दाङको पक्षमा मतदान गर्न जसपाको ह्वीप
दाङ : पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न जनता समाजवादी पाटी (जसपा)ले आफ्ना प्रदेश सदस्यहरुलाई ह्वीप जारी गरेको छ। सोमबार दिउँसो भएको संसदीय समितिको बैठक र पार्टीको प्रदेश कमिटी बैठकले प्रदेशको स्थायी राजधानीको लागि दाङको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।
उनले राजधानीका विषयमा मतदान हुने अवस्था आए आफ्ना ६ जना सांसदहरुले प्रदेश सरकारले दर्ता गराएको प्रस्तावमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको र त्यहिअनुसार संसदहरुलाई निर्देशनसमेत गरि सकिएको बताए। प्रदेशमा प्रदेशसभा सदस्यहरु विभाजित भएर धारणा राखिरहेको समयमा जसपाले दाङको पक्षमा मतदान गर्नै ह्वीप जारी गरेको हो।
राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका हुन्।