नेकपाको विवाद संवाद र छलफलबाटै समाधान हुन्छ : गोकुल बाँस्कोटा
विराटनगर : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन राजीनामा माग गर्ने पक्षलाई चुनौती दिएका छन्। आइतबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले नेकपा भित्रको विवाद सँगै प्रधानमन्त्रीको राजीनामाको चर्चाका विषयमा बोल्दै यसको निर्णय संसदीय दलले मात्रै गर्न सक्ने बताए ।
'प्रधानमन्त्री हटाउनु छ भने या त संसदीय दल फेस गर्नुपर्यो, पार्टी अध्यक्ष हटाउनु छ भने चार महिनापछि महाधिवेसन गर्नपर्यो, कुरा यति मात्रै हो,' नेता बाँस्कोटाले भने । यी बाहेकका कुनै विकल्प नरहेको बताउँदै उनले अन्य विकल्प खोज्दै पार्टीभित्र बखेडा झिके त्यसले नेकपा मात्रै नभइ देशलाई नै अस्तव्यस्त बनाउने बताए ।
'पार्टी विगार्न खोज्दा देश बिग्रने खतरा उनीहरुले देखेका छैनन्,' बाँस्कोटाले भने,‘प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी ओलीलाई हटाउन खोज्दा जनताको जवाफ कहाँ गएर दिन्छन् ?’
यो नेकपा पार्टी साना दुःखले निर्माण नभएकाले यसलाई जोगाई राख्न संवाद र छलफल नै उत्तम विकल्प भएको उनको भनाइ छ । ‘सम्वाद र छलफल जारी छ, हामी पार्टीलाई जोगाउने पक्षमा हो,'उनले भने, 'बिगार्न खोज्ने आफै बिग्रदै जान्छन् ।’
विप्लवको क्रान्ति र राजवादीको सपना पूरा हुँदैन
मोरङमा ‘विप्लव’ कार्यकर्ताले शिक्षकको हत्या गरेको विषयमा बोल्दै बाँस्कोटाले विप्लवको यस्तो क्रान्ति कहिले पनि सफल नहुने दाबी गरे । ‘व्यक्ति हत्या गरर क्रान्ति हुँदैन,’ उनले भने ‘क्रान्ति गर्नेनै भए खुल्ला रुपमा आएर नागरिकको मन जितेर व्यवस्था परिवर्तन गर्न म विप्लवलाई चुनौती दिन्छु ।’
सत्तारुढ दलमा विवाद चलिरहेको समयमा राजतन्त्र माग गर्दै शक्ति प्रदर्शन गर्ने क्रम सुरु भएको भन्दै उनले यो रहर कथामा सिमित हुने तर्क गरे । ‘राजाले चलाएको शासन व्यवस्था सम्म देशको नक्सा कस्तो र कहाँ छ ? भन्ने सम्म पत्तो नपाउने व्यवस्था माग गर्नु कति उपयुक्त हो ?’ उनले प्रश्न गर्दै भने ‘के अब त्यस्ताले देश बचाउन सक्लान र ?’
‘विवादमा मुछिएका सार्वजनिक पदमा नबसेकै राम्रो’
नेता बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुमाथि लागेको आरोप छानबिन गर्न सर्वजनिक पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।
‘विवादमा तानिदा समेत सार्वजनिक पदमा बसिरहनु राम्रो हैन,' उनले भने, 'ममाथि ठूलो आरोप आइलाग्दा मैले आरोपका विषयमा अनुसान्धान गर्न बाटो खल्दै राजीनामा दिएको हो, उनले पनि यति गर्दा हुने हो ।'
लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि विवादमा तानिएको विषयमा अनुसन्धान हुनुपर्ने बताउँदै बाँस्कोटाले सही गलत छुटिने समय सम्म सार्वजनिक पद ओगट्नु कम्युनिस्टको भावना विपरित हुने बताए ।
कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि नारायणकाजी विवादमा तानिएका छन् ।