न पानी छ, न साबुन

न पानी छ, न साबुन

काठमाडाै‌ं : कोरोना भाइरस संक्रमण त्रास बढ्दै जाँदा चैत पहिलो सातादेखि चोक–चोकमा खानेपानीका ट्यांकी राखिए। साबुनपानीको व्यवस्था गरियो। त्यससँगै सूचना टाँसियो, ‘साबुनपानीले हात धोऔं, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।’ अहिले आएर हात धुन खोज्यो भने न साबुन हुन्छ न त पानी नै। सूचना मात्रै पढ्न पाइन्छ। 

काठमाडौं  उपत्यका खानेपानी लिमिटेड, स्थानीय तह, विभिन्न बैंक र संघसंस्थाले हात धुनलाई ड्रममा पानी र साथमा साबुनको व्यवस्था गरेका थिए। तर, ती भाँडा रित्ता भइसकेका छन्। साबुनपानीको दुरुपयोग भएकाले यो समस्या आएको खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईको भनाइ छ।  

‘सुरुमा सबैतिर साबुनपानीको व्यवस्था गरेका हौं’, प्रवक्ता राईले भने, ‘तर, त्यसको प्रयोगभन्दा दुरुपयोग बढी भयो। बीचमा हामीले छाडिदिएका थियौं। तर, अहिले सबैको माग भएकाले पुनः पानी भरिरहेका छौं।’ उनले आवश्यकता हेरेर खाली भएका ठाउँमा पानी भर्ने गरिएको सुनाए। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मात्रै महांकालमा १०, नयाँ बानेश्वरमा १०, त्रिपुरेश्वरमा १०, ठिमीमा ५, भक्तपुरमा ३, महाराजगन्जमा १०, जाउलाखेलमा १० कीर्तिपुरमा १ ठाउँमा पानीसहितको ट्यांकी र साबुन राखेको थियो। काठमाडौं महानगरपालिकाका वडा कार्यालयले पनि आफ्नो बजेट खर्च गरेर ठाउँ–ठाउँमा साबुनपानीको व्यवस्था गरेका थिए। कति ठाउँमा राखिएको थियो भनेर महानगरसँग तथ्यांक छैन। 

काठमाडौं महानगरपालिकाका अधिकारी वडा कार्यालयले राखेको सामानको रेखदेख वडाले गर्नुपर्ने बताउँछन्। वडाले जानकारी गराए आपूmले पानी भर्न सक्ने महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। ‘हामीले त्यसरी हात धुनलाई साबुनपानीको व्यवस्था गरेका छैनौं’, श्रेष्ठले भने, ‘वडा कार्यालयले गरेको हो। व्यवस्थापन पनि उसले नै गर्ने हो। आवश्यक परे हामी पानी भर्ने कार्य गर्न सक्छौं। तर त्यसका लागि वडाले खबर गर्नुपर्छ।’  

स्थानीय जनप्रतिनिधि वडाले ट्यांकी राखेर टोल सुधार समितिलाई जिम्मा लगाएको बताउँछन्। ‘हामीले विभिन्न टोलमा साबुनपानीको व्यवस्थापन गरेका छौं’, वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले भने, ‘हामीले त्यसको व्यवस्थापनको जिम्मा भने टोल सुधार समितिलाई दिएका थियौं। उनीहरूले काम गरेनन्। यसका लागि हामी थप पहल गर्नेछौं।’ बागबजार, सुन्धारालगायत ठाउँमा बैंक र महानगरीय प्रहरीको सहकार्यमा राखिएका ट्यांकी पनि खाली छन्। असन, महाबौद्ध आसपास विभिन्न क्लब र गैरसरकारी संस्थाले राखेका केही ट्यांकी भने चलिरहेकै छन्।

गुठी संस्थानका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले स्थानीय तहले जिम्मेवारी वहन नगरेकाले यस्तो समस्या आएको बताए। ‘संक्रमण फैलिन नदिनका लागि  सरकारी गैरसरकारी संस्थाले पानी राखेका छन्’, अमात्यले भने, ‘त्यसको व्यवस्थापन त कम्तीमा स्थानीय तहले लिनुपर्‍यो।’ सुरुमा सबैले राखे तर व्यवस्थापनमा कसैले ध्यान नदिएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.