बिकेनन् याक

बिकेनन् याक

ताप्लेजुङ :

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–७ 

याङ्माका पेमा शेर्पाको गोठमा १ सय ५२ वटा याक छन् । त्यसमध्ये ६२ वटा बिक्रीका लागि तयार छन् । अघिल्लो वर्ष भदौमै बेचिसकेका उनको यो वर्ष बेच्ने सुरसार छैन । यहाँको याकको बजार तिब्बत हो । कोरोना संक्रमणको कारण देखाउँदै चीनले माघयता टिपताला नाका बन्द गरेपछि हिमाली भेगका सय बढी कृषकले पालेका याक र चौंरी बजार पुग्न नसकेका हुन् । हजार बढी पशुगोठमै होल्ड भएको पेमाले बताए । 

यसले लाखौं लगानी गरेर पशुपालनमा लागेका र यसबाटै जीविकोपार्जन गरिरहेका कृषक समस्यामा पारेको छ । ‘पशुलाई दानापानी र मान्छेलाई 

खाद्यान्न पनि रिउबाटै ल्याउँथ्यौं । पहिलेको स्टक सकिन लाग्यो’, उनले भने, ‘पशुपालन व्यावसाय नै संकटमा प¥यो ।’

सिरिजजंघा गाउँपालिका–३ हर्कटेका कालु शेर्पाले पनि ३० वटा चौंरी र उराङ (याक र गाईंको क्रसबाट जन्मिएको गोरु) बेच्न सकेका छैनन् । ‘भदौमै गइसक्नुपर्ने हो । अहिलेसम्म किन्ने कोही आएका छैनन्’, कालुले भने, ‘हुर्कंदै गएपछि घाँस बढी चाहिन्छ, खर्कमा घाँसको हाहाकार भइसक्यो ।’ 

हिउँद लागेपछि घाँस नपलाउने भएकाले वस्तु दुब्लाउने, नबढ्नेजस्ता समस्या हुने उनले सुनाए । हिमालको फेदमा रहेका खर्कमा गोठ सञ्चालकले सामुदायिक वन, संरक्षण क्षेत्र तथा जग्गाधनीलाई शुल्क बुझाएर गोठ राख्ने गरेका छन् । 

कालुले अघिल्लो वर्षमात्रै ६५ लाख रुपैयाँ खर्चिएर गोठमा ८० वटा चौरी गाईं थपेका थिए । त्यसमध्ये ४० लाख ऋण छ । बिक्री ठप्प भएपछि ऋण तिर्न समस्या भएको उनी बताउँछन् । चिनियाँ व्यापारी सम्पर्कमै आउन छाडेको फलेका तेन्जिङ पाङ्दे शेर्पाले बताए । ‘माथिका व्यापारी सम्पर्कमा छैनन्, यहाँका पशुपालकले चाहीँ किनिदिनुहोस् भनेर दिनहुँ फोन गर्नुहुन्छ’, चेइराममा याक गोठसमेत भएका व्यवसायी तेञ्जिङ भन्छन्,‘नाखा खुलुञ्जेल पर्खनुस् भन्ने गरेको छु ।’ 

जिल्लाका हर्कटे, पापुङ, चेइराम, खम्बाचेन, याङ्मा, फले, कालिखोलाका सयौं कृषक कोरोना माहामारीको मारमा परेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटे बताउँछन् । ओलाङचुङगोलामा रहेको तिपताला भन्ज्याङ याक चौंरी तिब्बत निर्यात हुने पूर्वी नेपालको प्रमुख नाका हो । यहाँबाट ताप्लेजुङसहित भारतको सिक्किमदेखि नेपालको सोलुखुम्बु, भोजपुर, संखुवासभा, पाँचथरसम्मका हजारौं याक चौंरी निर्यात हुन्छ । 

कृषकका अनुसार याकका बाच्छाबाच्छी ६ महिनामा हिँड्न सक्ने हुन्छन् । त्यसपछि बेच्ने चलन छ । गत वर्ष तिब्बतमा एउटा याक ६० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्ममा बेचेको तेन्जिङ पाङ्दे बताउँछन् । 

कृषकले भने ४० हजारदेखि ९० हजारसम्म पाउने गरेका थिए । ‘नाका खुल्ने हो भने त आम्दानी राम्रै हुन्छ’, उनले भने । अझै एक वर्ष नाका नखुले पशुपालक टाट पल्टने वडाध्यक्ष भोटेको भनाइ छ । चीनले बुहानमा कोरोना संक्रमण देखिए लगत्तै नाका बन्द गरेको र अहिले नेपालमा पनि तीव्र गतिमा फैलिइरहेकाले तत्काल नाका खुल्ने सम्भावना नरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.