ट्रम्पले नदोहोर्‍याएको इतिहास

ट्रम्पले नदोहोर्‍याएको इतिहास

अदालती बाटोले निर्वाचन परिणाम उल्टिने सम्भावना ज्यादै कम छ


सन् १९८० को राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा अमेरिका आन्तरिक र बाह्य चुनौतीको दोहोरो दबाबमा थियो। ६० र ७० को दशकमा भएका नागरिक अधिकार आन्दोलन, नारीवादी आन्दोलन, यौन स्वतन्त्रताको आन्दोलन, गर्भपतनसम्बन्धी कानुनविरुद्धको आन्दोलन तथा युद्धविरोधी आन्दोलन आदिको प्रभावले अमेरिकी समाज लिवरल र कन्जरभेटिभ खेमामा विभक्त थियो। अर्कोतर्फ महाशक्तिका रूपमा उदाउँदो सोभियत युनियनसँगको शीतयुद्ध, बहु विवादास्पद भियतनाम युद्ध र इरान क्राइसिस। आन्तरिक र बाह्य चुनौतीको सामना गरी अन्तर्राष्ट्रिय जगत्मा अमेरिकी साख जोगाउन सक्ने निडर र साहसी नेताको खोजी भइरहेको बेला रोनाल्ड रेगन विकल्पका रूपमा उदाए।

दुई कार्यकाल क्यालिफोर्निया राज्यको गर्भनर भइसकेका रोनाल्ड रेगन राजनीतिक नेताका रूपमा भन्दा पनि हलिउड अभिनेताका रूपमा बढी चिनिन्थे। वासिङ्टन संस्थापनलाई चुनौती दिँदै ‘लेट्स मेक अमेरिका ग्रेट अगेन’ को नारा लिएर रेगन रिपब्लिकन पार्टीको उम्मेदवारका रूपमा निर्वाचनको मैदानमा उत्रिए। पदासीन राष्ट्रपति जिम्मी कार्टरलाई हराउँदै कुल ५३८ इलोक्टोरल कलेजमध्ये ४९८ मा विजय हासिल गरी ४० औं राष्ट्रपति वने। रेगनले पहिलो कार्यकालमा  महँगी नियन्त्रण, सरकारी खर्चमा कटौती, कर कटौती, आर्थिक विकासमा बढोत्तरी, बेरोजगारमा कमी र सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश नियुक्ति गरेर जनताको मन जित्ने कोशिस गरे। ‘पिस थ्रु स्ट्रेन्थ’ को रणनीति अपनाएर सैन्य क्षमताको मजबुतीकरण गरे। सोभियत युनियनलाई ‘इभिल इम्पायर’ को संज्ञा दिँदै एसिया, अफ्रिका र दक्षिण अमेरिकामा कम्युनिस्टविरोधी अभियानमा सहयोग गरे। १९८४ को निर्वाचनमा रेगनले ५० मध्ये ४९ राज्यमा जित हासिल गरी दोस्रो कार्यकालका लागि निर्वाचित भए।

पहिलो कार्यकालमा सोभियत युनियनविरुद्ध कडा नीति अपनाएका रेगनले दोस्रो कार्यकालमा कूटनीतिक सम्बन्धलाई अघि बढाए। सोभियत युनियनका कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव मिखाएल गर्भाचोभसँग सम्बन्ध सुधार गरी १९८७ मा दुई देशबीच मध्यम दूरीका आणविक हतियार नियन्त्रण सन्धिमा सम्झौता गरे। त्यसै वर्ष १२ जुन १९८७ मा बर्लिनको पर्खालअगाडि आयोजित एक सभालाई सम्बोधन गर्दै ‘मिस्टर गर्भाचोभ सोभियत युनियन र पूर्वी युरोपको शान्ति र समृद्धि चाहनुहुन्छ भने यो पर्खाल खोल्नुस् र यो पर्खाल भत्काउनुस्’ भनी गर्भाचोभलाई चुनौती दिएका थिए। उनको सम्बोधनको दुई वर्ष पाँच महिनामा गर्भाचोभले पर्खाल भत्काउने आदेश दिए, बर्लिनको पर्खाल ढलेसँगै शीतयुद्धको अन्त्य भयो। जसको प्रमुख श्रेय रोनाल्ड रेगनलाई दिइन्छ।

