सालको काठ फुकुवा गर्न फेकोफोनको माग
ताप्लेजुङ : सामुदायिक वनभित्रका सालको रुख कटान तथा बिक्री खुला गर्न सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) ले माग गरेको छ । वन ऐन र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन विपरित सालको काठ रोक्का गर्दा वन व्यवस्थापन गरिरहेका मुलुकभरका २९ लाख घरधुरी प्रभावित भएको भन्दै तत्काल फुकुवा गर्न माग गरेको हो ।
सरकारको २०७७ जेठ १५ को मन्त्रिपरिषद् बैठकले वन क्षेत्रबाट सबै प्रकारका काठ कटान तथा ओसारपसारमा प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको फेकोफोनले विरोध गरेपछि जेठ २८ गते साल बाहेकका काठ खुलाएको थियो ।
तर सालको विषयमा भने हालसम्म पनि कुनै निर्णय नभएपछि ७७ वटै जिल्ला प्रशासन र डिभिजन वन कार्यालय मार्फत् प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाइएको फेकोफोन ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताए । सालको काठ नखुल्दा ताप्लेजुङका मात्रै १ सय २३ सामुदायीक वनका ६० हजार उपभोक्ता मारमा परेको ओझाको भनाइ छ ।
त्यस्तै ज्ञापन पत्रमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खरेज गर्नुपर्ने लगायतका नौ बुँदे माग राखिएको छ । माग पुरा नभए आफूहरु शसक्त आन्दोलनमा उत्रनेसमेत फेकोफोनले चेतावनी दिएको छ ।