धनतेरसमा सुनचाँदीको व्यापार

धनतेरसमा सुनचाँदीको व्यापार

काठमाडौं : यमपञ्चक अर्थात् तिहार जसलाई दिदीभाइको सम्बन्ध दर्शाउने र धनलाभको चाडको रूपमा पनि लिइन्छ। तिहारको पहिलो दिन काग तिहारमा नयाँ सामान जोड्ने दिन अर्थात् धनतेरस (धन त्रयोदशी) को नामले पनि पछिल्लो समय परिचित हुँदै छ।  

भारतीय संस्कृतिको रूपमा रहेको धनतेरस र सुनचाँदीको किनमेल अहिले नेपाली समुदायमा पनि संस्कारको रूपमा देख्न सकिन्छ। गाउँघरमा भन्दा पनि सहरी भेगमा नै धनतेरस मनाउने चलन छ। यो समयमा अहिले अधिराज्यभर चाँदी र सुनको खपत बढी हुने गरेको छ। धनतेरसमा सुनको भन्दा चाँदीका सामानको व्यापार बढी हुने गरेको नेपाल सुन चाँदी महासंघ नेपालका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन्।

बाँकी समयमा दैनिक करिब पाँच सय केजी चाँदीको बिक्री हुने गरेको छ भने धनतेरसको एकहप्ता अघिको समयदेखि करिब तीन हजार केजीसम्म चाँदीको कारोबार हुने गरेको तथ्यांक महासंघको छ। तर, यो वर्षको धनतेरसममा सुनचाँदीको कारोबार करिब ६० प्रतिशतले घटेको शाक्यको भनाइ छ। कोरोना भाइरस र सुनको मूल्य उकालो लाग्नु यो व्यवसायको मन्दीको प्रमुख कारण हुन्। अघिल्लो वर्षको तुलनामा कारोबार कम भएको भए पनि कोरोनाको अवधिमा तीज र दसैंमा भन्दा धनतेरसमा सुनचाँदीको बिक्री बढेको व्यवसायीले बताएका छन्। मन्द गतिमा चलिरहेको व्यापारमा केही भए पनि उछाल ल्याएको व्यवसायी बताउँछन्। 

सुनभन्दा चाँदी सस्तो पर्ने र धनतेरसमा चाँदीका सामान घरमा भित्र्याउँदा धनकी देवी लक्ष्मीले बास गर्ने मान्यता रहिआएको छ। यो समयमा विशेषः गरी चाँदीको सिक्का, पूजाका भाडा, ढिक्का चाँदीलगायत बिक्री बढी हुने गर्छ। अर्डरभन्दा पनि पसलमा भएका रेडिमेड सामानको खरिदबिक्री नै बढी हुने गरेको छ। 

‘चाँदीका सामानको बढी बिक्री हुने हो। केही मात्रा सुनका गरगहना पनि बिक्री हुने गर्छ। आफ्नो गोजीअनुसार धनतेरसमा सुनचाँदी भित्र्याउने गरिन्छ’, शाक्य बताउँछन्। धनतेरसमा बिक्री हुने सुनचाँदीमा चाँदीका सामानको हिस्सा ८० प्रतिशत र २० प्रतिशत सुनका सामान बिक्री हुने गरेको महासंघले जानकारी दिएको छ। 

कोरोना महामारीबीच हामीले तिहार मनाउँदै छौं। प्रायः नेपालीको आम्दानीको स्रोत खुम्चिएको अवस्थामा महँगो सुन चाँदी जोड्ने हैसियत नहुन सक्छ। चाहेर पनि धनतेरसमा पुराना भाडा नै चम्काउनुपर्ने बाध्यता रहेको मूलपानी निवासी गृहिणी लक्ष्मी कार्की बताउँछिन्। धेरै वर्षदेखि धनतेरसमा केही न केही पूजाका वर्तन जोड्दै आएको भए पनि यो वर्ष उनको परिवारले नयाँ सामान नकिनिकन नै तिहार सुरु गर्ने भएका छन्। ‘चाँदीको सिक्कासम्म किन्न त सकिन्छ तर यो वर्ष महामारी छ पुरानोमा नै चित्त बुझाउनुपर्‍यो’, कार्की भन्छिन्। 

उनीजस्ता अधिकांश गृहिणी र परिवार नयाँ सामान नजोड्ने मनस्थितिमा छन्। एउटै कारण हो, क्रयशक्तिमा कमी। उपभोक्ताको क्रयशक्तिमा नै कमी भएपछि अति आवश्यकबाहेक सुनचाँदीका सामान किन्ने उनीहरूको प्राथमिकता पर्दैन, त्यसको सीधा असर हाम्रो व्यवसायमा परेको छ भनी काठमाडौं न्युरोडमा रहेको पञ्चकन्या ज्वेलर्सका सञ्चालक सुजन श्रेष्ठ बताउँछन्। अघिल्लो वर्षको तुलना गर्ने नमिल्ने उनको धारणा छ। 

अघिल्ला वर्षमा धनतेरसको दिनमा १० देखि १५ लाख रुपैयाँसम्मका सामान बेचेको अनुभव रहेकोमा यो वर्ष आधा पनि कारोबार नभएको बताउँछन्। ‘पहिलाको जस्तो हो भने आज कहाँ तपाईंसँग फोनमा कुरा गर्न भ्याउँथे र ग्राहक घुइँचो हुन्थ्यो। अहिले फाट्टफुट्ट मात्रै ग्राहक आएका छन्’, श्रेष्ठ सुनाउँछन्।

पहिलाको तुलनामा धेरै नै व्यापार घटेको काठमाडौं विशालबजार जयमाता दी ज्वेलर्सकी कर्मचारी बताउँछिन्। नाम बताउन नमानेकी उनले सात वर्षदेखि उक्त पसलमा काम गर्दै 
आएकी बताउँछिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.