नयाँ कीर्तिमानी पछ्याउँदै नेप्से

नयाँ कीर्तिमानी पछ्याउँदै नेप्से

काठमाडौं : सेयर बजार सूचक कात्तिक महिनाकै रफ्तारमा बढ्ने हो भने अबको १६ कारोबार दिनपछि अर्थात् २४ मंसिरसम्ममा नेप्सेले नयाँ कीर्तिमानी चुम्नेछ। यद्यपि, त्यसो नहुन सक्छ। तर कात्तिक २ गते १५५७ अंकमा बन्द भएको बजार बिहीबारसम्म जम्मा १५ दिन कारोबार खुल्दा १६१ अंक बढ्यो। 

यसरी तिहारअघि १७१८ अंकमा बजार बन्द हुँदासम्म नेप्सेले दैनिक औसत १०.७३ अंकको ‘आकर्षक’ वृद्धि हासिल गरेको छ। अब नेप्सेलाई हालसम्मकै कीर्तिमानी उचाइ भेट्न १६३ अंक बढ्नु आवश्यक हुन्छ। जुन विद्यमान गतिअनुसार १६ दिन पूरा नहुँदै हासिल हुन सक्छ। 

पछिल्लो समय कोरोना महामारीले सर्वसाधारणसँग भएको सम्पत्ति सीमित धनी व्यापारीको हातमा एकत्रित हुँदै गएको अर्थशास्त्रीले बताउँदै आएका छन्। गरिबले बचत सिध्याउने र धनीले सम्पत्तिको जगेडा बढाउने प्रवृत्ति बढ्दै गएको भन्ने कतिपय अर्थशास्त्रीको धारणालाई सेयर बजारसँग पनि जोडेर हेरिएको छ। 

एक ब्रोकर भन्छन्, ‘ठूला लगानीकर्ताले धमाधम माग बढाएपछि नवप्रवेशी र साना लगानीकर्ताले पनि बजारमा आफ्नो उपस्थिति बढाएका छन्।’ उनका अनुसार अहिले पनि केही व्यावसायिक समूहले सीमित कम्पनीको सेयरमा ‘कर्नरिङ’ गर्ने र अरूले स्वाभाविक माग बढाउने दुवै परिपाटीले काम गरेको छ। लगानीकर्ता भने बैंकमा पर्याप्त अधिक तरलता, घट्दो ब्याजदर र वैकल्पिक लगानीको अभावका कारण सेयर बजार उकासिएको बताउँछन्। 

कोरोना महामारी सुरु हुनुअघि विदेशी विनिमय सञ्चितिमा समस्या झेलेर आयातमाथि नै परिमाणात्मक बन्देज लगाउन थालेको सरकारले अहिले धमाधम पुराना प्रतिबन्ध फुकुवा गर्न थालेको छ। नेपाल राष्ट्र बैंकले १५ महिनाभन्दा लामो समयका लागि आयात धान्न पुग्ने विदेशी विनिमय थुप्रिएको प्रतिवेदन प्रकाशित गरेको छ। बैंकमा अधिक तरलता चुलिएको छ। ८ प्रतिशतभन्दा कम ब्याजमा सेयर धितो कर्जा दिन बैंकले ग्राहक खोजिरहेका छन्। यस्तो अवस्थाले सेयर बजारमा लगानी बढाउन सघाउ पुगेको सेयर लगानीकर्ता लोचन कोइराला बताउँछन्। 

महामारी वा नाकाबन्दी र भूकम्पमा पनि नेपालमा सेयर बजार उकालो लाग्ने गरेको छ। यस्तो बेला उत्पादनमूलक र व्यापारिक क्षेत्रमा समेत लगानी बढाउन समस्या हुने भएकाले सेयर बजार धेरैको आँखामा पर्छ। पुँजीबजारमा मूल्यान्तरबाट हुने पुँजीगत लाभको आशमा यस बजारमा लगानीकर्ता झुम्मिन्छन्। अहिले पनि त्यही भएको विश्लेषक बताउँछन्। 

अहिलेकै अवस्थामा नेप्से कतिसम्म बढ्ला भन्ने अनुमान लगाउन कठिन छ। विगतको तथ्यांक विश्लेषण अहिलेको परिस्थितिसँग तालमेलमा छैन। यसअघि २०६५ भदौ १५ मा ११७५ अंकबाट ओरालो लागेपछि १ असार २०६८ मा २९२ अंकमा झरेको थियो। यसरी ३४ महिनामा ८८३ अंक (७५.१५ प्रतिशत) घटेको नेप्से ६१ महिनामा १५८९ अंक बढेर १२ साउन २०७३ मा १८८१.४५ अंकमा पुगेको थियो। यो नै नेपाली सेयर बजारमा हालसम्मको सर्वोच्च उचाइ हो। 
त्यसपछि ३१ महिनाको ओरालो यात्रा छिचोलेको सेयर बजार सूचकांक १९ फागुन २०७५ मा ११००.५८ अंकमा झरेको थियो। यसपटक नेप्सेले ४१.५२ प्रतिशत (७८१ अंक)को साँघुरो बियरिसमै चित्त बुझायो। त्यसपछि भने नेप्से उकालो लागेर अहिलेको वृद्धिको बाटोमा छ। पछिल्ला २० महिनामा नेप्सेले ६१८ अंक (५६ प्रतिशत) बढेको छ। 

पछिल्ला दुई कीर्तिमानी बिन्दुबीच ६० प्रतिशत (७०६ अंक) को दूरी छ। यो अनुपातमा बढोत्तरी हुने हो भने त नेप्से हालको बुलरन सकिँदासम्म ३ हजार अंक पार हुनुपर्छ। जुन अहिलेका लागि अनुमानभन्दा बाहिरको कुरा हो। तथापि, सेयर बजार विश्लेषक यो बढ्दो प्रवृत्तिले कम्तीमा यसअघिका सबै कीर्तिमानी उचाइ तोड्नेमा भने आशावादी रहेको बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.