रेगन उदयको छत्तीस वर्षपछि रियल स्टेट व्यवसायी तथा टिभी कार्यक्रमका प्रस्तोताका रूपमा परिचित अर्बपति डोनाल्ड जे ट्रम्पले अप्रत्यासित रूपमा ‘मेक अमेरिका ग्रेट अगेन’ नाराका साथ राष्ट्रपतिमा उठ्ने घोषणा गरे। कतिलाई लाग्यो उनले ठट्टा गर्दैछन्। तर उनले रिपब्लिकन पार्टीका एकसे एक हस्तिहरूलाई पछि पार्दै पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी पक्का गरे। मूलधारका मिडियाले ट्रम्पले जित्ने कुराको कल्पनासमेत गरेका थिएनन्। सबै सर्वेक्षण मत हिलारीकै पक्षमा थियो। तर सबैको अनुमानलाई खारेज गर्दै ३०६ इलोक्टोरल मत प्राप्त गरी ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बने।

वासिङ्टन संस्थापनले उपेक्षा गर्दै आएका सवअर्व भनेर चिनिने भित्री सहरका बासिन्दा, कलेज नगएका कम शिक्षित युवा श्रमिक वर्ग र परम्परागत इभान्जलिकल क्रिश्चियनहरूले ट्रम्पलाई समर्थन गरे। ट्रम्पले मतदातासँग प्रतिबद्धता जनाएअनुसार अमेरिकालाई ऊर्जामा आत्मनिर्भर बनाए, कर कटौती र रोजगार ऐन पास गरे, जसका कारण कोभिडपूर्व अर्थतन्त्र बलियो थियो र बेरोजगारीमा ऐतिहासिक कमी आएको थियो, सर्वोच्च अदालतलगायतका देशभरका संघीय अदालतमा व्यापक संख्यामा कन्जरभेटिभ न्यायाधीशको नियुक्ति गरे, सुरक्षा खर्चमा व्यापक वृद्धि गरी सेनाको थप शाखा स्पेस फोर्स निर्माण गरे।

परराष्ट्र मामलामा ट्रम्पले रेगन डक्ट्रिनकै  पिस थु्र स्ट्रेन्थको रणनीति अपनाए। उत्तर कोरिया अमेरिकाका लागि सबैभन्दा चुनौतीपूर्ण रहेको सल्लाह पूर्व राष्ट्रपति बाराक ओबामाले सुझाएपछि ट्रम्पले उत्तर कोरियालाई पहिलो प्राथमिकता दिए। प्रारम्भमा निकै कडा रूपमा प्रस्तुत भएका ट्रम्पले विस्तारै कूटनीतिक वार्ताको बाटो अपनाए। उनले उत्तर कोरियाली भूमिमा पाइला टेक्ने हिम्मतमात्र गरेनन् वासिङ्टन संस्थापनले नाम लिन पनि नचाहने किम जोङ उनसँग तीन चरणसम्म स्वयंले वार्ता गरे। वार्ता सफल नभए पनि उत्तर कोरियासँगको सम्बन्धमा केही स्थिरता आयो। चीनसँगको सम्बन्धमा सुरुवातमा राम्रो हुने संकेत देखिए पनि पछिल्लो समय न्यून विन्दुमा झर्‍यो। दुइ वर्षसम्मको व्यापार युद्धको अन्त्य नहँुदै आरोप–प्रत्यारोपको कोरोना युद्ध सुरु भयो र हालसम्म जारी छ। ट्रम्प प्रशासनले मजबुत गर्दै लगेको चीनलक्षित इण्डो प्यासिफिक रणनीतिले अघोषित रूपमा शीतयुद्ध–२ को प्रारम्भ भएको मानिन्छ।

