बीपीको शब्दशक्ति
‘राजनीतिमा मानिसहरूको स्मरणशक्ति क्षणिक हुन्छ। शीघ्रताका साथ राजनीतिक दृश्य बदलिँदै जान्छन्, नयाँ परिस्थिति र नयाँ समस्याले मानिसको ध्यान नयाँ कुरापट्टि आकर्षित गरिरहन्छन् र अघिल्ला समस्या छिट्छिटै बिर्सिंदै जान्छन्। तर इतिहासले भने सबैको सन्तुलित लेखाजोखा राख्छ, त्यसको स्मरणशक्ति लामो हुन्छ...।’
कांग्रेसको २०१७ सालको महाधिवेशनमा बीपीले व्यक्त गरेको उपर्युक्त तार्किक धारणालाई आजको राजनीतिक परिवेशले कत्तिको सम्झेको छ ? त्यसो त, उक्त भनाइअनुसार नै राजनीतिमा मानिसको स्मरणशक्ति कमजोर हुने भएपछि आजको मितिसम्म ६० वर्ष पुरानो कुरो कसरी सम्झनामा रहन्छ र ? त्यसैले, आज यसको प्रसंग उठाउनु व्यर्थ लाग्ला। तैपनि यहाँ यति भन्न खोजिएको हो कि बीपीले उठाएको यो विषयमा पाइने तथ्य कति गहन वा कति सतही थियो, त्यसमाथि बहस भने हुन जरुरी छ। तर मूल कुरो भने प्रस्ट छ– बीपीको उपर्युक्त धारणाको मूल जड भनेको नैतिकताको खोजी थियो।
मनुष्यको चारित्रिक विशेषता नै हो कि कुनै पनि नयाँ विषयप्रति ऊ जति छिटो आकर्षित हुन्छ, त्यो आकर्षणसँगसँगै पुराना विषयलाई त्यति नै चाँडो बिर्सिहाल्छ। त्यसमा पनि झन् राजनीतिक क्षेत्रका व्यक्तिले यसलाई बढी नै अंगीकार गरेको हुन्छ। मूलतः यो, नेताहरूको चरित्रमा देख्न सकिन्छ। आजको राजनीतिक परिदृश्य हेर्दा यो छर्लंगै हुन्छ। हुन त राजनीतिकर्मीको यस्तो चरित्रबाट कोही अनभिज्ञ हुँदैनन्÷छैनन्, तथापि बीपीले भनेको स्मरणशक्तिको कुरालाई तार्किक रूपमा इतिहासको स्मरणशक्तिसँग जोड्नु भनेको निकै महत्वको विषय हो। हम्मेसी, सामान्य मानिसले यसरी तर्क गर्न पक्कै सक्दैनन्। र, तर्क पनि त्यस्तो तर्क जुन शतप्रतिशत सही छ। हो, स्मरणशक्ति कमजोर हुनेको लेखाजोखा राख्ने बलियो शक्ति इतिहाससँग हुन्छ। बीपीको यो तर्कशक्ति अद्भुत छ। खोज्दै जाने हो भने बीपीले गर्ने समयसापेक्ष यस्ता तर्कको सूची धेरै लामो भेटिन्छ।
अर्को उनको, राजनीतिकबाहेकको दोस्रो व्यक्तित्व साहित्यिक हो। यस क्षेत्रमा पनि उनको लेखाइमा पाइने तार्किक क्षमता असामान्य थियो। कुनै महावाणी झैं लाग्ने उनका साहित्यिक सन्दर्भित वाक्यहरू आज पनि उत्तिकै प्रभावशाली छ। एक ठाउँ उनले भनेका छन्, ‘राजनीतिको सानो मानिसलाई पनि पोसाक चाहिन्छ, तर साहित्यमा भने सम्राट् पनि निर्वस्त्र हुन्छ।’ यसरी नै, साहित्यिक भाषामा कतै भनेका छन्, ‘कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ। उसलाई हिँडिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन। आफूले हिँड्ने बाटो आफैं बनाउन चाहन्छ।’ कति अकाट्य सत्य मिसिएको छ उनका यी धारणामा ! कुनै दोस्रो तर्क ल्याएर उनको धारणालाई असत्य घोषित गर्न सकिन्न।
