खुसीको इतिहास
पिँढीमा बसेर बत्ती काटिरहेकी
घरको बार्दलीमा बसेर हेर्नुस्
गाउँको एकान्त कुवामा
फुर्सदले नुहाइरहेकी कुनै किशोरी झैं
घाममा तेल लगाएको हिउँदको अनुहारजस्तो
भेट्नु हुनेछ आफ्नै पिठ्यूँमा लत्रिरहेको कपाल झैं नदी ।
हिँड्दा हिँड्दै थाकेर निदाएको बटुवा झैं
निधारबाट छुटेर भुइँमा झरेको पसिनाजस्तो
सजिलै छाम्न सक्नुहुनेछ आकाशको जून ।
पालुवाको नयाँ लुगा फेरेर
हावाको झोक्कामा नाचिरहेको सिमलको रूख झैं
टाढैबाट सुन्न सक्नुहुनेछ मन्दिरमा बजेका घण्टहरू ।
हुरीले उडाएको पतिंगरभन्दा
अझै अनियन्त्रित हुन सक्लान् समयहरू !
फर्केर हेर्नुस्
संकटको जस्तोसुकै आँधीमा पनि
मुस्कुराउन सक्ने हामीसँग
सुरक्षित छन् खुसीका इतिहासहरू !