कोरोना कहर : आलोपालो सेवा

कोरोना कहर : आलोपालो सेवा

नुवाकोट : नुवाकोटमा कोरोना संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेका कारण जिल्ला प्रशासनले सेवा प्रवाहमा परिवर्तन गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई आलोपालो प्रणालीबाट प्रवाह गर्न सुरु गरिएको छ।

प्रशासन कार्यालयमा हुने सेवाग्राहीको भीडलाई समेत मध्यनजर गरी स्थानीय तहका सेवाग्राहीहरूलाई आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्न लागिएको हो। प्रशासन कार्यालयबाट नै कर्मचारी र सेवाग्राहीमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भएकोले दुई नपा र १० गापासहित १२ स्थानीय तहमध्ये एक स्थानीय तहका सेवाग्राहीलाई हप्तामा दुई दिन सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। 

प्रशासन कार्यालयका अनुसार यही शुक्रबारदेखि अर्को सूचना नभएसम्मको लागि आइतबार र बुधबार विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिनेछ। यस्तै सोमबार र बिहीबार बेलकोटगढी नगरपालिका, तार्केश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। उनका अनुसार मंगलबार र शुक्रबार पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह गरिनेछ। 

साथै स्थानीय तह र वडा कार्यालयबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका नागरिकले छुट्टै निवेदन लेख्नुपर्ने छैन भने प्रशासन कार्यालयमा पेस गर्नुपर्ने कागजातको फोटोकपीसमेत निःशुल्क गर्न पाइने ढकालको भनाइ छ। 

प्रशासनमार्फत प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीय तहका सेवाग्राहीले पाउने भएका छन्। एक दिनमा चार स्थानीय तहको मात्र काम हुने र त्यसको लागि जिल्लामा रहेका १२ स्थानीय तहलाई तीन समूह बनाइएको छ। एक सातामा एक स्थानीय तहको दुईदिन मात्र सेवा उपलब्ध गराउने प्रशासनको सूचनामा उल्लेख गरिएको छ।

सामाजिक दूरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीय तहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको जनाइएको छ। सार्वजनिक तालिका अनिश्चित समयको लागि कायम हुने उल्लेख गरिएको छ। संक्रमित बढ्दै गएका कारण नुवाकोटमा उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.