घाम प्यारो कि आमाको न्यानो ?

घाम प्यारो कि आमाको न्यानो ?

मंसिर–पुसको यो जाडो मौसममा एउटा प्रश्न खडा भएको छ– ‘घाम प्यारो कि आमाको न्यानो प्यारो ?’ तर सामान्यत: यो प्रश्नको सीधा जवाफभन्दा पनि प्रतिप्रश्न यस्तो हुन सक्छ, यो जाडोमा घामजत्तिको प्यारो के होला र ?

विकल्पमा भन्ने हो भने सिरक हुन सक्ला कि, अथवा हिटर हुन सक्ला कि ? आगो ताप्ने चलन त प्राय: लोप भइसकेको छ। यद्यपि अलिक गहिरिएर हेर्ने हो भने यो कुनै सामान्य प्रश्न नभई एउटा नैतिक प्रश्न लाग्छ। मूलत: राजनीतिक सन्दर्भमा यो प्रश्नलाई सोधिने हो भने जवाफ के होला ? कुन जवाफ सही होला, घाम कि आमाको न्यानो प्यारो ?

आमा भनेको मातृभूमि। मातृभूमिलाई माया नगर्ने को होला ? र, आमाको न्यानोजत्ति प्रिय दुनियाँमा के होला ? जहाँसम्म घामको सन्दर्भ छ, घाम भनेको दूरदेशबाट टुप्लुकिने पाहुना र जो दिनभर उज्यालो छर्छ। उज्यालो मात्रै होइन, न्यानो पनि दिन्छ तर साँझ ढल्किनुसँगै फेरि फर्केर जान्छ। एक अर्थमा, पाहुनाजस्तो घाम अस्थायी खालको खुसी, जो बोकेर ल्याएको उज्यालो र न्यानो फर्केर जाँदा आफ्नो साथमै लिएर जान्छ। सन्दर्भ जोडौं मित्रराष्ट्रबाट आएका पाहुनाहरूको। निकै ठूलो हंगामा नै भएको थियो, जब पाहुना बनेर केही समयअघि भारतीय रअ प्रमुख आएका थिए। त्यसबेला पाहुना–आगमनको स्वभावविपरीत कतिपयलाई चिसोपनको आभास भएको थियो। किनकि उनको आगमनको प्रयोजनप्रति नै आशंका थियो। प्रश्न गरियो पनि– एउटा गुप्तचर संस्थाका पदीय व्यक्ति, जो जुनसुकै उच्च ओहोदाकै किन नहोऊन्, तिनले बडो रबाफका साथ आएर देशका प्रधानमन्त्रीलाई सीधै भेट्न पुग्नुको अर्थ के हुन सक्छ ? यही शंकाको प्रश्न भारतीय सेनाप्रमुखको आगमनमा पनि गरिएको थियो। तर बडो सहजताका साथ जवाफ फर्काइयो– आतिथ्यको स्वाभाविक प्रक्रिया हो यो। मानौं, देशका प्रमुखको कर्तव्य र अझ बढी अधिकार नै पो हो कि त्यो ! पाहुना भनिसकेपछि जसलाई पनि, जुनसुकै स्थितिमा पनि भेट्न सकिन्छ, भेट्न मिल्छ। त्यसलाई कुनै नियम–कानुनले छेकबार लगाउन मिल्दैन, लगाउन सकिन्न। त्यसो त, सोचनीय कुरो भने पक्कै छ, अतिथि भन्दैमा सबै राम्रो नियतले पाहुना लाग्न सक्छन् भन्नेमा ठोकुवा गर्न सकिन्न।

भारतीय पाहुनाहरू आउँदा सम्बन्धितलाई केही तातो स्पर्श भयो होला। एक हिसाबले रामरमितै भएको हुन सक्छ। ठीक यहींनिर आमाको न्यानोको सन्दर्भ उठाउन सकिन्छ। आमाले दिने न्यानोमा पक्कै पनि कुनै स्वार्थ लुकेको हुन्न। तर पाहुनाले दिने क्षणिक कुनै किसिमको कोसेलीजनक प्रेममा कुनै पनि भित्री स्वार्थ लुकेको हुन सक्छ। माया गरेको बहानामा काखमा राखेर रेटिदिन सक्छन्। के, यस्तो प्रकारको सम्भावनाप्रति सावधान हुनु पर्दैन ?

