लकडाउनमा मात्रै ६९ बाल विवाह

लकडाउनमा मात्रै ६९ बाल विवाह

नेपालगन्ज :

घटना १

राप्ती सोनारी-५ सन्तपुरमा साउन २९ गते खसी काटेर बिहेको तयारी हुँदै थियो। बेहुला १९ वर्षका र बेहुली १४ वर्षकी मात्र रहेछन्। केटाले अघिल्लो रात भगाएर लगेको थियो। ‘हामीले बिहेअघि नै बेहुला र बेहुलीलाई नियन्त्रणमा लियौं’, इलाका प्रहरी कार्यालय धामपुरका सइ सन्तोष खनालले भने, ‘केटाकेटी दुवै नाबालक थिए। दुवैका अभिभावकलाई बोलाएर उमेर नपुगेकाले तत्काल बिहे नगर्ने सर्तमा छाड्यौं।’

घटना २

जानकी गाउँपालिका-४ जानकीनगरमा असार १३ गते कार्ड बाँडेर बिहेको तयारी हुँदै थियो। केटा १८ वर्ष र केटी १७ वर्षका थिए। प्रहरीले थाहा पाएपछि बिहे रोकियो। दुवै पक्षका अभिभावकले उमेर नपुगेर बिहे नगर्ने सर्तनामा प्रहरीलाई बुझाएर सन्तान जिम्मामा लिए।

घटना ३

बर्दियाको ठाकुरबाबा-१ का १९ वर्षका किशोरले साउन २ मा बाँसगढी नगरपालिकाकी १९ वर्षीयालाई भगाएर बिहे गरे। केटीका बाबुले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिए। प्रहरीले दुवैलाई पक्राउ ग¥यो। जिल्ला अदालत बाँकेले दुवैलाई जनही ४० हजार रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दियो। केटी धरौटी बुझाएर मुक्त भइसकेकी छन्। केटा थुनामै रहेको इलाका प्रहरी कोहलपुरका मुद्दा फाँटका इन्स्पेक्टर रणबहादुर विष्टले बताए।

यी त लकडाउन सुरु भएदेखि हुन लागेका बाल विवाह रोकिएका प्रतिनिधि घटना हुन्। बाल विवाहविरुद्ध संगठित किशोरी क्लब सञ्जाल बाँकेकी सचिव चेतना क्षेत्रीले लकडाउनयता बाँकेका ७ स्थानीय तहमा ६९ वटा बाल विवाह भएको जानकारी दिइन्। उनका अनुसार क्लबका सदस्यले गाउँ-गाउँ पुगेर संकलन गरेका तथ्यांक हो यो।

‘सबैभन्दा बढी ४२ बाल विवाह राप्ती सोनारीमा भएका छन्’, सचिव क्षेत्रीले भनिन्, ‘कोहलपुर नगरपालिका, वैजनाथ, जानकी र खजुरा गाउँपालिकामा ५÷५, डुडुवामा ४, नेपालगन्ज उपमहानगरपालिकामा ३ वटा बाल विवाह भएका छन्।’ उनका अनुसार अधिकांश बिहे भागेर भएको छ। केही त अभिभावकले नै गराएका छन्। जिल्लाका ८ वटै स्थानीय तहमा किशोरीहरू बाल विवाहविरुद्ध क्रियाशील छन्।

क्लबले गाउँ-गाउँबाट सूचना दिए पनि प्रहरीले कडा कारबाही प्रक्रियामा नलैजाँदा बाल विवाह नरोकिएको क्षेत्रीको दाबी छ। बाल विवाहमा प्रहरीले कडाइ नगर्ने तथ्य त जिल्ला प्रहरीले गत वर्षको ११ चैतदेखि २९ साउनसम्म ७ वटा बाल विवाहको सूचना प्राप्त भएको जनाएबाट हुन्छ। यो अवधिमा एउटा मात्र मुद्दा चलेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

बाँके प्रहरीले गत वर्ष ७४ वटा बाल विवाह रोकेको थियो। ३ वटा मुद्दा दायर गरिएको थियो। ‘बाल विवाह गर्नु अपराध हो। बाल विवाह गर्ने र गराउने जोसुकै होस्, हामी सबैलाई कारबाहीको दायरामा ल्याउँछौं’, एसपी रानाले भने।

क्लबका पदाधिकारीले बाल विवाह रोकथाम गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सोमबार जिल्लाका ८ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्। सचिव क्षेत्रीले जिल्ला प्रहरी प्रमुख रानालाई ध्यानाकर्षण पत्र बुझाइन्। ‘बाल विवाह भइरहेको थाहा पाउनुभयो भने मलाई सीधै सम्पर्क गर्नुस्। रातिको १÷२ बजे भए पनि म आफैं तत्कालै फिल्डमा पुगेर एक्सनमा जान्छु’, रानाले भने, ‘बाल विवाह गर्ने र गराउनेलाई कारबाहीको दायरामा ल्याउँछु।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.