छैन दसैंको रौनक

छैन दसैंको रौनक

भक्तपुर कौशलटारकी गृहिणी अञ्जना कोइराला छोरीलाई खुसी बनाउन बजार जान बाध्य भइन्। हरेक वर्ष हर्षोल्लासका साथ दसैं मनाउँदै आएको उनको परिवार यो वर्ष नयाँ लुगा किन्न बजार नजाने योजनामा थियो। तर दसैंमा पनि नयाँ लुगा नकिन्ने भन्दा ६ वर्षीया छोरी ठुस्किएपछि उनी बजार जान बाध्य भइन्। कोइराला भन्छिन्, ‘सानैदेखि सिकाएको पनि त्यस्तै छ, अहिले आएर दसैंमा पनि नयाँ लुगा कसरी नकिनिदिनु ?’ सकेसम्म सुरक्षित भएर किनमेल गर्न निस्किएको बताउने कोइराला यसपटक बजार केही महँगो भएको भोगाइ सुनाउँछिन्। भनेको जस्तो सामान पनि छैन र बजार केही महँगो छ। कोरोनाले आयआर्जनको स्रोत पनि खुम्चिएको हुँदा बजार महँगो लागेको हुन सक्ने उनको भनाइ छ। धेरैजसो परिवारको भनाइ पनि यही हो, बालबालिकाका लागि नै भए पनि सपिङका लागि निस्किनुपर्ने बाध्यता छ। 

दसैं हामी नेपालीको धरदैलोमै आइसकेको छ। नयाँ लुगा लगाउने र मीठो खाने चाड हो दसैं। यही मान्यता र संस्कारमा हुने वा नहुने सबैले जसोतसो चाँजोपाँजो मिलाउने गरेका हुन्छन्। तर, यसपटकको दसैंं विगतका वर्षभन्दा भिन्न किसिमको छ। विश्व महामारीका रूपमा फैलिइरहेको नोबेल कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन। अझ पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत मुलुकभर कोभिड संक्रमण दर बढ्दोे छ। 

कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै सरकारले निषेधाज्ञा नै त जारी गरेको छैन तर दसैंंका लागि किनमेल गर्न, भीडभाड नगर्न बारम्बार आग्रह गर्दै आइरहेको छ। पर्व मनाउनेभन्दा पहिला स्वास्थ्य महत्वपूर्ण भएको सीतापाइलाकी शर्मिला श्रेष्ठ बताउँछिन्। ‘पुरानो लुगामै दसैंं मनाउन हुन्न भनेर कतै लेखिएको छैन। त्यही भएर यसपटकको दसैंंमा नो किनमेल’, श्रेष्ठ भन्छिन्। योपटकको दसैंंमा उनको परिवार दसैंंको टीका थाप्न पनि कसैकहाँ नजाने सहमतिमा छ। 

गत वर्षको तुलनामा बजारमा भीडभाड पनि खासै देखिँदैन। साना पसलदेखि मल र ब्रान्डेड सामानको किनमेलमा उपभोक्ताको भीड देख्न सकिँदैन। कतिपय ठूला पसलले कोरोना जोखिमलाई नै ध्यानमा राखेर एकपटकमा स्टोरभित्र ३ वा ४ जनासम्म जान मिल्ने व्यवस्था गरेका छन्। 

पछिल्लो ट्रेन्डअनुसार साना पसलभन्दा मलमा बढी भीड हुने गरेको छ। थोरै समयमै इच्छाअनुसारका रोजीरोजी सामान किन्न पाइनु, निश्चित मूल्य तोकिएका कारण धेरै बार्गेनिङ गर्नु नपर्नेलगायत कारण मलमा ग्राहकको आकर्षण बढेको हो। एउटै छानामुनि हरेक प्रकारका सामान पाइने भएपछि यस्ता मलमा सामान किन्नेको भीड दिनप्रतिदिन बढिरहेको छ। बढी किनमेल हुने तीज, दसैंतिहारलगायत चाडपर्वमा ग्राहकको घुइँचो नै लाग्ने गर्छ। 

