खण्डहर खरिढुंगा खानी
दोलखा : दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग। यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो। तर, देशको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा छ।
बेलाबेलामा पुनः सञ्चालनमा ल्याउने चर्चा चले पनि २२ वर्षदेखि यो उद्योग सञ्चालनमा आउन सकेको छैन। यो उद्योगले कुनै समय २ हजारभन्दा बढीलाई रोजगारी दिएको थियो। सरकारी उदासीनताका कारण उद्योग सञ्चालनमा नआएपछि अर्बाैं मूल्य बराबरको म्याग्नेसाइट र खरिढुंगा उपयोगविहीन बनेका छन्। उद्योग सञ्चालनमा नआउँदा हजारौंले रोजगारीको अवसर गुमाएका छन् भने उद्योगको करोडांै मूल्य बराबरको संरचना र सामान कवाडीमा परिणत हुँदै गएका छन्।
ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग हुँदाहँुदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो। ०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ड म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान नष्ट गरेपछि अहिले यो उद्योगको भग्नावशेष मात्र बाँकी छ।
सरकारी बेवास्ताकै कारण उद्योग सञ्चालनमा आउन नसकेपछि थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन्। २२ वर्षदेखिका कुनै पनि सरकारको पालामा उद्योग सञ्चालनमा ल्याउन विशेष प्रयत्नसमेत नगरेका कारण उद्योगमा केही सुरक्षा गार्डबाहेक १६ जना कर्मचारी राजधानीमै तलब बुझेर बसेका छन्।
नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहेको यो उद्योग सुरुदेखि नै अप्ठ्यारोमा परेको थियो। भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण उद्योग डुबेर भारतीय पक्षले पुनः सञ्चालनमा ल्याउन नदिएपछि उद्योगको अवस्था जीर्ण बन्दै गएको हो।
उद्योगमा कार्यरत कर्मचारीका लागि अर्थ मन्त्रालयले हरेक वर्ष तलब, भत्ता, पोसाक, इन्धनलगायतमा करिब डेढ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ। तर, साढे १२ प्रतिशतका दरका सेयरधनी खेतान र उडिसा इन्डस्ट्रिजले भने २२ वर्षयता एक रुपैयाँ पनि खर्च गरेको तथ्यांक भेटिँदैन।
दोलखाको लाकुरीडाँडाका स्थानीयसँग २ हजार ५ सय रोपनी जमिन खरिद, सरकारको २ हजार ५ सय रोपनी र सिन्धुपाल्चोकको लामोसाँघुमा ३ सय ५४ रोपनी गरी कुल ५ हजार ३ सय ५४ रोपनी भूभागमा फैलिएको यो ओरियन्ड म्याग्नेसाइट उद्योगमा २ सय ५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरी रहेको अनुमान गरिएको छ।
उद्योगबाट उत्पादित म्याग्नेसियम र खरी ढुवानीका लागि बनाइएको रोपवे पनि एक महिना मात्र सञ्चालनमा आएर बन्द भएको थियो। रोपवेको निर्माण गर्ने दामोदर कम्पनीले रकम भुक्तानीका लागि सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको अहिलेसम्म फैसला हुन सकेको छैन।
७५ प्रतिशत सेयरको मालिक नेपाल सरकारले चाहेमा जतिबेला पनि उद्योग सञ्चालन हुन सक्ने अवस्था रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट बोर्डका पूर्वअध्यक्ष वसन्तराज कार्की बताउँछन्। उनी भन्छन्, ‘म्याग्नेसाइट उद्योग कि सरकारले चलाउनुपर्यो, हैन भने जनताको २५ सय रोपनी जग्गा फिर्ता दिनुपर्यो।’
उद्योगका उत्पादन
