एसएसपीलाई धम्की दिने विप्लव समूहको ललितपुर सेक्रेटरी पक्राउ
ललितपुर : महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेकप्रसाद राईलाई धम्कि दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका ललितपुर जिल्ला सेक्रेटरी सबिता अधिकारी रेग्मी 'विदुषी' पक्राउ परेकी छन् । विदुषीले गत जेठ ३१ गते विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न भन्दै धम्की दिएकी थिइन्।
उनले अनावश्यक खानतलासी गरेको र घरघरैबाट धरपकड गरेर शारीरिक तथा मानसिक यातना दिएकाले यस्ता कार्य तुरुन्त रोक्नुपर्ने बताएकी थिइन्। उनले जनताको सामान्य नागरिक भएर बाच्ने अधिकार हनन गरेको, चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको, स्वतन्त्र हिँडडुल गर्न नदिएको आरोप लगाएकी थिइन्।
उक्त विज्ञप्ति जारी भएको पाँच महिनापछि उनी पक्राउ परेको राईले पुष्टि गरेका छन्। शनिबार बेलुका मङलबजारबाट पक्राउ गरेका छौ' राईले अन्नपूर्णसँग भने, 'कडा निर्देशन जारी भएदेखि निगरानी गरेका थियौँ ।'
गत जेठमा गाभाहलबाट एक व्यक्ति पक्राउ परेका थिए।उनको साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको थियो।राईले उक्त कामलाइ प्रहरीले गरेको ठूलो उपलब्धि मानेको बताएका छन्।
बेला बेलामा भित्ताहरुमा लेख्ने, पम्प्लेट तथा पर्चा छर्दै आएका विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरेको ललितपुर प्रहरीले बिदुसीको बयान लिने तथा अनुसन्धान गर्ने काम निरन्तर गरिरहेको एसएसपी राईले जनाए।
उनको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको छ।उनको साथबाट ल्यापटप, विभिन्न खालका मोबाईल सेट र सीमकार्डहरु प्रहरीले बरामद गरेको छ। महामारीको नाममा भ्रस्टाचार बन्द गर्न, नागरिकलाई निशुल्क स्वास्थ जाँच, उपचारको व्यवस्था गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाले शनिबार कोणसभा गर्ने कार्यक्रम रहेको थियो।