ढाका बुनाइमा राम्रो आम्दानी
भोजपुर : पूर्वीअरुण गाउँपालिका–४, चरम्बीका ६४ वर्षीया रानीमाया राईले कोकटीको कपडा बुनेकै ४५ वर्ष भयो। वृद्ध उमेरमा पनि सीप, जाँगर र उत्साहले उनी अझै पनि तन्नेरीभन्दा कम देखिन्नन्। आदिवासी जनजातिको मौलिक पहिचान जोडिएको कोकटीबाट बनेका कपडा बुनेरै मासिक १८ देखि ३० हजार रुपैयाँसम्म कमाइ गर्छिन् उनी। बिहान सबेरैदेखि साँझ अबेरसम्म कोकटी बुन्ने तानमै व्यस्त रहने रानीमायालाई व्यापारभन्दा संस्कृति जगेर्ना गर्ने मोह बढी छ।
वर्षौंदेखिको रानीमायाको सीप देखेर छरछिमेकलाई पनि आश्चर्य लाग्छ। रानीमायाले भनिन्, ‘उहिले घरघरमै कोकटीको कपडा बुनिन्थ्यो, पेसाप्रति धेरै गर्व पनि लाग्छ तर अहिले अनेक फेसन आएपछि गाउँमा कोकटी बुन्न छाडे। मलाई व्यापारभन्दा संस्कार जोगाइराख्नुपर्छ भन्ने लागेकाले आफ्नो पेसा छाडिनँ।’
तर आधुनिकतासँगै बाह्य संस्कृतिका पहिरनमा रुचि र प्रयोग बढेपछि दिनानुदिन नेपाली कपडा बुन्ने घरेलु उद्योग संकटमा परेका छन्। बजार पनि एकाएक खस्कियो। उद्योग धमाधम बन्द हुन थाले। बजारीकरण र कच्चा पदार्थ अभावमा जातीय पहिचानसँग जोडिएको ढाका, राडीपाखीलगायत नेपाली कपडा उद्योग संकटमा परेका छन्। तिनै नेपाली भेषभूषा र संस्कृतिको संरक्षण गर्दै भोजपुरका ग्रामीण महिला भने ढाका बुनाइमा आकर्षित हुन थालेका छन्। पछिल्लो समय लोपोन्मुख अल्लोबाट बुनिने ढाका बुनाइमा महिलाको आकर्षण बढ्दै गएको छ। व्यावसायिक ढाका बुनाइबाट मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी पौवादुङ्मा गाउँपालिका–६, ठूलोदुम्माकी सुजता राई पनि उचित बजारीकरण र कच्चा पदार्थको सहजता भए घरमै बसेर मनग्गे आम्दानी गर्न सकिने बताउँछिन्।
लोपोन्मुख कोकटी, अल्लोको कपडा बुन्ने व्यवसायको संरक्षण र प्रवद्र्धनमा महिला लागिपरेका छन्। विशेषगरी आदिवासी जनजातिको पहिचान बोकेको कोकटी, अल्लो व्यवसाय संकटमा परेपछि पहिचान उजागर गर्नकै लागि पौवादुङ्मा गाउँपालिकाले महिलालाई तालिम दिँदै आएको छ। महिलालाई ढाका बुन्ने काममा उत्प्रेरित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।
अल्लोको रेसा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ। तर धेरै श्रम लगाएर तयार गरिएका ती सामान बिक्री गर्न बजार नजिक नहुँदा पनि समस्या भएको साल्पासिलिछो गाउँपालिका–५ दोभानेकी जलवती राईले बताइन्।