आगामी दिनमा मित्रराष्ट्र चीनका रक्षामन्त्री र भारतबाट विदेश सचिवको समेत आतिथ्य गर्नुपर्ने निधो भइसकेको छ। आउने पाहुनाहरूको उद्देश्य के हो, आतिथ्य प्रदान गर्ने पक्षको उद्देश्य के हो ? औपचारिक कुनै घोषणा गरिएको छैन। यसैबीच, नेकपाभित्रको अन्तरसंघर्षको ठूलो विवादित यो समयमा चिनियाँ राजदूतको दौडधूपको चर्चाले राजनीतिक वृत्तमा मात्रै होइन, राजनीतिमा चाख राख्ने सम्पूर्णमा नयाँ तरंग पैदा गरेको छ। ख्याल गर्नुपर्ने कुरो यही हो– राजदूत सामान्यत: केही बढी समयका पाहुना हुन्। अब जोडौं यिनै पाहुना र नेकपासँगको सन्दर्भ।

एउटा नयाँ अन्तर्वार्तामा चिन्तक प्रदीप गिरिले भनेका छन्– कुकुरको एउटा प्रवृत्ति हुन्छ– मासु लुछिसकेर बाँकी रहेको हड्डी पनि नछाड्ने। त्यतिञ्जेल त्यसले त्यो हड्डी दारिरहन्छ जबसम्म चुरचुर हुँदैन हड्डी। जबकि हड्डी धुलो भइसक्दा कुकुरको आफ्नै दाँतबाट रगत बगिसकेको हुन्छ। विडम्बना त के हो भने, त्यसरी रगत बग्दा पनि कुकुर आत्मगौरवले बोलिरहेको हुन्छ कि मैले हड्डी धुलो पारें। अर्को अर्थ नलागेमा, चिन्तक गिरिकै भाषामा भन्नुपर्दा– अहिले नेकपाभित्रको स्थिति ठीक त्यस्तै छ। जबकि नेकपाका नेताहरूकै भनाइलाई उद्धरण गर्ने हो भने पनि कति नागरिकको जीवन आहुति दिएर निर्माण गरिएको पार्टी हो त्यो र पछिल्लो चरणमा त साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर सिद्धान्तत: दुई ध्रुवका पार्टीले केवल नाममा ‘कम्युनिस्ट’ को विशेषण जोडिएकै आधारमा चुनावको मौका पारेर एकताको घोषणा गरे।

यो अलग कुरो कि त्यतिबेला जुन स्वार्थले एक भएको भए पनि अर्को चुनाव आइपुग्दा नपुग्दै फेरि यतिखेर सिंगो नेकपा फुटको सँघारमा आइपुगेको दृष्टिगोचर हुन्छ। तर गजब के छ भने सम्भावित पार्टी फुटको कारकतत्व बनेका नेताहरू आफ्नो ‘अहं’ लाई सर्वोपरि मानिरहेछन्। त्यो अहंलाई नै बहादुरीको द्योतक ठानिरहेछन्। सायद तिनलाई थाहा छ र पनि थाहा थाहा नपाएजस्तो गरिरहेछन्। आफ्नै कारणले गिजोल्ल्दा–गिजोल्दा पार्टी रगतपच्छे भइसक्यो, तर पनि हल्का रूपले भनिरहेछन्– राजनीतिक पार्टीमा यस्तो भइरहनु सामान्य हो। दृश्य सबैसामु स्पष्ट छ– गिजोलेर रगतपच्छे पार्ने आफ्ना दाँतलाई नेताहरूले सबैभन्दा ठूलो हतियार मानेका छन्, आपूmअनुकूलको सहजीकरण गर्ने हतियार। तर तिनलाई के थाहा कि त्यही हतियार हो, जो आफ्नो पौरख देखाउँदै छ त्यो भित्रभित्रै मक्किसकेको छ। माथि उल्लेख गरे भैmं अनुचित शब्दार्थका रूपमा नलिईकन भन्नुपर्दा– हड्डी दारेर धुलो पारिसक्दा त्यहाँ देखिएको रगत आफ्नै दाँतबाट निस्किएको हो। यो थाहा पाएर पनि त्यो रगतमा बहादुरीको अभिमान व्यक्त गरिहेछन् ती।

समष्टिमा, शीर्षकमा निहितार्थ वाक्य– ‘घाम कि आमाको न्यानो प्यारो’ को लाक्ष्यणिक अर्थ यहाँनिर जोड्न उचित होला। पाहुनाहरू जो एक दिनका हुन् कि लामै समयको होऊन्, अतिथि सत्कार गर्नेले तिनलाई केवल आतिथ्य प्रदान गर्ने हो। घामजस्ता ती पाहुनाको क्षणभंगुरतालाई केही क्षण स्वीकारिदिने हो। वास्तविक असली पाहुना रहेछन् र तातोपना महसुस गराउँछन् भने नकार्नुपर्ने के छ र ? सन्दर्भवश नेकपाभित्रको विवाद कुनै पाहुनाले मिलाउने हैन, घामजस्ता केही क्षणका ती पाहुनाका सल्लाहसम्म लिन सकिएला। मिलाउने त आफैंले हो, तिनले आआफ्नो ‘अहं’ को दाँत तिखार्न छाड्नैपर्छ। नेकपा यही देशको पार्टी हो भने नेताहरूलाई आफ्नो पार्टीको पक्कै माया होला। र तिनलाई नेकपा साँच्चैको जीवित पार्टी हो भन्ने लाग्छ भने तिनलाई यो पनि थाहा हुनुपर्छ कि त्यही पार्टीअन्तर्गत नेताहरू जीवित छन्।

पार्टी तिनका आमा हुन्, कहिल्यै नरित्तिने के आमाको न्यानो कहीं–कसैसँग दाँज्न सकिन्छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.