मोबाइल बजार गुल्जार

मोबाइल बजार गुल्जार

चैतयता कोरोना महामारी नियन्त्रणका लागि सरकारले विभिन्न चरणमा लकडाउन र निषेधाज्ञा लगायो। घरबाट बाहिर निस्कनै नपाउने भएपछि दिन कटाउने सजिलो उपाय बन्यो, मोबाइल। भौतिकरूपमा कक्षा सञ्चालन गर्न नमिल्ने भएपछि विद्यालय र क्याम्पसले पनि मोबाइलबाटै भर्चुअल पठनपाठनको आह्वान गरे। त्यतिमात्रै होइन, भेला हुन नपाउने भएपछि मोबाइलबाटै  वेबिनारमा अधिकांश कार्यालयका कामकाजी बैठक बसे। लकडाउनले अधिकांश उद्योग व्यवसाय चौपट भइरहेको समयमा पनि मोबाइल बजारलाई टेवा पुग्यो। 

मोबाइल तथा अन्य ग्याजेटको व्यापार अरू समयको तुलनामा दसैंमा बढी हुने गर्छ। तर, यसपालि मोबाइल बजारमा ६ महिना अगाडि नै दसैं आएसरह भयो। लकडाउन र निषेधाज्ञाको समयमा अनपेक्षित रूपमा मोबाइलको कारोबार बढेको सामसङ मोबाइलका लागि नेपाली आधिकारिक बिक्रेता आईएमएसका कार्यकारी अध्यक्ष दीपक मल्होत्रा बताउँछन्।  

‘पोहोरपरार त अफर पाइन्छ कि भनेर ग्राहक दसैं पर्खेर बस्नुहुन्थ्यो। दसैं नजिकिएपछि बल्ल हामीलाई भ्याइनभ्याइ हुन्थ्यो’, उनी सम्झन्छन्। तर, यसपालि मोबाइलको बिक्री अनपेक्षित ढंगले बढेको उनी बताउँछन्। उनका अनुसार पोहोरको तुलनामा बिक्री ५० प्रतिशतले बढेको छ। 

भन्सार विभागकै तथ्यांक हेर्ने हो भने मोबाइलको आयात बढेको देखिन्छ। नेपालमा सबैभन्दा बढी आयात हुने डिजेल र पेट्रोललाई मोबाइल सेटले उछिनेको छ। चालू आर्थिक वर्षको दुई महिनामा ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको मोबाइल भित्रिएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँ थियो।  साउनमा मात्रै करिब ४ लाख ७० हजार थान मोबाइल सेट आयात भएको थियो। नेपालमा वार्षिक १८ अर्ब रुपैयाँबराबरको मोबाइल सेट आयात हुने गरेको छ।  मल्होत्राका अनुसार लकडाउनले गर्दा सबैभन्दा बढी मोबाइलको माग बढेको हो। उनी भन्छन्, ‘लकडाउनमा मोबाइलले समय कटाउन सजिलो भयो। भेटघाट नहुने र भीडभाड गर्न नमिल्ने कारण एकअर्कासँग सम्पर्क गर्न मोबाइलकै प्रयोग बढ्यो।’ 

अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द हुँदा मोबाइलको चोरीपैठारी नियन्त्रणमा आएको छ। जसले मोबाइलको अवैध कारोबार रोकियो। यसले वैधानिक माध्यमबाट भित्रिएका मोबाइलको बिक्री बढेको उनी बताउँछन्। ‘नेपालमा ४० प्रतिशत मोबाइल चोरीपैठारीबाट आउने गर्छ’, उनी भन्छन्, ‘विगतमा चोरीपैठारीबाट आएका मोबाइलले बजारको आधा माग धान्ने गरेको थियो। यसले मोबाइलको वास्तविक कारोबारलाई प्रभावित पारेको थियो। 

अहिले सीमा नाकामा कडाइ हुने भएपछि मोबाइलको माग औपचारिक च्यानलबाटै धान्ने काम भइरहेको छ। यो सकारात्मक पनि हो।’ दसैंमा मोबाइलको कारोबार अझै बढ्नेमा व्यवसायी विश्वस्त छन्। मल्होत्रा भन्छन्, ‘मोबाइलका लागि धेरैले अफर पर्खिरहेका हुन्छन्। त्यसैले पनि दसैंमा मोबाइलको बिक्री बढ्नेमा हामी आशावादी छौं।’  

यसपालि सधैं जस्तो मोबाइल प्रदर्शनी गरेर बिक्री गर्न मेला सञ्चालनमा आएनन्। कोभिड–१९ संक्रमणको कारण सरकारले यस्तो भीडभाड हुने मेला÷प्रदर्शनीमा रोक लगाएको छ। तर, अनलाइन सपिङबाटै मोबाइलको अर्डर भने भइरहेको छ। 

