खुला सीमाबाट आउजाउ

खुला सीमाबाट आउजाउ

विराटनगर : भारतसँगका मुख्य सीमा नाका बन्द छन्। तर, प्रदेश १ का झापा, मोरङ र सुनसरीका खुला स्थानबाट नेपाल भित्रिनेको लर्को अझै घटेको छैन। दसैंलगायत चाडपर्व नजिकिएसँगै भारतबाट आउने क्रम नरोकिँदा प्रदेश १ मा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ। कोरोना संक्रमण नपुगेको जिल्ला प्रदेशमा छैन। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चैतदेखि जेठसम्म सिमानामा दैनिक गस्ती गर्थे। त्यो क्रम रोकिएपछि खुला सीमाबाट नेपाल आउन सहज देखिएको छ। भारतबाट नेपाल छिर्नेहरू सोझै घरसम्म पुग्ने गरेका छन्। सुरक्षाकर्मी मुख्य नाकामा मात्रै बस्ने गरेका छन्। 

विराटनगरको जोगबनी नाकाको प्रवेशद्वारनजिकै सशस्त्र र नेपाल प्रहरीले कडाइ गरेको देखिन्छ। तर, एक किलोमिटर नजिकै रहेको इस्लामपुरबाट दैनिक हजारौं संख्यामा खाद्यान्न सामग्री लिन नेपाली सहजै भारत प्रवेश गर्ने गरेका छन्। भारतबाट नेपाल छिर्नेको लर्को उस्तै देखिन्छ। 

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) उत्तर र विराटनगर भन्सार दक्षिणमा रहेको इस्लामपुर नाकामा सीमा वारपार गर्ने नागरिकको घुइँचो कुनै दिन नघटेको विराटनगर–११ का प्रजन थापा बताउँछन्। ‘मेरो आफन्तको घर त्यो सिमाना नजिकै छ। म त्यहाँ जाँदा पहिले अचम्म लाग्यो’, उनी भन्छन्, ‘अन्य क्षेत्रमा कडाइ भए पनि यो नाकाबाट हुलका हुल नागरिक नेपाल ओहोरदोहोर गर्छन्। यहाँ कुनै सावधानी र रोकछेक देख्दिनँ।’

इलाका प्रहरी कार्यालय रानीबाट १ किलोमिटर दक्षिणमा रहेको यस नाकाबाट नियमित ओहोरदोहोर हुँदा प्रदेश र संघीय सरकार मौन रहेको स्थानीय जनप्रतिनिधि गुनासो गर्छन्। ‘सीमामा कडाइ गर्ने अधिकार प्रदेश र केन्द्र सरकारलाई छ। हामीले बारम्बार भन्दा पनि अझै यसरी खुला सिमानाको फाइदा उठाउनेलाई प्रदेश र केन्द्र सरकारले रोक्न सकेन’, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, ‘हाम्रो आग्रह लत्याउँदा अहिले यो अवस्था उत्पन्न भएको छ।’

मोरङ सुनवर्षीका राकेश सुनार यसै नाकाबाट सोमबार नेपाल भित्रिए। यसरी आपूm नेपाल भित्रिनु बाध्यता भएको उनको भनाइ छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो समय खुला सीमाबाट आउजाउ रोक्न ध्यान नदिएको सीमा क्षेत्रका नागरिकको आरोप छ। स्थानीयले रानीका प्रहरी निरीक्षक दीपक थापालाई यो विषयमा जानकारी गराए पनि ध्यान नदिएको गुनासो छ। प्रहरी निरीक्षक थापा भने आफू सो समय बिरामी भएर बसेकाले जानकार नरहेको बताउँछन्। 

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का आवश्यक काम देखाएर पनि सीमा वारपार गर्न छुट नदिइएको दाबी गर्छन्। प्रदेश १ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की केन्द्र सरकारसँगको समन्वयमा सीमा नाका कडा गरिएको र योभन्दा कडाइ गर्न अब नसकिने बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.