छोरीका कुरा पनि सुनिदेऊ !
नौ वर्षकी छोरीकी चालीस कटेकी आमा म। अहिलेको परिपे्रक्ष्यमा घरको चौघेराभित्रको दैनिकी। खेल्ने, दौडने उमेरका बालबालिकालाई कोठाभित्र राख्नुपर्ने बाध्यता। दैनिक निस्कने पत्रपत्रिका किन्न माहोल नभएर घरमा नै अनलाइनबाट देशविदेशका समाचार पढ्ने र हेर्ने गर्छु। धेरै समय छोरी मेरो वरिपरि नै हुन्छिन्। चार कक्षामा पढ्ने छोरीले प्रायः मेरा प्रत्येक गतिविधि नियालिरहेकी हुन्छिन्। समाचार पढ्दा कहिले भावुक, कहिले आक्रोशित, कहिले खुसी हुनु स्वाभाविकै हो। मेरो भावलाई थोरै मात्र भए पनि छोरीले बुझेकी छे।
एकै दिन बालिका बलात्कार र करणीका तीनचारवटा घटना समाचारमा देख्दा जोकसैको मन अत्तालिन्छ। यी घटनाले मलाई पनि बेचैन बनायो। सल्यानमा आफैंले पढाएको पन्ध्र वर्षीया विद्यार्थीलाई गर्भवती बनाएपछि उनले पेट बढ्ला र अरूले थाहा पाउलान् भनेर आत्महत्या प्रयास गरिन्। कस्तो विडम्बना, संसार कोरोनाबाट सजक हुन घरभित्र बसेको अवस्थामा गुरुबाटै बलात्कार हुनुपर्ने ! गर्भवती भएपछि परिवार र समाजबाट घृणित हुनुपर्ने डरले मर्नुपर्ने !
त्यसैगरी सुर्खेतमा साथीको जन्मदिन मनाएर घर फर्किंदै गर्दा बाटैमा बलात्कृत भएकी चौध वर्षीया बालिका, मोरङ सुन्दरहरैचामा घरपतिबाट बलात्कृत भएकी तेह्र वर्षीया बालिका र सिन्धुपाल्चोककी सत्र वर्षीया बालिका एक वर्षदेखि लगातार आफ्नै बुबाबाट बलात्कृत भएछन्। यो समाचार ल्यापटपमा मसँगै बसेर हेरिरहेकी छोरीले सोधिन्- आमा, केटीहरूलाई किन बलात्कार गर्छन् अनि मार्छन् पनि ? निर्मला पन्तलाई पनि बलात्कार गरेर मारे। केटाहरूलाई चाहिँ बलात्कार गरेर मार्दैनन् ? बलात्कार भनेको के हो ? उनको जवाफले म अवाक भएँ। हामी बालबालिकालाई सुरक्षित रहने कुरा सिकाउँछौं तर देशमा भएका नराम्रा घटनाबारेमा बताउँदैनौं।
निर्मला पन्तले पनि कुनै दिन यस्तै प्रश्न आमालाई सोधिन् कि सोधिनन् होला ? निर्मला नजन्मदै हाम्रो समाजमा बालिका बलात्कार र हत्याका घटना हुन्थे भन्नेमा दुईमत छैन। किशोरी अवस्थामै उनी बलात्कारको सिकार भइन्। हत्या भएको दुई वर्ष पूरा भइसक्यो। यसै विषयमा भएको अनुसन्धानमा आरोपितहरूले सफाइ पाए, तर निर्मलाको हत्यारा को हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। निर्मलाका अभिभावकले न्याय पाउन सकेका छैनन्।
राज्यले बालबालिकाको उज्ज्वल भविष्यका लागि प्रतिबद्धता जाहेर गरिरहँदा निर्मला पन्तहरूका बुबाआमाहरूले पनि न्याय पाउन सकून्।
हाम्रो समाजका धेरै निर्मलाहरू हिंसाका सिकार भएका छन्। बुबा, मामा, दाजु, हजुरबुबा, काका, भिनाजु, बडाबा, गुरु, साथी, प्रेमी, आफन्त, नातागोता, हाकिम, घरपति, साहु, छिमेकीबाट बालिका बलात्कृत भएका घटना ताजा छन्। बामे सर्न नथालेकी बालिकादेखि घाँस काट्न गएकी किशोरीहरू बलात्कृत भएर मृत्युवरण गर्न पुगेका छन्। ट्युसन गएकी छोरी बलात्कृत हुन्छन्। प्रधानाध्यापक र गुरुहरू आफ्नै कार्यकक्षमा बोलाएर छात्राहरूको संवेदनशील अंगमा छुन्छन्। यस्ता घटनाले समाजका पुरुष पात्रहरू घृणित कर्म गर्छन् ?