मोबाइलकको मुख्य व्यापारिक थलो पाको न्युरोडमा भने पहिले जस्तो चहलपहल छैन। मोबाइलको हब मानिने ताम्राकार कम्प्लेक्समा प्रत्येक दसैं मोबाइल मेला हुने गथ्र्याे।  ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष जगत साउदले मोबाइल एक्सपो तथा लक्की ड्र कार्यक्रम नहुँदा यसपालि अपेक्षाकृत कारोबार गर्न मुस्किल भएको बताए। उनका अनुसार कोभिडका कारण भीडभाड नगर्ने हुँदा सोरुममा आएर मोबाइल किन्नेको संख्या निकै छ।

बजारमा मोबाइल सेटको माग बढेको छ। तर, मागअनुसार ब्रान्ड र प्रडक्ट उपलब्ध गराउन नसकेको मोबाइल व्यवसायीको गुनासो छ।  मोबाइलको माग बढे पनि ग्राहकको इच्छाअनुसार मोबाइल दिन नसकेको साउद बताउँछन्। उनी भन्छन्, ‘मोबाइलको माग बढेको पक्का हो। तर, हामीले ग्राहकको अर्डरअनुसार सामान भित्र्याउन सकिरहेका छैनौं। अहिले बजारमा नयाँ उत्पादन नै आएका छैनन्।’ उनका अनुसार अहिले स्टकका मोबाइल नै बिक्री भइरहेका छन्। उनी भन्छन्, ‘यहाँबाट डिमान्ड गरिएका मोबाइल आइरहेका छैनन्। विश्व बजार नै प्रभावित भएपछि कम्पनीले भनेजस्तो मोबाइल भित्र्याउन नसक्ने अवस्था छ।’ विगतमा दसैंको समयमा विदेशबाट फर्किएका व्यक्तिले समेत आफन्तलाई मोबाइल उपहार ल्याउने गर्थे। तर, यसपालि त्यो अवस्था नहुँदा उनीहरूले यहीँ मोबाइल खरिद गरिरहेको उनी बताउँछन्। 

दसैंलाई केन्द्रित गरेर मोबाइल कम्पनीले नयाँ ब्रान्डका स्मार्टफोन सार्वजनिक गर्ने गरेका छन्। नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि फेस्टिबललाई लक्ष्य गरेर नयाँ उत्पादनका मोबाइल सार्वजनिक गर्ने प्रचलन छ। यसपालि पनि केही कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरिरहेका छन्। भर्खर सामसङले ग्यालेक्सी जेट फोल्ड टु स्मार्टफोनको बिक्री सुरु गरेको छ। भिभोले आफ्नो फ्लयागसिप भी सिरिजका नयाँ मोडल सार्वजनिक गर्ने जमर्को गरेको छ। 

आइतबार उसले भारतीय बजारमा केही समयअघि सार्वजनिक भएको भी २० ल्याउने तयारी गरेको छ। भर्खरैमात्र नोकिया २.४ प्रवेश गरेको छ। एचएमडी ग्लोबलले सार्वजनिक गरेको थियो। ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको स्मार्टफोन भिडियो स्ट्रिमिङ र गेमिङका लागि उत्तम रहेको कम्पनीले जनाएको छ। यो स्मार्टफोनमा ४५ सय एमएएच क्षमताको ब्याट्री राखिएको छ। फिंगरप्रिन्ट र फेस अनलकजस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर रहेको स्मार्टफोनमा डुअल क्यामेरा, एआई इमेजिङबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट सट फिचर समावेश छ। दुई जीबी र्‍याम र ३२ जीबी रोम रहेको यो स्मार्टफोनको मूल्य नेपालमा १४ हजार ५९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै शुक्रबार नै ह्वावेले नोभा सेभेन एसई सार्वजनिक गरिसकेको छ। यसलाई ह्वावे नोभा सेभेन एर्स फाइभजी भाइटालिटी इडिसनको नामबाट सार्वजनिक गरेको हो। त्यस्तै दसैंको अवसर पारेर मोबाइल कम्पनीले छुट तथा उपहार योजनाहरू पनि ल्याउने गरेका छन्। उपभोक्ताले पनि दसैंमा अफरको लोभले अन्य समयमा मोबाइल किन्ने पैसा जम्मा गरेर राखेका हुन्छन्। दसैंमा नयाँ सामान किन्ने परम्परा छ। त्यसैले यस्तो अवसरमा बिक्रेताले पनि विभिन्न अफर ल्याएर मोबाइलको बिक्री बढाउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.