जनप्रतिनिधिसहित ११ जनामा कोरोना भेटिएपछि ऋषिङमा एक साता लकडाउन
दमौली : जनप्रतिनिधिसहित ११ जनामा एकैसाथ संक्रमण देखिएपछि तनहुँको ऋषिङ गाउँपालिकाले एक साताका लागि लकडाउन गरेको छ। लामो समयपछि सोमबार एकै पटक धेरै जनामा संक्रमण देखिएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबारबाट असोज ५ गतेसम्म एक साताका लागि लकडाउनको घोषणा गरेको हो।
गाउँपालिकाले यस अवधिमा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा नल्याउने निर्णय गर्दै नागरिकलाई गाउँपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल नगर्न अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले बताए। विद्यालय खुलाउने तयारीमा रहेको गाउँपालिकाले विद्यालयसहित बैंक तथा वित्तिय संस्था आदि सबै बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले सार्वजनिक यातायात सेवा पनि एक साताका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए। उनले होम क्वारेन्टाइनका व्यक्तिहरु र जनप्रतिनिधि केहीमा समेत संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान र पुनः पीसीआर परीक्षण गर्दै संक्रमण फैलन नदिनका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिए।