पाकेको धान डुबेपछि किसान चिन्तित
परासी : पाकेर घर भित्राउन तयार भएको धान बाढीले डुबाएपछि पश्चिम नवलपरासीका किसान चिन्तित भएका छन्। मंलबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले पल्लिनन्दन र सरावल गाउँपालिकामा लगाइएको धान खेती डुबानमा परेपछि किसान चिन्तित बनेका हुन्।
पाकेको धान डुबेपछि बचेका केही धान किसानले काट्न थालेका छन्। केही किसानले पानी भित्रकै धान काटेर ल्याउन थालेका छन्। डुबानका कारण सरावलको वडा नम्बर ४ र ७, पाल्हीनन्दनको १ र ६ नम्बर वडामा लगाइएको ३ हजार बिगाहाको धानबाली पूर्ण रुपमा डुबानमा परेको छ।
सरावलमा १ हजार बढी र पाल्हीनन्दनमा २ हजार बढी धानबाली डुबेको स्थानीय तहले जनाएका छन्। त्यस क्षेत्रमा सयौं बिगाहामा लगाइएको धान खेती पनि आधा डुबानमा परेको छ। केही किसानले काटेर खेतमा सुकाएको धान समेत डुबाएको छ।
धानबालीसँगै गाउँ नै डुबानमा परेपछि घरभित्र रहेको खाद्यन्न समेत बगाएको स्थानीयले बताएका छन्। २÷४ दिनमा काट्न भनेर राखेको धान बाढीले डुबाएको सरावल–६ कुर्थावलका गयाकुमार यादवले बताए।
बाढी सुक्न अझै १० दिन जति लाग्ने र त्यो बेलासम्म डुबेको धान कामै नलाग्ने हुने पाल्हीनन्दन गाउँपालिका शंकरपुरका किसान जतेन्द्र यादवले बताए। गाउँसँगै धान खेती डुबानमा परेपनि स्थानीय तहले अहिलेसम्म राहतको व्यवस्था नगरेको स्थानीयको गुनासो छ।
पीडित किसानलाई गहुँ लगाउने बेलामा अनुदान उपलब्ध गराइने सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए। गाउँपालिकाको १ हजार बढी बिगाहामा लगाइएको धान डुबानमा परेको उनले जानकारी दिए।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले पीडित किसानलाई उचित क्षतिपूर्ति दिने बताए। आफ्नो पालिकामा २ हजार बढी बिगाहामा लगाइएको धानखेतीमा क्षति पुगको बताए।