मध्यपूर्वमा ट्रम्प प्रशासनले लिएको रणनीतिले आंशिक सफलता हासिल गरेको मान्नुपर्छ। आईसीसको पराजय, इजरायलसँग संयुक्त अरव इमरेट्स, वहराइन र सुडानले गरेको शान्ति सम्झौता अमेरिकाले प्राप्त गरेको कूटनीतिक सफलता हो। इरानलाई दबाबमा राख्न साउदी अरवका पक्षमा अन्य इस्लामिक राष्ट्रहरूलाई  गोलवद्ध बनाउने पहलमा पनि केही सफलता हासिल गर्‍यो। २०१७ मा सिरियाका राष्ट्रपति वसार अल असाद सरकारविरुद्ध प्रिअम्टिभ आक्रमण गरे पनि ट्रम्पले अघिल्ला राष्ट्रपतिहरूले झैं नयाँ युद्धको थालनी गरेनन्। इरानी रिभोलुस्नरी गार्ड क्रप्सका प्रमुख कसिम सुलेमानीको हत्या पश्चात इरान र अमेरिकाबीचको युद्धको खतरा देखिए पनि पछि टरेर गयो।

‘अमेरिका फेरि महान् बनाउँ’ भन्ने रेगनको नारा र पिस थु्र स्ट्रन्थको रेगनियन डक्ट्रिन लिएर राष्ट्रपति बनेका ट्रम्पले दोस्रो कार्यकालका लागि रेगनको सफलता भने दोहोर्‍याउन सकेनन्।

रेगन महान् सञ्चारकर्ता तथा कुशल वक्ताका रूपमा चिनिन्छन्। ट्रम्पको सबैभन्दा ठूलो कमजोरी असावधानीपूर्ण ढंगले व्यक्त गर्ने अभिव्यक्ति बने। सामाजिक सञ्जालमा होस् या सार्वजनिक कार्यक्रममा उनले व्यक्त गर्ने कतिपय अभिव्यक्ति, विभाजनकारी, विभेदकारी, घृणा र उत्तेजना बढाउन मद्दत पुग्ने खालका भए। मूलधारका सञ्चारमाध्यमसँगको कटाक्षले ती सञ्चारमाध्यमले ट्रम्पको नकरात्मक कुरा मात्र प्रचार गरे र बाँकी विश्वले ती सञ्चारमाध्यमले प्रस्तुत गरेको नकारात्मक छविको ट्रम्पलाई मात्र चिने।
ट्रम्पको हायर एण्ड फायर नीति उनकै लागि प्रत्युत्पादक बन्यो। उनका क्याबिनेटका सदस्य पटक–पटक परिवर्तन भए। जो ह्वाइट हाउसबाट निस्किए उनीहरूले ट्रम्पको विरुद्धमा बोल्न थाले, कतिपयले पुस्तकसम्म प्रकाशन गरे। सेनाको मजबुतीकरण त गरे तर उनले क्याबिनेटमा नियुक्ति गरेका सेनाका पूर्व उच्चपदस्थ अधिकारी जेम्स म्याटिस, एचआर म्याकमास्टर र जोन केली आदिले राष्ट्रपतिसँगको मतभिन्नताका कारण बीचैमा छोडे र जसका कारण सेना तथा आम नागरिकमा राम्रो सन्देश गएन।

अमेरिकी महाशक्तिको आधार मानिने उसको नेतृत्वका गठबन्धनका राष्ट्र ट्रम्प कार्यकालमा निर्धक्क हुन सकेनन्। ट्रम्पले ती राष्ट्रसँगको  सम्बन्धमा भूराजनीतिक र सामरिक पक्षलाई भन्दा पनि आर्थिक र व्यापारिक पक्षलाई प्राथमिकतामा राखे। सामूहिकभन्दा पनि दुई पक्षीय व्यापार सम्झौतामा जोड दिए। युरोपेली राष्ट्रहरूलाई त पिग्गी बैंक लुटेझैं अमेरिकालाई लुटेको आरोपसमेत लगाए। नेटोको सान्दर्भिकतामाथि पनि प्रश्न उठाए। जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता र इरानसँगको आणविक सम्झौताबाट युरोपेली राष्ट्रहरूको सहमतिविना नै अमेरिका अलग्गियो। विश्व स्वास्थ्य संगठनबाट अलग्गिएपछि त झन् परम्परागत अमेरिकी नेतृत्व धरापमा परेको निक्र्योल कतिपय रिपब्लिकन नेताहरूले समेत स्वीकारे। जसको असर निर्वाचनमा पर्न गयो।

