सांसदलाई भर्चुअल बैठकको भत्ता
जनकपुरधाम : प्रदेश २ मा प्रदेशसभा सांसदहरूले सदनको बैठकमा भर्चुअल सहभागिता जनाएको पनि भत्ता बुझेका छन्। कोभिड—१९ को महामारीले जनता गरिबी र भोकमरीमा परेका बेला प्रदेशसभाका माननीयहरूले घरमै बसेर बैठकमा सहभागिता जनाउँदा पनि भत्ता बुझेका हुन्। सूचना प्रविधिमार्फत संसद् बैठकमा सहभागिता जनाएका प्रतिसांसदलाई प्रतिबैठक १ हजार भत्ता उपलब्ध गराइएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत नवीन मिश्रले जानकारी गराए।
‘भर्चुअल मिटिङमा बसेका सांसदज्यूहरूलाई प्रदेशसभा बैठकमा झैं भत्ता उपलब्ध गराएका छौं तर उहाँहरूलाई सवारी भत्ता बापतको पाँच सय दिएका छैनौं’, मिश्रले भने।
संघीय सरकारले चैत ११ देखि लकडाउन घोषणा गरे पनि सो अवधिमा भीडभाड गर्न नहुने भन्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो। जेठ २१ देखि प्रदेशसभामा भौतिक दूरी कायम गरी कुर्सीहरू सोहीअनुसार मिलाएर बैठक सुरु भएको थियो। संवैधानिक प्रावधानअनुसार असार १ गते प्रदेशसभामा सरकारले बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस गर्नुपर्ने हुनाले बैठक बस्नु आवश्यक थियो। तर, सोही बेला केही सांसदमा कोरोना संक्रमण देखिएपछि बैठक सञ्चालनमा समस्या आएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी अरुणकुमार झाले बताए।
‘कोरोना महामारीलाई दृष्टिगत गर्दै संसद्मा पर्याप्त स्थान नभएको अवस्थामा प्रत्येक राजनीतिक दलबाट बढीमा सात जना सांसदको उपस्थिति भई अन्यले भर्चुअल रूपमा सहभागिता जनाउने निर्णय भएको थियो’, सूचना अधिकारी झाले भने, ‘प्रदेशसभा नियमावलीमा संशोधन गरेर सूचना तथा प्रविधिमार्फत बैठक सञ्चालन गर्न सकिने भन्दै प्रदेशसभाबाट पारित गरिएको हो।’
‘भर्चुअल बैठकमा सहभागी भए पनि सांसदहरूले भौतिक रूपमा प्रदेशसभामा उपस्थित भएर विधेयकहरूको छलफल, मताधिकारको प्रयोग गरेझैं सबै अधिकार प्रयोग गर्न पाए’, झाले थपे, ‘उहाँहरूले भर्चुअल भए पनि तीन÷तीन घण्टा समय दिनुभएको छ। यस्तोमा बैठक भत्ता बुझ्नु उचित नै हो।’ ‘प्रदेशसभा सचिवालयले भर्चुअल बैठकको पनि भत्ता उपलब्ध गरायो अनि हामीले बुझ्यौं’, प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद मनिष सुमनले भने, ‘विश्वकै लागि प्रदेशसभामा यसरी सांसदहरूले भर्चुअल रूपमा सहभागिता जनाउनु नौलो अभ्यास हो, जुन हामीले सुरु गरेका छौं।’ देशसभाको चौथो अधिवेशनमा जम्मा ३१ वटा बैठक बसेको थियो। नीति तथा कार्यक्रम पारित भएको दिन प्रदेशसभाका १०७ सांसदमध्ये ८२ जना सदनमा भौतिक रूपमै उपस्थित भए। अन्य बैठकमा १० देखि १५ जनासम्म सांसद भौतिक रूपमा सहभागी हुने गरेका र अन्यले घरबाटै भर्चुअल रूपमा सहभागिता जनाएका थिए।