विदेशी मुद्राको निक्षेप घट्यो

विदेशी मुद्राको निक्षेप घट्यो

काठमाडौं : नेपाली वाणिज्य बैंकहरूमा रहेको विदेशी मुद्राको निक्षेप यो आर्थिक वर्ष सुरु भएको दुई महिनामा ७ अर्ब ७८ करोडभन्दा धेरै घटिसकेको छ। बैंकरले कोरोना भाइरसको असर विदेशी मुद्रामा जम्मा हुने निक्षेपमा पनि परेको बताएका छन्।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार साउन र भदौमा २७ मध्ये १४ बैंकको यस्तो निक्षेप घटेको छ। गत असार मसान्तमा नेपाली बैंकसँग १ खर्ब १४ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी मुद्राको निक्षेप भएकोमा भदौ मसान्तमा १ खर्ब ६ अर्ब ६१ करोडमा झरेको छ। 

नेपालमा राष्ट्र बैंकले तोकिदिएका परिवत्र्य विदेशी मुद्रामा तलब तथा भुक्तानी प्राप्त गर्ने नेपाली र विदेशी नागरिकले विदेशी मुद्रामा निक्षेप राख्न पाउँछन्। राष्ट्र बैंकले अन्तर्राष्ट्रिय संघ, संस्था वा राजदूतावासमा काम गर्ने नेपाली नागरिकलाई विदेशी मुद्रामै बैंक खाता खोल्ने सुविधा दिएको छ। कुनै पनि देशमा नोकरी वा व्यवसाय गरेर विदेशी मुद्रा आर्जन गर्ने नेपालीले पनि यहाँका वाणिज्य बैंकमा विदेशी मुद्राको निक्षेप राख्न पाउँछन्।  विभिन्न संघसंस्था र दूतावास तथा विदेशी नियोगले संस्थागत निक्षेप पनि राख्ने गरेका छन्। तर, अहिले कोरोना महामारीको असर अन्तर्राष्ट्रिय भुक्तानीमा पनि परेकाले नेपाली बैंकबाट विदेशी मुद्राको निक्षेप ओरालो लागेको बैंकर बताउँछन्। 

राष्ट्र बैंकले बेलायती मुद्रा स्टर्लिङ पाउन्ड, अमेरिकी डलर, युरोलगायत मुद्रामा नेपाली बैंकमा खाता खोल्न सकिने व्यवस्था गरेको छ। यस्ता खातामा विदेशी मुद्रामा नै ब्याज प्राप्त हुने भएकाले ब्याजदर भने नेपाली मुद्रामा पाइनेभन्दा केही कम हुन्छ। तर, पनि विदेशी मुद्राको कारोबार गर्न सजिलो पर्ने र धेरैजसो अवस्थामा विनिमय लाभ प्राप्त हुने भएकाले मानिसले यी मुद्रामा खाता खोल्ने गरेका छन्। 

नेपाली मुद्रा सधैं कमजोर भइरहेकाले विदेशी मुद्रा सञ्चित गर्दा दीर्घकालमा सटही दरबाट ठूलो नाफा लिन सकिने भन्दै नेपालमै बसेर विदेशी बजारमा ‘आउटसोर्सिङ’ गर्ने व्यक्ति र कम्पनीले पनि डलर र युरोजस्ता मुद्रामा निक्षेप राख्ने गरेका छन्। 

गत भदौ मसान्तको तथ्यांकअनुसार नेपाल इन्भेस्टमेन्ट बैंकसँगमात्रै कुल विदेशी मुद्राको निक्षेपमध्ये एक चौथाइ निक्षेप छ। नेपालबाट अन्तर्राष्ट्रिय भुक्तानीमा सर्वाधिक भूमिका खेल्ने स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकसँग अर्को एक चौथाइ छ। हाल कायम २७ वाणिज्य बैंकमध्ये यी तीनवटा बैंकले नेपाली बजारमा भएको विदेशी मुद्राको निक्षेपमध्ये आधा हात पारेका छन्। 

निजी क्षेत्रको सबैभन्दा पुरानो बैंक नबिलसहित ५ बैंकले अर्को २५ प्रतिशत निक्ष्ोप ओगटेका छन्। अरु १९ बैंकसँग बाँकी एक चौथाई निक्षेप छ। सरकारी स्वामित्वको कृषि विकास बैंक यस मामिलामा सबैभन्दा पछाडि छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.