बालिका, युवती र महिलामाथि भइरहने यस्ता पाशविक घटना देख्दा लाग्छ, छोरी नजन्मिदिए पनि हुन्थ्यो। विभेदको कारणले भन्दा पनि बलात्कारका घटनाले छोरीलाई जोगाउन नसकिने भएको छ। यसका साथै हिंसाका घटनाले सिंगो देशका बालिकाको बालमनोविज्ञान र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने छ। कुनै बालिका बलात्कृत भइन् भने त्यसले बालिका र उसको परिवारलाई पर्ने मानसिक आघातको लेखाजोखा कुनै पनि यन्त्रले गर्न सक्दैन। सामाजिक पीडाले त बाँचुञ्जेल परिवारलाई गोमन सर्पले झैं डसिरहने छ। सधैंका लागि ओठबाट हाँसो हराउनेछ। आर्थिक क्षेत्र पनि प्रभावित हुँदै जानेछ।
दिनानुदिन छोरीहरूमाथि हुने हिंसा बढ्ने क्रममा छ। एसिड आक्रमण, साइबर अपराध, बालिका बेचबिखन, बलात्कार र करणी, यौन हिंसा, बालविवाह, भ्रूण हत्या, अपहरण आदि घटना भइरहेका छन्। साँच्चै भन्नुपर्दा यस्ता घटनाले छोरी हुने सम्पूर्ण आमाहरूको मन बेचैन भइरहन्छ भने बालिकाको जीवनमा नकारात्मक असर परिरहन्छ।
छोरीकी आमा भएको नाताले मेरो आग्रह छ- सरकार, हाम्रा छोरीलाई विभिन्न प्रकारका हिंसाका सिकारबाट कोषौं टाढा रहने वातावरण सृजना गरिदेऊ। ताकि मेरी छोरी सुरक्षित छे भन्ने भावना अभिभावकमा जागोस्। अब नेताहरूले आफ्नो कुर्सी बचाउन गर्ने खर्चहरू छोरीहरू बचाउन र जोगाउन खर्च गरिदिऊन्। राजनीतिक दलहरूले कार्यकर्ता, अरौटे, भरौटेमाथि गर्ने खर्च नाबालक छोरीहरूको संरक्षणनिम्ति गरिदिऊन्। यति कर्म भए भने भविष्यमा कयौं गुणा बढी हाम्रा छोरीहरूले देश विकासमा सहयोग गर्नेछन्। पार्टीका कार्यकर्ता त पार्टीका भोटर बैंक मात्र हुन्। यो देश छोरीहरूको पनि हो। उनीहरूले पनि गरिखान पाउनुपर्छ। सुरक्षित रूपमा हिँडडुल गर्न, बस्न र बाँच्न पाउनुपर्छ। यस अवस्थामा मात्र लाखौं असल छोरीहरू जन्मिन्छन्। संसारमा देशको नाम उँचो राख्नेछन्।
यस वर्षको राष्ट्रिय बालदिवस सकियो। आगामी दिनमा केपी ओली सरकारसँग मेरो एउटै आग्रह छ- राज्यले बालबालिकाको उज्ज्वल भविष्यका लागि प्रतिबद्धता जाहेर गरिरहँदा निर्मला पन्तहरूका बुबाआमाहरूले पनि न्याय पाउन सकून्।