चिसो बढेपछि बेसी झर्दै लमजुङका भैंसीगोठ
बेसीसहर : गर्मीयाममा हिमालको काँठसम्म पुगेका भैंसीगोठ चिसो बढेसँगै बेसी झर्न थालेका छन् ।
बेसी झरेका गोठ लमजुङका गाउँ बस्ती नजिकैका खेत तथा डाँडाहरुमा राखिएका छन् । जाडोमा बेसी र गर्मी लाग्दै गएपछि लेक पस्नु उनीहरुको नियमित मौसमी पेशाकै एक हिस्सा हो ।
यतिबेला बेसी झरेका भैंसीगोठ खेतबारीमा राखिएका छन् । खेतबारीमा राखिएका गोठ खेत मोल्न प्रयोग गरिन्छ । भैंसी गोठाला ७६ वर्षीय मित्रलाल बास्तोलाले बेसीमा खेत मोलेर गोठ लेकतर्फ उकालो लाग्ने बताए ।
‘लेकमा त हिउँ परेको छ । बेसीमा धान थन्काइएको छ । खाली रहेका फाँटमा भैंसी राखेका छौँ’, मित्रलालले भने, ‘खेत मोल्नपनि हुने, घाम ताप्न पनि ।’ मित्रलालका अनुसार खेत मोल्दै मोल्दै गोठ विस्तारै माथितीर उकालो लाग्छ ।
घनपोखराको बेसी रोप्लेफाँट, सिम्पानी, घलेगाउँ, तगैडाँडा, प्रारेखर्कहुँदै गोठ लेक पस्छ । माछापुच्छ्रेको फेदी यिङ्खु लेकसम्म गोठ पुग्छ । भदौ पन्ध्रपछि विस्तारै बेंसी झारिन्छ । मित्रलालकाअनुसार ठुली लेकमा घलेगाउँको भेडीगोठ पुग्छ । कोरी खर्कमा कास्कीको भेँडीगोठ राखिन्छ ।
घुम्ती भैंसीगोठबाट घ्यु, पाडापाडी र माउ भैंसी बेच्दा बर्षमा करिब १० लाख आम्दानी हुने मित्रलालले बताए । बेंसी झेरेपछि मात्रै १० वटा भैंसी बेचेको उनले बताए । ‘बेसी झरेका बेला भैंसी, पाडापाडी किन्न र पाल्न दिन किसानहरु आउँछन्’, मित्रलालले भने, ‘जाडो छल्न पनि पाइन्छ, कारोबार पनि हुन्छ ।’
‘गोठमा उत्पादन भएको दुध बेच्ने बजार छैन । सबै दुधको घ्यु बनाउने हो’, भैंसी गोठ सञ्चालक तारानाथ घिमिरेले भने, ‘आठ सय मानाका दरले घ्यु बेचिन्छ । पाडापाडी र माउ बेच्दा राम्रै आम्दानी हुन्छ ।; तारानाथका अनुसार गाउँलेको भैंसी स्याहार गरेको महिनामा प्रति भैंसी एकसय रुपियाँ पाइन्छ । बेच्नुपर्दा एक हजार बक्सिस पाइने उनले बताए ।
‘भैंसी लिएर गोठ सार्दै लेकबेंसी गर्न गाह्रो छ ।’, भैंसी गोठाला दुर्गा बराल भन्छन, ‘तै पनि हामीले भैंसी पाल्छौं, भैंसीले हामीलाई पालेको छ । यसमै खुसी छौं ।’ भैंसी गोठ सम्हाल्दै आएका मस्र्याङ्दी–२, घनपोखरा रोप्लेफाँटका तारानाथ घिमिरेले घ्यु, भैंसी र पाडापाडी बेच्दा फाइदा हुने गरेको बताए । ‘दुध बेच्ने ठाउँ छैन, अरु परिकार बनाउन आउँदैन यसैले समस्या भएको छ’, घिमिरेले भने । मस्र्याङ्दी गाउँपालिका पशु शाखा खुदीका प्रमुख डा. पवनकुमार श्रेष्ठले भैंसीगोठ सुधारका लागि कार्यक्रमहरु गरिएको बताए ।