कोरोनाले खल्लो
जनकपुरधाम : दसैं आउनु एक महिना अगाडिदेखि जनकपुरमा रमझम सुरु हुन्थ्यो। राम मन्दिरअघिको बगैंचामा झुला, मौतको कुवा, सर्कस र रमाइलो मेला लगाउने तयारी गर्थे।
यस क्षेत्रका प्रसिद्ध शक्तिपीठहरूमा दसैंको पूजापाठ सुरु भए पनि विगतका वर्षजस्तो हर्ष, उल्लास भने छैन। भीडभाडको डरले सर्वसाधारणलाई मन्दिर प्रवेशमा निकै कडाइ गरिएको छ। पूजाआजामा पनि विशेष सतर्कता अपनाइएको छ। मन्दिर आउने श्रद्धालुलाई मास्क अनिवार्य गरिएको छ। ढोकामा उभिएका स्वयंसेवकले सेनिटाइजर दिएर र थर्मल गनले ज्वरो नापेर मात्रै सर्वसाधारणलाई मन्दिर पस्न दिन्छन्।
विगतमा राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा प्रत्येक साँझ भजन सन्ध्या हुन्थ्यो। यस क्षेत्रका चर्चित कलाकारले सांस्कृतिक कार्यक्रम गर्थे। यसपटक भने भजन सन्ध्या पनि रोकिएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए। ‘यो वर्ष महामारीको त्रास छ। मन्दिरमा भीडभाड बढ्ने हुनाले सांस्कृतिक कार्यक्रम र महिलाद्वारा गरिने भव्य आरती पनि रोकेका छौं।’
सो कमिटीले प्रत्येक वर्ष राजदेवी मन्दिरमा पूजा र बोका बलिको व्यवस्थापन गर्दै आएको छ। यसपटक जिल्ला प्रशासन कार्यालय धनुषाले सम्पूर्ण शक्तिपीठमा बोका बलि नचढाउन निर्देशन दिएको छ। गत असोज १२ गते सुरक्षा निकायसहित अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।
भीडभाड नगरी प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्न भने छुट गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। तर, पुस्तांैदेखि चल्दै आएको प्रथा पूर्ण रूपमा रोक्न सम्भव नरहेको महावीर युवा कमिटीका अध्यक्ष साह बताउँछन्। ‘बोका बलिका लागि भीडभाड नगर्न र बलिका लागि बोका नकिन्न हामीले पनि सबैलाई अपिल गरेका छौं’, उनले भने, ‘कसैले बोका खरिद गरिसकेको छ र उसलाई भाकल मनाउनु अत्यावश्यक छ भने हामी सामाजिक दूरी कायम गराई व्यवस्थित रूपमा बलि दिने व्यवस्था गर्छौं।’
गत वर्ष राजदेवी मन्दिरमा मात्रै १४ हजार ६ सय ३३ वटा बोकाको बलि दिइएको थियो। विजया दशमीका दिन धनुष सागरको डिलमा हुने प्रसिद्ध रावणबद्ध कार्यक्रम पनि यस वर्ष गर्ने÷नगर्ने विषय अझै टुंगो लागेको छैन।
लागेन सस्ता बजार
विगत २५ वर्षदेखि स्थानीय गोपाल धर्मशालामा लाग्दै आएको सस्ता बजार यस वर्ष कोभिड—१९ को महामारीले गर्दा लागेन। विगतमा दसैं नजिकिएपछि सर्वसाधारण सस्ता बजारको प्रतीक्षामा हुन्थे।
खाद्यान्न, कपडा र दैनिक उपभोगका सरसामान सस्तो दाममा पाइने हुनाले सस्ता बजारमा स्थानीयको भीड हुन्थ्यो। यसपटक बजार लगाउन प्रशासनले अनुमति नदिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए। ‘बजार लगाएपछि भीडभाड हुन्छ’, उनले भने, ‘रोगले गर्दा बजार लगाउन रोकेका हौं।’