आजको समाज र त्यसमा पनि राजनीतिक क्षेत्रले बीपीका नैतिक बल दिने अर्थपूर्ण–तार्किक धारणा आत्मसात गर्न आवश्यक छ।
प्रसंगवश, सेनाविषयक एक घटनामा बीपीको तार्किक बहस सबैभन्दा स्मरणयोग्य छ। सन् १९४७ मा विराटनगरको जुटमिलको हडतालका क्रममा उनलाई काठमाडौं ल्याइँदै गर्दा सेनासँग सम्बन्धित एउटा जिज्ञासा उनीभित्र जुर्मुराइरहेको थियो, ‘के सेनासँग आत्मनिर्णयको क्षमता हुँदैन ? ’ उनी आफैंसँग प्रश्न गरिरहन्थे, ‘सेना सधैं किन ‘नुनको सोझो’ भन्छ ? ’ किनकि आफ्नो अघिपछि रहेका जोकोही सेनालाई मौका पर्नासाथ बारम्बार ‘तपाईंसँग आत्मनिर्णय गर्ने क्षमता छैन ? ’ भनेर सोध्दा तिनीहरूबाट ‘हामीलाई माथिको आदेश छ। हामीले नुनको सोझो गर्नुपर्छ’ भन्ने एकै किसिमका जवाफ पाउने गर्थे। उनले सन्तुष्ट हुने जवाफ कहिल्यै पाएनन्। यसबीच ‘नुनको सोझो’ माथि उनले निकै चिन्तनमनन गरिरहेका थिए।
सन् १९६० मा उनलाई एक कर्णेलको मातहतमा एउटा क्याम्पमा राखिएको थियो। त्यो क्याम्पको व्यवस्थापनमा सैन्यीकरण गरेर कडाइपूर्वक चौबीसै घन्टा हातहतियारले सुसज्जित सैनिकद्वारा उनलाई निगरानी गरिरहेका हुन्थे। जसमुताबिक उनलाई भेट्न चाहने व्यक्ति, चाहे जुनसुकै ठूलो ओहोदाको किन नहोस् एक्लाएक्लै आउन दिइन्नथ्यो, सैनिकको एक किसिमको सानोतिनो जुलुस नै हुन्थ्यो। यस प्रकारको सैनिक प्रदर्शनले आफूलाई मानसिक आघात हुने गरेको बीपीले पटक–पटक भनेका छन्।
एउटा तानाशाही व्यवस्थाको स्वार्थखातिर आफ्नोविरुद्ध सेनाको यस्तो भूमिकाप्रति उनले प्रश्न उठाउँदा सैनिकको तर्फबाट सधैं एउटा तर्क आउने गथ्र्यो, ‘हामीले आफ्नो कर्तव्यपरायणता अँगालिरहेका छौं। हामी यसबाट विमुख हुन मिल्दैन।’ तथापि, व्यक्तिगत रूपमा बीपीजस्ता व्यक्तिलाई यसरी बन्धनमा राख्नुपर्दा उनीहरू आफूहरूलाई दुःख लागेको बताउँथे।
