अब विमानस्थल थप्ने हैन, सुधार्ने हो : मन्त्री भट्टराई
विराटनगर : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अब विमानस्थलको संख्या थप्न सरकार नलाग्ने बताएका छन्। सोमबार समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई विराटनगरमा सम्बोधनमा मन्त्री भट्टराईले पछिल्लो समय प्रत्येक जिल्लाबाट विमानस्थलको माग आउने गरेको उल्लेख गर्दै अब भएका विमानस्थलको सुधार गरेमात्रै पनि पुग्ने बताएका हुन्।
‘विमानस्थलको विकास कहिले टुङ्गिदैन, भएकालाई समयअनुकुल सुधार्दै लैजानुपर्छ, उडेर जाने कुरो प्रत्येक जिल्लामा आवश्यक पनि छैन,’ उनले भने ‘एक जिल्लाबाट अर्को जिल्ला केही घण्टामा पुगिन्छ, त्यसैले दुरी हेरेर विमानस्थल बनाउनुपर्छ।’
चारवटा विमानस्थलबाट आन्तरिक उडान
मन्त्री भट्टराईले नेपालका चार क्षेत्रीय विमानस्थलबाट आन्तरिक उडानलाई पहिलो प्राथमिकता दिने बताएका छन्। ‘आन्तरिक उडान अब क्षेत्रीय विमानस्थलबाट हुनेछन्, यसले अन्तराष्ट्रिय विमानस्थलको चापलाई कम गर्छ भने, विमानस्थल भएका स्थानका नागरिकले सेवा सहज रुपमा पाउने छन्।,’ मन्त्री भट्टराईले भने ‘यसको सम्पुर्ण तयारी सरकारले गरिरहेको छ।
उनले विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगडी विमानस्थलबाट आन्तरिक उडान गर्ने सम्पुर्ण तयारी भएकाले पहाडी क्षेत्रमा जाने सबै विमान यी विमानस्थलबाट जाने जानकारी समेत दिए।
‘वायुसेवा कम्पनीलाई हामीले निर्देशन दिएको छ,’ मन्त्री भट्टराईले भने ‘यसै अनुसार वायुसेवा कम्पनीले तयारी गरेर पहाडि जिल्लामा उडान भर्नेछन्, उनीहरुलाई प्रोत्साहन सरकारले गर्नेछ।’