियो। एउटै गाडी चढेर हिँडेका सबै साथीलाई नेगेटिभ, मलाई मात्रै कसरी पोजिटिभ आयो मैले थाहा पाउन सकेको छैन। घरपरिवार र मेरो व्यवसायमा जोडिएका सबैलाई जाँच गराइयो। कसैलाई पनि संक्रममण देखिएन। म बस्ने घरको संरचना पनि त्यस्तै फरक रहेकाले म घरकै आइसोलेसनमा बसेँ। तर बाहिर मलाई आईसीयूमा राखेर उपचार भइरहेको, छोराछोरी एकदमै बिरामी भएको भन्ने प्रचार भएछ। सधैं भेट्ने केही साथीले फोनमा समेत कुरा गर्न अप्ठ्यारो माने। धेरैजसो साथीले म आइसोलेसन बसेको ठाउँमा आएर हौसला पनि दिनुभयो तर भित्रभन्दा बाहिरका कुराले मन दुखाउँदो रहेछ। नियमित व्यायाम, खानपान र आत्मविश्वासले कोरोना जितियो र मान्छेको स्वभाव पनि चिनियो।

‘यस्तो रोग कसैलाई नलागोस्’

-रमादेवी कोइराला, संक्रमित व्यक्तिकी श्रीमती, नीलकण्ठ–७, धादिङ)

मेरो श्रीमान्लाई कोरोना कसरी लाग्यो थाहा भएन। दुई पटक गरेर उहाँ एक महिना जति आइसोलेसन र क्वारेन्टाइनमा बस्नुभयो। त्यहीँ गएर मैले बाहिरबाटै भेटें, उहाँलाई कोरोनाले शारीरिक असर गरेको थिएन, मलाई पनि खासै केही अनौठो लागेन यो रोग लागेको भनेर। घरबाट टाढा हुनुभयो भन्ने मात्रै लागेको थियो। तर घरव्यवहार, छरछिमेकी र ऐंचोपैंचो गर्दा मैले भोगेको पीडा र दुव्र्यवहार सम्झिँदा रुन मन लाग्छ।

नाम त कसैको पनि नलिऊँ, गाउँले छरछिमेकी यसको बुढालाई कोरोना लागेको भनेर म हिँडेको बाटो हिँडेनन्, घरमा चामल सकिँदा पैंचो नदिँदा भोकै भएँ। एक महिना काट्न जुनी काटेजस्तै गाह्रो भयो। अहिले दिनहुँ संक्रमित बढिरहेको समाचार रेडियोले भन्छ। तिनका परिवारले पनि कस्तो पीडा भोगिरहेका होलान् भन्ने लाग्छ। रोगभन्दा पनि गाउँलेले गर्ने दुव्र्यवहारले मानिसलाई झनै बिरामी बनाउँदो रहेछ। यस्तो रोग कसैलाई नलागोस्। मलाई जस्तो पीडा कसैले भोग्नु नपरोस्।

सुधारौं सामाजिक व्यवहार

- मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ

लकडाउनको अवधिमा पनि समाजमा हुने विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिइन्। कहिले राहत सामग्री बोकेर, कहिले सेनिटाइज गर्दै टोल छिमेकका घरघर सरसफाइ गर्न पुग्थिन् उनी।

यही सिलसिलामा सँगसँगै काम गरेका हेटौंडा बजार क्षेत्रका प्रहरीमा कोरोना संक्रमण देखियो। कन्ट्याक्ट ट्रेसिङमा परेपछि गत साउन २२ गते उनको पनि पीसीआर टेस्ट भयो। केही दिनमै रिपोर्ट आयो, पोजिटिभ। उनले होम आइसोलेसनमा बस्ने निर्णय लिइन्। टोलका मान्छेलाई भनिसकेपछि एकछिनमै आएको प्रतिक्रिया सम्झँदै उनी भन्छिन्, ‘एकदम नराम्रो असर पर्‍यो, कोरोना पोजिटिभ हाम्रो टोलमा आयो भन्नेजस्तो भयो। धेरै टर्चर फिल भयो।’ त्यतिबेला टोलका सबै जम्मा हुने, कराउने गर्दा आफू बिरामी नभए पनि अर्को तनावले गाह्रो महसुस भएको अनुभव उनले सुनाइन्। 

आफूले आजसम्म काम गरेको त्यही टोल समाजमा त्यस्तो व्यवहार भएपछि नराम्रो महसुस गरेकी शर्मिलाले पछि प्रहरीलाई फोन गरिन्। उनी भन्छिन्, ‘प्रहरी, स्थानीय जनप्रतिनिधि र अग्रजको हौसलाले ममा ऊर्जा मिल्यो र होम आइसोलेसनबाट २३औं दिनमा कोरोनामुक्त भएँ।’

हेटौंडा बसपार्क प्रहरी चौकीका इन्चार्ज सुरेन्द्र हजराको पनि श्रेष्ठको जस्तै अनुभव छ। सामान्य लक्षण देखिएपछि पीसीआर टेस्ट गराएका उनको पोजिटिभ आएपछि उनीसँगै काम गर्ने सबै प्रहरीमा पनि पोजिटिभ देखिएको थियो। संक्रमण भएपछि उनीहरू आइसोलेसनमा गए। केही समयको आइसोलेसन बसाइपछि कोरोनामुक्त भएर फर्किए र नियमित ड्युटीमा जुटे। कोरोना जितेर आए पनि पहिला राम्रोसँग बोल्नसमेत डराउने, बोल्न नखोज्ने, सरिहाल्छ कि, केही हुन्छ कि जस्तो व्यवहार गर्ने गरेको उनले बताए। चिनजानका मान्छे, आफन्त र छिमेकीबाट राम्रो व्यवहार पाएमा भाइरसको आक्रमण जित्न गाह्रो नहुने उनी बताउँछन्। हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले संक्रमितलाई भेदभावभन्दा पनि हौसला दिनुपर्ने बताए। सावधानी अपनाएर व्यवहार गर्न जरुरी रहेको भन्दै उनले नगरपालिकाबाट पनि आत्मबल बढाउन जनप्रतिनिधिसहितको टोली संक्रमितलाई टाढैबाट भेट्ने गरी घरघरमा पुगेको बताए।

(मकवानपुरबाट कृष्ण सारु मगर, शुभलक्ष्मी विश्वकर्मा, दोलखाबाट रवीन्द्र गौतम, धादिङबाट मनीष दुवाडी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.