कोरोनाबाट बुटवलकी एक महिलाको दाङमा मृत्यु
दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थायी घर भएकी ६६ वर्षीया महिलाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका प्रमुख डा सर्वेश शर्माले जानकारी दिए।
शर्माका अनुसार उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। 'भैरहवा मेडिकल कलेजले शुक्रबार मात्रै ती महिलाको उपचारका लागि दाङ रिफर गरेको थियो। भैरहवामा आइसियु बेड खाली नभएर त्यहाँबाट बेलझुण्डी कोरोना विशेष अस्पतालमा रिफल गरिएको थियो', डा शर्माले भने, 'शुक्रबार राती १० बजे अस्पताल पुगेकी ती महिलाको आइसियुमा राखेर उपचार गरिराखेका थियौं, उपचारकै क्रममा बिहान ८ बजे मृत्यु भयो।'
उनको शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गरिरहेको छ। महिलामा केही दीर्घ रोगसमेत रहेको डा शर्माले बताए।