गोठमा लगानी बढ्दै
ताप्लेजुङ : मिक्वाखोला–५ पापुङका दावाचुङ्दा शेर्पाले तोक्पेगोलामा याकपालन थालेका छन् । काठमाडौंमा होटल गर्दै आएका उनी आठ वर्षपछि गाउँ फर्किका हुन् । गाउँ फर्किएकै वर्ष २२ लाख रुपैयाँ बढी लगानीमा ४० वटा याक खरिद गरि गोठ सुरु गरेका हुन् ।
'लामो समय बाहिर बिताइयो, धेरै ठाउँ घुमियो,' शेर्पा भन्छन्, 'आफ्नो गाउँभन्दा उत्तम अन्त कतै नलागेपछि गोठ थालेको हुँ ।' पिता पुर्खाले गरिआएको परम्परागत पेशा थालेकोमा आफूलाई हर्ष लागेको उनले सुनाए । 'कोरोना भाइरसको माहामारीले गर्दा होटल व्यवसायीहरुको बिजोग भएको छ, मैले फर्किएर ठिकै गरेछु, 'उनले भने ।
दावाचाङ्दासँगै स्थानीय आइतविर साँवा, साङ्वु शेर्पा, फुपु शेर्पाको बसाई पनि गोठमा हुन थालेको छ । उनीहरुले पनि गाउँको खेति किसानी छोडेर याक गोठमा लगानी गरेका छन् ।
प्रत्येकको गोठमा २० वटा भन्दा बढी याक छन् । चीन र संखुवासभा जिल्लासँग सीमा जोडिएको पापुङमा पछिल्लो समय याक पाल्ने बढेको वडाध्यक्ष डण्डु लामाले बताए । याकको बच्चा सहित घ्यू, छुर्पीको माग बढेकाले स्थानीय अन्य पेशा छोडेर याक पालनमा लागेको लामाको भनाइ छ ।
'पछिल्लो पाँच वर्षयता तिब्बतमा याकको माग बढेको छ, घ्यू छुर्पीको बजार पनि राम्रो छ,' लामा भन्छन्, 'त्यसैले स्थानीय पशुपालनमा आकर्षित भएका हुन् ।' पापुङको तोक्पेगोला, लोदेन र सिम्बुक क्षेत्रमा यस वर्ष मात्रै सात वटा याक गोठ थपिएर गोठ संख्या २२ पुगेको वडाध्यक्ष लामाको भनाइ छ । यहाँको याकको बजार तिब्बत हो । तिब्बतमा एउटा याकको बाछाको मूल्य ६० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म रहेको याक पालक मिलनदोर्ची शेर्पा बताउँछन् ।
तिब्बतको रिउ बजार पुग्न दुई दिन लाग्छ । घ्यू र छुर्पी भने झापा काठमाडौ हुँदै भारत र अमेरिकासम्म पुग्ने गरेको छ । घ्यू आठ सय र छुर्पी एक हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको दोर्चीले बताए ।
‘परम्परागत पेसालाई युवाहरुले यसलाई व्यवसायका रूपमा अघि बढाउँदै छौं,' दोर्चीले ४ हजार ५ सय मिटर उचाईको तीन पोखरी गोठबाट टेलिफोनमा भने, 'लेकाली क्षेत्रमा एक दशक अघिसम्म घटेको पशुपालन व्यावसाय अहिले फस्टाउँदै छ ।'
एउटा याकले १२ बेतसम्म सन्तान जन्माउने कृषकहरु बताएँछन् । पशुपालनमा कृषकका समस्या पनि छन् । बेला बेलामा याकलाई ज्वरो आउने, पखाला लाग्ने जस्ता बिराम लाग्ने गरेको छ । यस्तो बेला घरेलु उपचार गर्नुबाहेक अर्को विकल्प छैन । ‘हामीले जानेको घरेलु उपचार गर्छौं, कहिले निको हुन्छन्, कहिले त्यत्तिकै मर्छन्, ' पेम्बाछिरिङ शेर्पाले भने । पशु चिकित्सक र पशु कार्यालयका कर्मचारी हालसम्म कोहि पनि आइनपुगेको उनले बताए ।
गोठालालाई गोठको सुधार, चरन र खर्क विकाससँगै याकबाट लिन सकिने अन्य आम्दानीका स्रोतबारे तालिम पाए सहयोग हुने कृषकहरुको अपेक्षा छ । याक पालकका समस्यामा आफूहरु गम्भिर रहेको वडाध्यक्ष डण्डु बताउँछन् । अहिले उन्नत जातको याक बिउ वितरण सुरु गरिएको उनले बताए ।
'पशु सेवा केन्द्र पाँचथरको सहयोगमा यस वर्ष १२ वटा साँढ (याकको बिउ) वितरण गर्यौं,'डण्डुले भने । साँढ १० लाखको लागतमा संखुवासभाबाट खरिद गरेर ल्याइएको थियो । याक पालकलाई नयाँ–नयाँ प्रविधि र सीपको आवश्यक रहेको सामुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले बताए ।