तुलसीपुर मालपोतका कर्मचारी घुससहित पक्राउ
दाङ : मालपोत कार्यालय तुलसीपुर, दाङका दुई कर्मचारी तीन लाख २० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले पक्राउ गरेको हो।
मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालय र नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले घुस सहित पक्राउ गरेको हो।
उनीहरुलाई तीन लाख बीस हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।
ऐलानी जग्गा नापजाँच गरी पुर्जा उपलब्ध गराउने बहानामा सेवाग्राहीसँग पैसा लिदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले बताए।
उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।