यसैक्रममा एक दिन बीपीले आफूसामुका सैनिकको जत्थालाई सोधेका थिए, ‘मलाई किन यसरी राखेको ? ’ तत्काल एक सैनिकले जवाफ फर्काए, ‘हामी त हुकुमका बन्दी हौं। हुकुमबाहेक अरू केही जान्दैनौं।’ बीपीले अनभिज्ञता फेरि दर्शाए, ‘कसको हुकुम ? ’ सांकेतिक रूपमा ती सैनिकले ‘माथि’ भनेर उच्च अधिकारीतर्फ इशारा गरे। बीपीले तर्क गरे, ‘तिनले ऐन–कानुन मिचेर कुनै आदेश दिए भने त्यो पनि मान्नुहुन्छ तपाईं ? ’ ‘हाम्रो लागि सबै थोक माथि हो। आदेश भन्नुस्, अर्डर भन्नुस्, हुकुम भन्नुस्, जे नाम दिनुस्, त्यही नै सर्वोच्च हुन्छ हाम्रा लागि।’ सरल भाषामा सैनिकले आफ्ना लागि यही नै अकाट्य सत्य भएको बताए। ‘ए... ,’ बीपीले तत्काल रातो फलाममा घन ठोके, ‘माथिबाट आदेश आयो भने अपराध पनि गर्न सक्नुहुन्छ तपाईं ? ’ ‘सक्छु।’ सैनिकले हाँसेर भने। बीपीले प्रश्न थपे, ‘बलात्कार पनि ? ...’ ‘सक्छु महाशय।’ आफ्ना छातीमा झुन्ड्याइएका तक्माप्रति गर्व गर्दै सैनिक बोले। तत्काल बीपीले पर एउटा पहाडमा अवस्थित एउटा गाउँतिर औंल्याउँदै उनलाई सोधे, ‘ऊ त्यो गाउँका आइमाईलाई बलात्कार गर्न सक्नुहुन्छ ? ’ ‘सक्छु।’ उनले छाती जुरुक्कै उचाल्दै भने, ‘अनुशासनको कुरो हो, माथिकाले अर्डर गर्छन् भने किन नसक्नु ? सक्छु, पक्कै सक्छु।’ ओहो ! बडो तिलमिलाउने खालको जवाफ थियो त्यो। स्वभावतः बीपी आश्चर्यमा नपर्ने कुरै भएन। कस्तो अचम्मको रहेछ यो माथि भन्ने विषय ! जसको अर्डरले एक सैनिक बलात्कार गर्नसमेत तयार छ।
एक हिसाबले बीपी अत्यन्तै चिन्तित पनि भए यस कुराले कि कति विसंगतपूर्ण अनुशासन कायम छ समाजमा ? यही चिन्ताकै बीच बीपीले सोचे, यस विषयमा सैनिकसँग अरू बहस गर्ने कि नगर्ने ? कदाचित बहस गर्नुको कुनै अर्थ होला ? तैपनि कुरो त्यति अघि बढिसकेपछि त्यत्तिकै छाड्न पनि भएन। बीपीले ती सैनिकको मर्ममाथि प्रहार गर्दै सोधे, ‘माथिको अर्डर पाए... त्यसो भए... तपाईं आफ्नी आमालाई पनि...।’ बीपीले वाक्य पूरा गर्नै परेन, सैनिकको अनुहार रातो भयो र बीपीसामु उनको शिर लत्रक्कै झुक्यो। निरीह आवाजमा शिथिल जवाफ फर्काए, ‘भो, म तपाईंसँग बहस गर्न सक्तिनँ।’ र, राइट टर्न एवाउट गरेर उनी फरक्क फर्कंदै पछिल्तिर हटे। यसरी, त्यो घटना हेर्दा सामान्यजस्तो देखिए पनि बीपीले त्यहाँ जे खोजी गरेका छन्, त्यो खोजी केवल बहसका लागि मात्रै थिएन, त्यसमा गहन रहस्य थियो। त्यो रहस्यलाई हामी सहजै ‘नैतिकता’ को नाम दिन सक्छौं। मूलतः आजको समाज र त्यसमा पनि राजनीतिक क्षेत्रले बीपीका नैतिक बल दिने यस्ता कुनै प्रकारका अर्थपूर्ण–तार्किक धारणा आत्मसात गर्न आवश्यक छ।