यसपालि खल्लो तिहार
जनकपुरधाम : महोत्तरीको मनरासिसवा नगरपालिका —१० का बुधन झा ६ महिनादेखि गाउँमै बेरोजगार बसेका छन्। भारतको गुजरातमा मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका बुधनको जागिर कोरोनाले खोस्यो। महामारी तीव्र गतिमा फैलिन थालेपछि गाउँ फर्किएका उनी न फेरि गुजरात जान सकेका छन् न त उनलाई गाउँमै कुनै काम छ।
बेरोजगारी र आर्थिक अभावले उनको यसपालिको तिहार निकै खल्लो हुने भएको छ। ‘परिवारलाई के खुवाउने कसरी बाँच्ने भन्ने उपाय छैन’ बुधनले भने, ‘यस वर्षको चाडबाड, खुसी, उमंग सबै यस रोगले नै खायो।’ बुधनजस्तै विदेशमा कमाएर परिवार पाल्दै आएका थिए जनकपुरका विजय मण्डल। भारतकै सुरतमा एउटा होटलमा भान्सेको काम गरेर नेपालमा आमाबुवासहित चार जना भाइबहिनीको खर्च चलाइरहेका मण्डल पनि कोरोना महामारीका बेला घर फर्किएपछि फेरि काममा जान सकेका छैनन्।
‘काम गर्दै आएको होटलमा अर्कै कुक राखेछन्,’ मण्डलले भने, ‘म फेरि आऊँ भनेर सोध्दा पर्दैन यहाँ काम छैन भन्छन् अब यता केही नयाँ काम गरुँ भन्दा पाइराखेको छैन।’ काम अभावमा चिन्ता र आर्थिक कष्टमै यसपालिको तिहार बित्ने उनी बताउँछन्।
कोरोना कालमा खोसिएको रोजगारी र स्वदेशमा आयआर्जनको कुनै विकल्प नभेट्दा गाउँघरमा अति विपन्नता छाएको छ। यस्तोमा यस वर्षको पर्व त्योहार पनि खल्लो भएको हो।
‘गोजीमा पैसा भयो भने न दीपावली र तिहार मनाउने यहाँ त भात खाने उपाय छैन तिहार र छठ कसरी मनाउने, अर्को चिन्ता छ,’ मजदुरी गर्दै आएका शिवचन्द्र साहले भने, ‘यो रोग होइन हामी गरिबलाई सखाप पार्ने व्यवस्था हो।’ सर्वसाधारणमा आर्थिक अभावकै कारण बजारमा पनि चहलपहल निकै कम रहेको जनकपुरका व्यापारी सञ्जीव साह बताउँछन्। ‘बजारमा खासै
सामान पनि छैन, हामीले पुरानै सामान बेच्नुपरेको छ र त्यसमाथि पहिलेजस्तो खरिद गर्न आउने ग्राहक पनि छैनन्’ साहले भने, ‘अन्य वर्षमा दसैंतिहार र छठ नै व्यापारीका लागि मुख्य कमाइ गर्ने अवसर हुन्थ्यो, यो वर्ष त्यो पनि छैन।’
प्रदेश २ का अधिकांश जनशक्ति तेस्रो मुलुक र छिमेकी मुलुक भारतमा रोजगारी गरेर घरपरिवार पाल्दै आएका छन्। तर, कोभिड—१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनुपरेको अवस्था छ। हालसम्म रोजगारी गुमाएर कति जना फर्कनुप¥यो भन्ने तथ्यांक कुनै निकायसँग नरहे पनि गाउँघरमा अधिकांशको घरमा कमाउने जनशक्ति बेकाम्मे भएर बसेका छन्। महामारीबाट जोगिन स्वदेश फर्किएकाहरूलाई आफ्नै जन्मथलोमा कसरी स्वरोजगार बनाउने वा रोजगारी दिने भन्ने विषयमा तीनै तहका सरकारले ठोस योजना ल्याउनुपर्ने अर्थविद् सुरेन्द्रलाभ बताउँछन्।