बिकेन ओल

बिकेन ओल

सिरहा : गत वर्ष धनगढीमाई नगरपालिका–११ का कमलकुमार सिंहले डेढ विघा जग्गामा ‘ओल’ तरकारी खेती गरेका थिए। लगानी र मेहनतअनुसार उनले उब्जाएको ओल बेचेर आम्दानी पनि हात पारे। त्यसैले उत्साहित भएर यस वर्ष थप तीन बिघामा तरकारी लगाए। तर, कोरोना महामारीले यसपालि उनले सोचेअनुसार भएन। कोरोनाको कारण लकडाउन भयो। बजार बन्द भयो।

सिंहले खेतमा मनग्गे ओल उब्जाए। केही टिपेर घर पनि ल्याए। मजदुर लगाएर बेच्न ठिक्क पारे। तर, बजारमा बेच्न आउँदा प्रहरीको परेशानी झेल्नुपर्ने र घरमै आक्कलझुकल आएका व्यापारीले पनि भाउ दिएनन्। सस्तोमै बेच्नुपर्‍यो। लगानीअनुसार आम्दानी नहुने हो कि भन्ने चिन्तामा उनी छन्। कोरोनाले मेहनत र लगानीअनुसार आम्दानी भएन।

माघ महिनामा ओल तरकारी उनले लगाएका थिए। साउनमा बेच्न सुरु हुन्थ्यो तर, लकडाउनका कारण उनले बेच्न पाएका छैनन्। ‘तरकारी खेती गर्दा मजदुर, मल–खाद्य बिउमा लाखौं रुपैयाँ लाग्यो’, उनले भने, ‘तर, उब्जाएको तरकारी पनि बेच्न पाएको छैनन्। खेतमै सड्न दिनु भएन। टिपेर घरमा ल्याउँछौं। सस्तोमा बेच्छौं।’ लाखौंमा लगानी र हजारौंमा आम्दानी भएको उनले सुनाए।

कमलकुमार पहिले एनजीओ जागिरे थिए। उनले ‘असिस्टेन्ट सबइन्जिनियर’ पनि अध्ययन गरेका छन्। जागिर छोडेपछि उनी तरकारीखेतीमै सक्रिय भए। उनी पहिले उखु खेती गर्थे। उखु छोडेर उनी अब ओल खेती गर्न थालेका छन्। प्रदेश सरकारबाट उनले कृषिका लागि तीन लाख रुपैयाँ अनुदान पनि पाएका थिए। ‘जागिरमा हुँदा पनि कृषिमै फर्किने सोच थियो’, उनले भने, ‘त्यहीअनुसार खेतीमा लागेका छौं। किसान कोरोनामा मारमा परेको छ। सरकारले राहत दिनुपर्छ।’

‘गत वर्ष १२ लाख रुपैयाँको ओल बेचेको थिएँ। खर्च कटाएर आम्दानी पनि राम्रै भयो’, उनले भने, ‘त्यही सोचेर खेती बढाएँ। बेच्न पाएको भए २० लाख कम्तीमा हुन्थ्यो। तर, कोरोनाले सबै बर्बाद पारिदियो।’ त्यसमाथि भारतीय बजारबाट भित्रिने ओलले यहाँका किसान झन् मारमा परेको उनले बताए। साउनमा ओल सय रुपैयाँमा बिक्री हुनुपर्ने हो तर, सस्तोमै बेच्नुपरेको छ।

सोही गाउँका पुनित दास पनि ओल तरकारी गरेका छन्। उनले पनि बेच्न पाएका छैनन्। धेरथोर गाउँमै बेच्छन्। यो गाउँमा उनीहरू जस्तै दर्जनौँ व्यक्तिले ओल तरकारी खेती गर्दै आएका छन्। लकडाउनको मारमा परेर उनीहरू समस्यामा छन्। सरकारले कृषिमा आधारित किसानलाई राहत दिनुपर्ने उनीहरूको माग छ।

ओल तरकारी खासगरी तराई–मधेसमा लगाइने गरिएको छ। यसमा दुई प्रजाति ‘लोकल’ र ‘विकासी’ छन्। जसमा लोकल कोक्याउने खालको हुन्छ। विकासी भन्ने कोक्याउँदैन्। काठमाडौं वा पहाडतिर ओल त्यति नखाने भएकाले यसको बजारमा पनि नफस्टाएको कमलकुमार सिंह बताउँछन्।

गृहिणी मीना विश्वकर्माका अनुसार कोक्याउने ओलमा कागती वा कागतीको पात लगाएर उसिन्नुपर्छ। तेलमा तारेर पकाएर खाँदा कोक्याउँदैन्। पहाडतिर पनि ओल तरकारी खान सुरु भए यसको खेती झन् फस्टाउने उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.