जर्ज फ्लोयडको हत्यापछि अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन भए र कतिपय सहरमा प्रदर्शनले हिंसात्मक रूप लियो। र जर्ज फ्लोयडको हत्यापछि ध्रुवीकृत समाजलाई एकताका लागि सम्बोधन गर्न नसक्दाको मूल्य ट्रम्पलाई महँगो परेको कतिपय विश्लेषकको ठम्याइ छ  उनकै क्याबिनेटका पूर्व रक्षामन्त्री जेम्स म्याटिसले समेत राष्ट्रपति ट्रम्पले राष्ट्रलाई एकताबद्ध गर्नुको सट्टा विभाजन गर्न उद्दत रहेको आरोप लगाए। ह्वाइट सुपरमेसिस्ट समूहको गतिविधिलाई भत्र्सना नगरेको प्रति पनि धेरैले ट्रम्पको आलोचना गरे।

डिसेम्बर १४ सम्म निर्वाचनको प्रमाणीकरणसँगै जो वाइडेन औपचारिक बिजेता घोषित भएपछि ट्रम्पसँग हार स्वीकार गर्नुको विकल्प रहने छैन।

कोरोना महामारी ट्रम्प हारको प्रमुख कारण हो। जसले उनले निर्माण गरेको बलियो अर्थतन्त्रलाई तहसनहस बनाइदियो। सुरुमा कोरोना साधारण रुघा खोकी जस्तै हटेर जाने अभिव्यक्ति, डाक्टरहरूको सल्लाहलाई गम्भीर ढंगले नलिने र आफूले पनि मास्क नलाउने र अरूलाई पनि मास्क लगाउन उत्साह नगर्ने उनको हेल्चक्रयाईंले नराम्रो असर गर्‍यो र उनी आफैं कोरोनाको सिकार बने। निर्वाचन हुन ठीक तीन हप्ताअघि उनी कोरोना संक्रमित भए, जतिबेला धमाधम अग्रिम मतदान भइरहेको थियो। कोरोनालाई जितेर फर्किएका ट्रम्पले दिनको पाँचवटासम्म चुनावी सभामा सहभागी भए र हजारौंका संख्यमा समर्थक उनको समर्थनमा उपस्थित भए। यद्यपि निर्वाचन परिणाम उनको पक्षमा आउन सकेन।

ट्रम्पले हालसम्म आफ्नो हारको औपचारिक रूपमा स्वीकार गरेका छैनन्। मिचिगन, पेन्सिलभेनिया, जर्जिया, नभाडा र एरिजोनामा अनियमिता सम्बन्धी मुद्दा दर्ता गरेका छन्। तर उनले लिएको अदालती बाटोले निर्वाचन परिणाम उल्टिने सम्भावना ज्यादै कम छ। डिसेम्बर १४ सम्म सम्पूर्ण राज्यहरूले निर्वाचनको प्रमाणीकरण गरिसकेपछि जो वाइडेन औपचारिक विजेता घोषित भएपछि ट्रम्पसँग हार स्वीकार गर्नुको विकल्प रहने छैन।

२०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको सन्देश ट्रम्प एउटा व्यक्तिका रूपमा अस्वीकृत भएका हुन् तर ट्रम्पवाद अस्वीकृत भएको होइन। उनले अमेरिकी इतिहासमा वाइडेनपछि सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेका छन्, सिनेटमा रिपब्लिकन पार्टीकै पक्कड छ भने तल्लो सदनमा डेमोक्रयाटको झिनो बहुमत छ र रिपब्लिकन पार्टीले साविकको भन्दा दश सिट थपेको छ। ट्रम्प ह्वाइट हाउसबाट बाहिरिए पनि अमेरिकी राजनीतिको रंगमञ्चबाट बाहिरिने छैनन्। अमेरिका र युरोपका दक्षिणपन्थी कन्जरभेटिभ पार्टीमा ट्रम्पवादको जबर्जस्त प्रभाव रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.