कैफियत रोटी
दसैं–तिहार नजिकिएका बेला एउटा मज्जाको दृश्य कैद गर्दै छु म। दृश्यमा एउटा ‘रोटी’ देखिएको छ, ताजा। गज्जबको रोटी। रोटीको आकार नै गज्जबको। डल्लो होइन, गोलो होइन, लाम्चो; छेउकुनो नमिलेको। तर आकार अमिल्दो भए पनि अत्यन्तै चित्ताकर्षक ! मनमोहक ! देखिरहेछु, रोटीसँग कति आकर्षित मान्छेहरू, स्वदेशी मात्रै होइन विदेशीहरू पनि उत्तिकै आकर्षित छन्। कहिले कुन मौका मिल्ला र त्यो रोटी खाइहालूँ, चपाइहालूँ, निलिहालूँ भनेजस्तै गरी झुम्मिएका छन् मान्छेहरू। ओहो, यो के ? यही भीडबीच समूह–समूहमा मुसाहरू पो छन् त रोटीको नजिक ! लौ, देख्दादेख्दै मुसाहरूको एउटा समूहले रोटीमा हात पो हाले। हात हैन, मुखै लगे। यत्तिकैमा अर्कातिरबाट फेरि अर्को समूहमा अन्य मुसा पनि देखिए। तिनले पनि त्यही चरित्र प्रदर्शन गरे, जुन अघिल्लो समूहले गरेका थिए।
क्रमशः मुसाहरूको थरीथरीका समूहको उही प्रकारको प्रक्रिया देखिन लाग्यो। ‘ए, बडो गज्जबको स्वादिलो होलाजस्तो छ है रोटी !’ पछिल्लोचोटि देखिएको समूहको एउटा मुसाले रोटीतर्पm मुख गाड्दै बोलेको सुनियो। ‘कहाँ स्वादिलो होलाजस्तो मात्रै ?’ प्रतिक्रिया जनायो अघिल्लो समूहको एउटा मुसाले– ‘खाई त हेर, थाहा पाइहाल्छौ कत्तिको स्वादिलो छ यो रोटी !’ एक–एक सबै मुसाहरू रोटीप्रति निकै आक्रामक देखिए। ‘आहा... क्या रसिलो रोटी !’ मुख गाडेको गाड्यै गोरो मुसाले भन्यो। तत्काल अर्को निख्खर कालो मुसाले भन्यो– ‘साँच्चैको रसिलो ! कति गुलियो ! कति मीठो !’ अहिलेसम्म रोटीमा मुख गाडिनसकेको अर्को छुचुन्द्रे मुसा खुरुरु दौडँदै गएर आफ्नो चुच्चो मुख रोटीमा गाडिहाल्यो र मुख मिठ्याउँदै बोल्यो– ‘यस्तो मीठो रोटी त जिन्दगीमा कहिल्यै खाइएको थिएन बा !’ रोटी खाने मुसाहरूको हुलमूलमा रोटी खान नपाएका कतिपय अलिक कमजोर मुसाले चाख्न मात्रै पाए हुन्थ्यो भन्ने मनसाय राखेर रोटी छेउसम्म पुग्ने कोसिस गरिरहेका थिए।
यतिखेर मभित्र एउटा जाज्वल्यमान प्रश्न उठिरहेको छ– ‘के देश भोकाहरूको रोटी हो ?’
यस क्रममा कुनै मुसाले रोटी चाट्न भ्याए, चुस्न भ्याए, त्यति नपाउनेले त्यो रोटी कोतर्नसम्म भ्याए। रोटी क्षतविक्षत भइसकेको थियो। एक किसिमले, रोटीलाई बलात्कृत भइसकेको अर्थमा बुझे पनि भइसकेको थियो। अन्ततः रोटी खाँदाखाँदै टन्न भइसकेको एउटा भुँडे मुसाले आफ्नो पेट सुमसुम्याउँदै भन्यो– ‘बडो तृप्त भइयो।... ’
अर्को त्यस्तै रूपको मुसा बोल्यो– ‘पेट भरेर तृप्त त भइयो। तर असाध्यै प्यास लागेको छ। पानी खान पाइएन।’ ‘लौ, रोटीको यो दिशातर्पm आऊ न ! कति खान्छौ पानी ? रोटीभित्र तालै ताल, प्रशस्तै।’ पश्चिमतर्पmको मुसाले सुझाव दियो। ‘ताल मात्रै हो र ? यहाँ नदीहरू पनि छन्। यतातर्पm आऊ न ! डुब्दै, पौडँदै, जसरी खाऊ, आनन्दले खाए हुन्छ पानी !’ फेरि पूर्वतर्पmको एउटा मुसा बोल्यो। उता, उत्तर दिशाबाट रोटी खाने मुसाले छाती फुलाउँदै भन्यो– ‘ती त के हुन् र ! यतातर्पm आएर हेर न ! यहाँ त बडेबडेमानका हिमालयहरू नै छन्।’ तिर्खाएका मुसा हिमालतर्पm आयो। ‘आहा, क्या सुन्दर हिमाल !’ चम्किला हिमालहरू देखेर अत्यन्तै लोभियो त्यो मुसा, र दायाँ–बायाँ केही हेर्दै नहेरी एउटा हिमालको फेदमा मुख गाड्यो। यतिञ्जेल अन्य मुसाहरूले ताल र नदीहरूको पानी तनतन पिउँदै गरेको देखियो। त्यसरी पानी पिउँदै गरेको मुसालाई सम्बोधन गर्दै, रोटीको दक्षिणी दिशाको कमान्ड समालेका मुसाले लोभ्यायो– ‘आराम गर्ने भए वा मनोरञ्जनकै आवश्यकता छ भने हाम्रा हरिया फाँटको भूगोलतिर आए पनि छुट छ है !’
रोटीछेउ पुगेर पनि रोटीलाई छुनसम्म पनि नपाएका केही मुसाहरूको मुखबाट टपाटप ¥याल चुहिरहेको थियो। एकैछिनमा, रोटी खाने सबै मुसाहरूका अनुहारमा अघाएको भाव देखियो। बल्ल छेउछाउका मुसाहरूले रोटीको बचेखुचेका भागमा हात लगाउन पाए। अब दृश्य हेर्नलायकको थियो। त्यत्रा मुसाहरूले चाटिसकेर, चुसिसकेर, चपाइसकेर पनि रोटीको आयतन सकिएको थिएन। रोटीको आकार उत्रैै थियो, उस्तै थियो– चेप्टो, चारकुनो नमिलेको।
तर फरक के थियो भने रोटीमा कुनै गुलियोपन बाँकी थिएन, मिठास थिएन। त्यसैले त्यो रोटीप्रतिको आकर्षण पनि घटेको थियो। अलिकति पनि रस बाँकी नरहेको अथवा बाँकी नराखिएको सुक्खा बनिसकेको थियो रोटी। अत्यन्तै सुक्खा। एकै शब्दमा भन्ने हो भने, गुदी नै बाँकी नरहने गरी मुसाहरूले खाइसकेको खोक्रो थियो रोटी। पूरै खोक्रो। र, यतिखेर मभित्र एउटा जाज्वल्यमान प्रश्न उठिरहेको छ– ‘के देश भोकाहरूको रोटी हो ?’