जडीबुटी खानुहुन्छ ? सावधान

जडीबुटी खानुहुन्छ ? सावधान

काठमाडौं : काठमाडौंका रामकृष्ण तिवारीलाई केही दिनअघि उनकी पत्नीले पारिजातको पात पकाएर झोल दिइन्। ती महिलाले पारिजातको झोल पिउँदा कोरोना भाइरस लाग्नबाट जोगाउँछ भन्ने सुनेकी रहिछन्। तिवारीले खुसीसाथ दुई गिलास पिए। तर, त्यसपछि उनको शरीरमा एक्कासि रक्तचाप घट्यो।

‘शरीरमा ब्लड प्रेसर कम भएर दुई दिनसम्म काम गर्न सकिनँ’, उनी भन्छन्, ‘एउटा समस्या समाधान होला भनेर खाएको, अर्को समस्या पो आइलाग्यो। दुई दिन प्रेसर बढाउनमै खर्च भयो।’
यो त प्रतिनिधि घटना मात्रै हो। धेरै नेपालीले कोरोना संक्रमणबाट जोगिन भन्दै सुनेकै आधारमा घरेलु औषधि प्रयोग गरिरहेका छन्। कोरोनाकै औषधि भन्दै आयुर्वेद सेवा केन्द्रहरूबाट औषधि लिइरहेका छन्। जब कि विश्वमै कोरोनाको औषधि पत्ता लागेको छैन। हल्लाका भरमा जथाभावी औषधि सेवनले मानिसका विभिन्न अंगमा असर गर्न थालेको विज्ञ बताउँछन्।

कोरोना संक्रमण भएर उपचार गर्न आएका बिरामीमा घरेलु औषधि धेरै प्रयोगले समस्या देखिएको ओम अस्पतालका डा. पर्शु घिमिरे सुनाउँछन्। उनका अनुसार गुर्जो, जेठीमधुलगायत जडीबुटी सेवन गरेका संक्रमितमा कलेजोको समस्या देखिएको छ।

‘कोरोना लाग्न नदिन वा लागेपछि निको हुन भनेर जथाभावी औषधि खाएकाले उहाँहरूको शरीरमा समस्या देखिएको छ’, डा. घिमिरे भन्छन्, ‘धेरै बिरामीमा कलेजोको समस्या देखिएको छ। पुरानो समस्या होइन, तुरुन्तै भएको देखिन्छ। यस्तो अवस्थामा कोभिड कि कलेजोको समस्या समाधानमा लाग्ने ? गाह्रो हुने गरेको छ।’ कलेजोबाहेक मिर्गौलालगायत अंगमा पनि समस्या देखिएको उनको भनाइ छ।

कोरोना केही होइन, साधारण जडीबुटीले ठीक हुन्छ भनेर वैज्ञानिक प्रयोग नभएका औषधि जथाभावी सेवन नगर्न उनको सुझाव  छ। ‘औषधि विज्ञानका अनुसार कुुनै पनि औषधि प्रमाणीकरण भएर मात्रै प्रयोग गर्नुपर्छ’, उनी भन्छन्, ‘धेरैचाहिँ हल्लाका भरमा औषधि सेवन भएको पाइएको छ। यसरी औषधि जथाभावी नखाऔं।’ यस्तो किसिमको औषधि जथाभावी प्रयोग गर्न सरकारले रोक्नेभन्दा पनि उत्साहित गरेको उनको ठम्याइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन पनि विज्ञसँग सल्लाह नगरी जथाभावी औषधि सेवनले समस्या आउने बताउँछन्। ‘औषधिको बेफाइदै छ भन्न नसकिएला’, डा. पुन भन्छन्, ‘तर, सम्बन्धित विज्ञसँग सल्लाह नगरी खानु हुँदैन। औषधिको फाइदा के हो ? बेफाइदा के हो ?थाहा पाउनुपर्ने हुन्छ। आफैं जथाभावी प्रयोग गर्दा अवश्य शरीरमा हानि पुर्‍याउँछ।’

कुनै पनि औषधि मात्राभन्दा बढी खाए त्यसको नकारात्मक असर पर्ने उनको भनाइ छ। त्यसकारण हचुवाका भरमा कोरोनाको औषधि भनी सेवन नगर्न उनी आग्रह गर्छन्। ‘भिटामिन त धेरै खायो भने समस्या हुन्छ’, उनी भन्छन्, ‘घरेलु औषधि पनि मात्रा जानेर खानुपर्छ। आधिकारिक व्यक्तिसँग सोधेर खानुपर्छ। नत्र संक्रमितमा यसै समस्या भएको हुन्छ, अर्को समस्या निम्तिन सक्छ।’

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन डा. जगदीश अग्रवाल जथाभावी औषधि सेवन गर्न नहुने बताउँछन्। भन्छन्, ‘घरेलु जडीबुटी औषधिले राम्रो काम गर्न सक्छ। तर, कुनै पनि चिकित्सकको सल्लाहबेगर खानु हुन्न।’

आयुर्वेदका औषधि थोरै मात्रामा खाँदा खासै असर नपर्ने भए पनि धेरै भए असर हुने उनी बताउँछन्। ‘अहिले गुर्जो खाँदा हुन्छ भन्ने धेरैको सल्लाह छ’, उनी भन्छन्, ‘तर, संक्रमितले छिटो निको हुन्छु भनेर बिहान, दिउँसो जति बेलै खायो भने समस्या हुन सक्छ। उसको कलेजो वा अन्य अंगमा हानि पुर्‍याउन सक्छ।’ त्यसैले आयुर्वेदिक औषधि आधिकारिक चिकित्सकको सल्लाहबेगर प्रयोग नगर्दा राम्रो हुने उनी बताउँछन्।

आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरका प्रा.डा. रामआधार यादव आयुर्वेदिक औषधिको ‘साइड इफेक्ट’ नभएको दाबी गर्छन्। ‘हामीले गुर्जो त पहिलेदेखि प्रयोग गरेको औषधि हो’, डा. यादव भन्छन्, ‘यसले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ।’

अनुसन्धान केन्द्रले बनाएको आयुर्वेदिक औषधि कोरोनाका बिरामीलाई दिइरहेको उनी सुनाउँछन्। ‘हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि बनाएर खुवाएका छौं’, उनी भन्छन्, ‘रुघाखोकी र अन्य भाइरसलाई पनि यसले काम गर्छ।’ तर आफूले कोरोनाको औषधि नै यही हो भनेर दाबी नगरेको उनको भनाइ छ। उनी आफंैले प्रयोग गर्दा भने सही मात्रामा खानुपर्ने सुझाव दिन्छन्।

‘हामीले पढेको ज्ञानका आधारमा बिरामीको उपचार गरेका हौं’, उनी भन्छन्, ‘कोरोनाको यही नै औषधि हो भनेर पूरै दाबी गरेका छैनौं। तर, मुख्य त रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले कोरानाका बिरामीलाई दिइरहेका हौं।’ उनका अनुसार अनुसन्धान केन्द्रमा २ सय बिरामी उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.