चल्तीका भाटभटेनी, काठमाडौं मल, सिभिल मल, सीटीसी सेन्टर, आरबी कम्प्लेक्स, स्टार मल, ब्लुबर्ड मल, युनाइटेड वल्र्ड ट्रेड सेन्टरलगायत सपिङ मलमा विशेष भीड लागेको देखिन्छ। तर, यसपटक व्यापारमा कमी आएको भाटभटेनी कोटेश्वर शाखाकी स्टोर म्यानेजर विष्णुमाया श्रेष्ठको भनाइ छ। भाटभटेनीले लुगा र जुत्तामा ५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। गत वर्षको तुलनामा व्यापारमा करिब २० प्रतिशतले कमी आएको उनको आकलन छ।  नेपालमा सपिङ सेन्टर खुलेको दशकभन्दा धेरै भइसकेको छ। एक दशकअघि राजधानी काठमाडौंमा केन्द्रित भएर फाट्टफुट्ट मात्र सपिङ मल खुलेका थिए। अहिले राजधानीबाहिरका मुख्य सहरमा धमाधम मल खुलिरहेका छन्। राजधानीमा खुलेका कतिपयले चेन विस्तार गरिरहेका छन्। तर, करिब ७ महिनादेखि कोरोनाका कारण प्रायः ठप्प रहेको बजारमा दसैंंमा पनि किनमेलको रौनक नभएको व्यापारीको भनाइ छ। गत वर्षको दसैंंको समयमा बिहान ९ बजेदेखि उपभोक्ताको घुइँचो लाग्ने गरेको अनुभव सुनाउँदै बिइङ ह्युमन नेपालका प्रबन्धक कृष्ण लामघारे योपटक करिब ५० प्रतिशतले नै कारोबार घटेको बताउँछन्। न्यून वर्गीय परिवारको पहिलो रोजाइ रहेको फुटपाथ व्यापार पनि सुनसान छ।

अनलाइन सपिङ सजिलो

सपिङ मलमा आकर्षण बढेसँगै अनलाइनबाट सपिङ गर्नेको संख्या पनि पछिल्ला दिनमा बढ्दै गएको छ। अनलाइन सपिङमा ग्राहकले फेसबुक पेजमार्फत आफूलाई मन लागेको सामान मेसेन्जर वा त्यहाँ राखिएको टेलिफोन नम्बरमार्फत सम्पर्क गरेर सम्बन्धित व्यक्तिसँग अर्डर गर्नुपर्ने हुन्छ। यसरी अर्डर गरेपछि सम्बन्धित व्यवसायीले ग्राहकको ठेगानामा सामान पु¥याउँछन्। ग्राहकले फेसबुक पेजमा लाइक गरेअनुसारको सामान नपाएमा सामान किन्दिनँ भन्न पनि पाउँछन्। फेसबुक पेजमा डिस्प्ले गरिएका सामानसँगै मूल्य पनि लेखिएको हुन्छ। ग्राहकले सामान मन परेमा त्यहाँ लेखिएको मूल्य पूरै तिर्नुपर्छ। यसमा कुनै छुटको व्यवस्था गरिँदैन। केही अनलाइन सपिङ व्यवसायीले निश्चित समय तोकेर सामान साट्न पाउने व्यवस्था पनि गरेका हुन्छन्।

जुत्ताको व्यापार घट्दो

नेपाली बजारमा करिब ६० प्रतिशत हिस्सा ओगटेको नेपाली जुत्ताचप्पलको बिक्री यो दसैंंमा करिब २० प्रतिशतमा झरेको छ। कोरोनाका कारण लामो समयदेखि उद्योग बन्द हुनु, कालिगढ अभाव, पर्याप्त कच्चा पदार्थ नहुनुजस्ता कारणले अहिले नेपाली जुत्ताको कारोबार २० प्रतिशतभन्दा तल ओर्लिएको नेपाली जुत्ता तथा चप्पल उत्पादन संघका अध्यक्ष कृष्ण फुयाँल बताउँछन्। कोरोनाका कारण उत्पादनमै असर परेको उनको भनाइ छ। यो वर्ष नेपाली जुत्ताचप्पलको मेला पनि राखिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.