कोरोनालाई बेवास्ता : पार्टी प्रवेश गराउन भ्याइनभ्याइ

कोरोनालाई बेवास्ता : पार्टी प्रवेश गराउन भ्याइनभ्याइ

भोजपुर : गत असोज ६ गते अरुण गाउँपालिका ४, चरम्बीमा दुईदर्जन बढी नेपाली कांग्रेसका कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरे। यस्तै असोज २४ गते भोजपुर नगरपालिकाको बोखिमस्थित एकसय ५ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे। असोज १६ मा भोजपुर नगरपालिका ४, गुप्तेश्वरस्थित ४१ जना नेकपामा प्रवेश गरे। असोज २७ मा हतुवागढी गाउँपालिका २, रानीबासको लुङ्गेनीमा २ सय १३ जना नेकपा र अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेशमा प्रवेश गरे।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा पनि जिल्लास्थित राजनीतिक दल भने  गाउँगाउँमा पार्टी प्रवेश सभा गर्दै हिंडेका छन्। नेकपा र नेपाली कांग्रेस गरी मुख्य दुई धारका दल पार्टी बीच प्रवेश गराउने होडबाजी चलेको छ। नजिकिएको दसैंमा काठमाडौ लगायत विभिन्न ठुला शहर र विदेशबाट गाउँ फर्कनेको संख्याले संक्रमणको जोखिम बढिरहेको बेलामा राजनीतिक दललाई भने आफ्नो पार्टीगत छवि राख्न भ्याइनभ्याइ छ। 

दलका कार्यकर्ताहरु पार्टी प्रवेश गराउने भन्दै वडावडा र गाउँगाउँमा मानिसको बाक्लो भेला गराउने, समारोह राख्ने गरेका छन्। समारोहमा दलका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधरणहरु स्वास्थ्य सुरक्षा मापदण्ड समेत राख्दैनन्। समारोहमा न मास्क लगाइन्छ न त दुरी कायम गरिन्छ। उल्टै बाक्लो जमघटको तश्विर सामाजिक सञ्जालमा पोष्ट्याउँछन्। बाक्लो जमघटबीच कोरोनाको जोखिमलाई बेवास्ता गरी राजनीतिक दलले सर्वसाधरणको स्वास्थ्यमा खेलाँची गरिरहेको भोजपुर नगरपालिका ८, पोखरेका स्थानीय गोपाल तामाङले बताए। भन्छन्, ‘कतिबेला कोरोना छिर्ने हो थाहा छैन, गरिबसँग उपचार गर्ने पैसा पनि छैन, राजनीतिक दललाई पार्टी प्रवेश गर्नै हतार छ, हाम्रो स्वास्थ्यमाथि खेलवाड भएको छ।’

संक्रमणको कम जोखिम भएको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड नै नअपनाइ पार्टी प्रवेशका कार्यक्रम अघि बढाएका छन्। एकअर्काको साख गिराउने होडबाजीले संक्रमणको जोखिम झनै बढेको स्थानीय अगुवा नविन प्रधान बताउँछन्। ‘यो बेला भनेको दलहरु संक्रमणको न्यूनीकरण र नियन्त्रणमा जुट्नुपर्ने अवस्था हो, तर सरकारको पक्ष र प्रतिपक्ष भएर एकअर्कामा आरोप प्रत्यारोप गर्दै पार्टी प्रवेश गराउनु गैरजिम्मेवारीपन हो’, उनले थपे, ‘जिम्मेवार पक्षबाटै सहि भुमिका निर्वाह गर्न नसक्दा नागरिकले कोरोना जस्तो जटिल परिस्थितिको सामना गरिरहनु परेको छ।’ 

असोज ५ गतेबाट लकडाउन खुकुलो गरिएसँगै जिल्लाभित्र चहलपहल बढेको छ। जिल्ला प्रशासनले न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दैनिक जिवनयापन गर्न गराउन सर्वसाधरण निर्देशन दिएको छ। तर लकडाउन खुकुलो भएपछि वडातहबाट पनि जिल्ला भित्रिने यात्रुको विवरण आइनसकेको जिल्ला प्रशासनले जनाएको छ। पार्टी प्रवेशका नाममा नागरिकको स्वास्थ्यमाथि गम्भीर चुनौती थपिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले बताए। भने, ‘यस्तो महामारीका बेला सबैजना जिम्मेवार हुनुपर्ने हो, संक्रमणको स्थिति नाजुक बन्दै गइरहेको बेलामा यस्तो कार्यक्रम समारोहले नागरिकको स्वास्थ्यमाथि संकट पैदा हुन सक्छ।’

स्थानीय, प्रदेश र संघको चुनाव आउन लगभग डेढ वर्ष बाँकी रहँदा दलहरु कोरोना जोखिमको वास्तै नगरी कार्यकर्ता बटुल्न व्यस्त छन्। बैठक, भेला जस्ता सार्वजनिक जमघट राख्ने, समारोह गर्ने, अविरयात्रा र हर्षोल्लास गर्नुले गैरजिम्मेवार काम भइरहेको स्थानीय सरोकारवालाको ठहर छ। भोजपुरमा अहिलेसम्म २५ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबै निको भइ घर फर्किसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.