वडाध्यक्ष बने नमुना किसान

वडाध्यक्ष बने नमुना किसान

हेटौंडा : दिनभर जनताको काममा व्यस्त हुने ललित घलान साँझ बिहान बारी, बजार र स्थानीयको घरमा भेटिन्छन्। तीन वर्षअघि वडाध्यक्ष निर्वाचनमा मत माग्न घरदैलो गरेका उनी अहिले तीनै स्थानीयको घरघरमा सयपत्री फूल बेच्दै हिँडेको देखिन्छ। 

हेटौंडा उपमहानगरपालिका-१२ का वडाध्यक्ष घलान जनताको सेवक मात्र होइनन् तीन वर्षको बीचमा एक कुशल किसान पनि बनेका छन्। जनताको काम सकाएर घर पुग्नेबित्तिकै घलान डोको बोकेर बारी पस्छन्। फूलको स्याहर गर्छन्। माग भएको ठाउँमा भ्याएसम्म आफैं फूल पु¥याउन जान्छन्। बारीभरि फक्रिएको उनको मिहिनेत देखेर त्यहाँ पुग्ने जो कोही पनि मोहित हुन्छन्। 

हेटौंडामै पहिलोपटक व्यावसायिक पुष्प खेती गरेका उनले यो वर्ष ४ कठ्ठा जमिनमा सयपत्री फुलाएका छन्। ‘जनप्रतिनिधिको पनि घरव्यवहार हुन्छ, आफ्नो परिवार निर्वाहको लागि यो पेसा अंगालेको हुँ’, उनले भने, ‘यो वर्ष भने कोरोना संक्रमणले कार्यक्रम पनि कम भए, तिहार लक्षित गरेर मात्र खेती गरेको छु।’ गत वर्ष उनले ७ कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेका थिए। 

‘कोदो मकै लगाउँदा खान मात्र पुग्ने भएकाले पुष्प व्यवसाय सुरु गरेको हुँ’, उनले थपे, ‘अन्य किसानलाई पनि यो खेतीतर्फ प्रोत्साहन गरिरहेको छु, गाउँमा पाँच जना किसानले पनि मसँगै सिकेर खेती गर्नुभएको छ।’ बागमती प्रदेशको राजधानी हेटौंडामा हुने प्रायः प्रदेशस्तरीय कार्यक्रम, विभिन्न सहकारी तथा संघसंस्थाको कार्यक्रमका लागि उनी सयपत्रीको माला उपलब्ध गराउँथे। गत चैतपछि कोरोना संक्रमण त्रासका कारण सार्वजनिक कार्यक्रम कम भएपछि भने उनको व्यवसायमा केही असर परेको छ। ‘तर पनि फाट्टफुट्ट व्यापार भइरहेको छ, यो वर्ष करिब तीन लाख रुपैयाँको सयपत्री फूल बिक्री हुने अनुमान गरेको छु’, घलानले भने।

वर्षभरि नै फूल बिक्री हुने र सिँचाइको व्यवस्था गर्न सके धेरै उत्पादन दिने भएकाले अन्य खेतीभन्दा पुष्पखेतीमा राम्रो आम्दानी रहेको घलानको भनाइ छ। एक माला सयपत्री उनले ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन्। एक मालामा २५ देखि ३० वटा सयपत्रीको फूल उन्ने गरिएको छ।

जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाईंले पनि पुष्प खेती गरिरहेका छन्। हेटौंडा-६ स्थित चौघडामा तीन कठ्ठा बारीमा सयपत्री फूल रोपेका चौलागाईंले भने, ‘घर खर्च चलाउन यसले मद्दत गरेको छ, थोरै जमिनबाट पनि कोदो मकै लगाएको भन्दा राम्रो आम्दानी लिएको छु।’ सरकारले किसानलाई निर्वाहमुखी खेतीमा भन्दा अन्य खेतीमा आकर्षित गर्नुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.