लाकुरीडाँडाको ५ हजार रोपनी जमिनमा फैलिएको उद्योगबाट मुख्यतः म्याग्नेसाइट (विशेष प्रकारको ढुंगा) उत्पादन हुन्छ। ओरियन्ड म्याग्नेसाइटका पूर्व अपरेसन सुपरभाइजर पूर्णचन्द्र ढकालका अनुसार म्याग्नेसाइट कच्चा पदार्थ हो जसलाई प्रशोधन गरेर क्याल्साइन नामक ब्रिक (इँटा) बनाइन्छ। म्याग्नेसाइटसँग टाँसिएर रहेको पदार्थबाट बाईप्रडक्टका रूपमा चिल्लो पदार्थ खरी उत्पादन हुन्छ। सो क्षेत्रमा विभिन्न ४ प्रकारको म्याग्नेसाइट रहेको बताइन्छ।
म्याग्नेसाइटको प्रयोग
म्याग्नेसाइटबाट बनेको इँटा २ हजार डिग्रीभन्दा बढी तापक्रममा पनि नपग्लिने हुँदा ठुल्ठूला आणविक भट्टीमा यसको इँटा प्रयोग हुन्छ। नेपालको सिमेन्ट, स्टिल, फलाम, जस्तापातालगायत उद्योगमा म्याग्नेसाइटबाट बनेको क्याल्साइन प्रयोग गरी भट्टी बनाइन्छ। सौन्दर्य प्रशाधन, कपडा, साबुन, कागज उद्योगले आफ्नो उत्पादनमा साइनिङ ल्याउन म्याग्नेसाइटको बाइप्रडक्ट खरी प्रयोग गर्छन्।
म्याग्नेसाइटको बजार र मूल्य
उद्योगबाट उत्खनन गरिएको म्याग्नेसाइटको नजिकको मुख्य बजार भारत रहेको छ। भारतमा उत्खनन गरिने म्याग्नेसाइटभन्दा यो उद्योगबाट उत्पादन हुने म्याग्नेसाइट उच्च गुणस्तरको रहेको भारतीय व्यापारीले नै स्विकार्छन्। ४ प्रकारको म्याग्नेसाइट उत्खनन हुने उद्योगको ‘ए’ ग्रेडको म्याग्नेसाइटलाई भारतीय बजारमा कम्तीमा टनको ८० हजारमा बिक्री भइरहेको पाइएको छ।
परीक्षण सफल
०७० सालमा मौसमअनुसार क्यालसाइन उत्पादन कस्तो हुन्छ भनेर उद्योग परिसरमै गरिएको परीक्षण सफल भएको थियो। परीक्षणको रूपमा उत्पादित क्याल्साइन (इँटा) को प्रति गोटा पाँच हजारसम्म बिक्री गर्न सकिने सो प्रतिवेदनमा उल्लेख थियो। प्रतिवेदनमा म्याग्नेसाइटबाट उत्पादित वस्तु चिनियाँ बिक्री मूल्य बराबरमैै बिक्री गर्न सक्ने उल्लेख थियो।
उद्योग बन्द
उद्योग कसरी र किन बन्द भयो भन्ने विषयमा अझैसम्म पूर्वकर्मचारी, कामदार र व्यवस्थापनका पूर्वकर्मचारी अचम्भित छन्। पूर्वकर्मचारीका अनुसार राम्रोसँग उत्पादन भइरहेको उद्योग बिना पूर्वजानकारी एकै रातमा बन्द गरिएको थियो। नाइट सिफ्ट काम गरेर घर गएका कर्मचारी भोलिपल्ट बिहानी सिफ्टका कर्मचारी ड्युटीमा आउँदा उद्योग बन्द भइसकेको बोर्डका पूर्वअध्यक्ष कार्कीले बताए। उनले भने, ‘बिना छलफल, बिना लेखापरीक्षण, बिनाविश्लेषण एकै रातमा कुनै उद्योग बन्द हुन्छ ? त्यो नेपाल र नेपालीको समृद्धिविरुद्ध गरिएको नियोजित षड्यन्त्र हो।’
मन्त्रालय गैरजिम्मेवार
उद्योगको अवस्था र योजनाको विषयमा जानकारी लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीलाई सम्पर्क गर्दा आफूलाई केही पनि थाहा नभएको बताउँदै संस्थान महाशाखाका उपसचिव गिरिराज ज्ञवालीलाई सम्पर्क गर्न भने। उपसचिव ज्ञवालीलाई सम्पर्क गर्दा उनले पनि रुग्ण उद्योग भएकाले केही जानकारी नभएको र सबैभन्दा सम्बन्धित सहसचिव बलराम रिजाललाई सम्पर्क गर्नू भने। सहसचिव रिजाललाई अनेकौंपटक सम्पर्क गर्दा र म्यासेज गर्दा कुनै पनि प्रतिक्रिया आएन। मन्त्रालयका एक कर्मचारीले आम्दानी नहुने र पुनः सुरु गर्न ठूलो लडाइँ लड्नुपर्ने म्याग्नेसाइट उद्योगबारे कसैले पनि कुरा गर्न नचाहने प्रवृत्ति रहेको बताए।