स्याबास सपना !
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स ! कति भयानक ! कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा। तर, त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ।
उनी हुन्, १९ वर्षीया सपना रोका मगर। उनी हरेक दिन पशुपति आर्यघाटमा बेवारिस शव जलाउँछिन्। यो काम उनले कुनै चर्चाका लागि गरेकी होइनन्। तर, यही कर्मले उनलाई संसारमै चिनाइदिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपना पनि परेकी छन्।
यो बेला सपना म्याग्दीस्थित घर पुगेकी छन्। काठमाडौंबाट एक जना पत्रकारले झिसमिसेमै फोन गरी यो खबर उनलाई सुनाए। तब उनी निःशब्द भइन्। ‘निरन्तर आँसु मात्रै आयो। केही भन्नै सकिनँ। हामीले गरेको काम देख्ने कोही त रैछ जस्तो लाग्यो’, सपनाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फेसबुक खोलेर हेरें जताततै मेरै समाचार थियो। अत्यन्तै खुसी लाग्यो। म्यासेज, फोन र बधाई त थामिनसक्नु पाइरहेकी रहेछु। नेपालका अग्रज, वरिष्ठ व्यक्तिहरूले पनि मेरो कामलाई बधाई दिँदै हौसला पठाउनु भएको रैछ।’
उनले यो जिम्मवारी र सफलताले अरू कर्म गर्न थप प्रेरणा मिलेको बताइन्। ‘हाम्रो यो कर्मले नेपाललाई नै चिनाउन सफल भयो भन्ने लागेको छ। बुवाआमा सँगै हुनुहुन्छ। तिमी हाम्रो मात्रै छोरी हैन नेपालकी छोरी बन्यौ भनेर खुसी बन्नु भएको छ’, उनले भनिन्।
बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध भएर उनले मानवीय कर्म गरिरहेकी छन्। केन्द्रले हालसम्म तीन सयभन्दा बढी बेवारिसे लास जलाइसकेको छ। आफन्त पहिचान नभएका शवका बारेमा प्रहरी, सरकारी कार्यालय तथा अस्पतालले उनीहरूलाई खबर गर्छन्।
‘बेवारिस मानिसलाई राज्यले हेर्नुपर्ने हो। तर, हाम्रो सरकारले उनीहरूका लागि केही गरेको छैन। मजस्तो राम्रो परिवार र पढ्न सक्ने मानिस त कुनै समय सडकमा पुगेकी थिएँ। सडक सबैको साझा हो’, उनले भनिन्, ‘विभिन्न कारणले भोलि जो पनि सडकमा पुग्न सक्छन्। सडकमा पुग्ने नागरिक नै हैनन् त ? बेवारिसे हो भन्दैमा उनीहरूले इज्जतसाथ जल्न पनि नपाउने ? बाटोघाटोमा कुहिएर मर्नुपर्ने स्थिति कसैको नहोस् भनेर यो कर्ममा लागेकी हुँ।’
महिलाले दिएको दागबत्तीले आफूलाई चिनाएको उनको बुझाइ छ। ‘हुन त छोरी मान्छेले दागबत्ती दिन हँुदैन भन्ने समाज हो हाम्रो। मलामी जान हुन्न भनेर अझै पनि रोकिन्छ’, उनले भनिन्, ‘आज छोरी मान्छेले दिएको दागबत्तीले मलाई चिनायो। यति पवित्र काम छोरीले गर्न किन नहुने भनेर देखाउन पनि केही गर्न जरुरी थियो।’
विनयजंग बस्नेतसँगको भेटले यो कर्म गर्न हौसला दिएको उनको भनाइ छ। सपनाले बस्नेतलाई कर्मका बुवा मानेकी छन्। बस्नेतले ६ वर्षदेखि बेवारिसे शव जलाउँदै आएका छन्। सपनाले करिब एक वर्ष अवधिमा एक सयभन्दा बढी शव जलाएकी छन्।
‘अन्तिम संस्कारको अभावमा मरेका व्यक्तिको भड्किरहेको आत्मालाई शान्ति मिल्छ भन्ने आशामा धार्मिक विधिअनुसार दागबत्ती दिने गरिन्छ। हिन्दू धर्ममा दाहसंस्कार गरेपछि मात्रै मुक्ति मिल्छ भन्ने गरिन्छ’, उनले भनिन्, ‘मरेका मानिसको आत्मालाई मुक्ति दिलाउनका लागि हामीले यो कर्म रोजेका हौ। उनी अगाडि भन्छिन्, बेवारिसे भएर कसैलाई मर्नु नपरोस्।’
०००
एक दिदी र दाइकी प्यारी बहिनी सपना घरकी कान्छी छोरी हुन्। घरमा कुनै कुराको अभाव थिएन। मागेको कुरा पुर्याइदिन्थे परिवारले। गाउँकै महेन्द्ररत्न उच्च माविबाट २०७३ सालमा राम्रै नम्बर ल्याएर एसईई उत्तीर्ण गरिन्। पढाइलाई अगाडि बढाउन बेनी झरेपछि भने उनलाई ‘सहरी वातावरण’ले छोयो। गलत संगतमा परिन्। कलेज छाडेर बुटवलतर्फ हिँडिन्। केही समय सडक बालबालिकाजस्तै सडकसम्मै पुगिन्। निकै हन्डर, दुःख खेपिन्।
उनी बल्लतल्ल सम्हालिएर बुटवलबाट म्याग्दी फर्किइन्। दाजु र दिदी विदेशमा रहेकाले उनी पनि विदेशै जान भनेर काठमाडौं आइन्। त्यहीबेला उनको भेट विनयजंग बस्नेतसँग भयो। जो उनकी साथी सलिनाका बुवा हुन्। बस्नेतसँगको संगतले उनमा सामाजिक सेवाको भावना पलायोे।
पहिलो पटक एक युवतीको शव जलाउँदै गर्दा उनी नराम्ररी झस्किएकी थिइन्। निकै नमज्जा लाग्यो। को थिइन् होला ? के भएर मरिन् होला ? यस्तै अनुत्तरित प्रश्नले उनलाई पिरोलिरह्यो। उनले केही वर्षअघि सडकसम्म पुगेको आफ्नै जिन्दगी सम्झिइन्। भनिन्, ‘धन्न म त्यो अवस्थासम्म पुग्न परेन।’
विनयजंगका अनुसार सपना दृढ आत्मविश्वास भएकी छोरी हो। उसमा काम गर्ने अठोट र लगनशीलता छ। ‘सपनाको यो सफलता साँच्चिकै अदभुत छ मेरा लागि। ऊ आफ्नो बाटो आफैं बनाउन तल्लीन हुन्छे सधैंभरि’, उनले भने, ‘मानवीय कर्ममा तल्लीन सपना रोका तिमी यसरी नै सत्कर्म गर्दै जानु। हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना।’