दुर्गममा सडक प्रथामिकतामा : खिजीदेम्वाबाट सडक मार्गका चार नाका खुल्दै

दुर्गममा सडक प्रथामिकतामा : खिजीदेम्वाबाट सडक मार्गका चार नाका खुल्दै

ओखलढुंगा : गत वर्षसम्म पनि खिजीदेम्वा गाउँपालिका अति दुर्गमका रुपमा परिचित थियो। यहाँबाट सदरमुकाम आउन छिमेकी जिल्ला कि त सोलुखुम्बु कि रामेछाप, सिन्धुली र उदयपुर घुमेर आउनुपर्थ्यो। 

हिउँदको समयमा ओखलढुंगाको जन्तरधाप, सोलुको टाप्टिङ हुँदै कच्ची सडक चले पनि वर्षा सुरु हुनासाथ बन्द हुने गरेको थियो। गाउँपालिका केन्द्रबाट काठमाडौं जान जति सहज थियो त्योभन्दा अप्ठेरो र लामो सडक पार गर्दै छिमेकी जिल्ला घुमेपछि मात्रै सदरमुकाम ओखलढुंगा पुग्न सकिन्थ्यो। 

यही दुःख खेपेका जनप्रतिनिधि स्थानीय तहदेखि संघीय संसदसम्म पुगेपछि खिजीदेम्वाले मुहान फेर्न थालेको छ। खिजदेम्वा गाउँपालिकाले संघीय तथा प्रदेश सरकारसँगको बजेट साझेदारीमा चार वटा नाका खोलेको छ। गाउँपालिकाबाट सदरमुकाम ओखढुंगा, प्रदेश राजधानी र संघीय राजधानी आवतजावत गर्न यी नाका खुलेपछि सहज भएको छ। गाउँपालिकामा संघीय, प्रदेश सरकारको बजेट तथा स्थानीय तहको प्रथामिकतामा परेपछि ग्रामीण सडक विस्तारले पनि तीव्रता पाएको छ। 

सोलु र रामेछाप हुँदै सदरमुकाम आउनु पर्ने बाध्यता अब टरेको छ। खिजीदेम्वाबाट मोलुङको श्रीचउर हुँदै ओखलढुंगा आउने ट्याक खुलिसकेको छ। यो सडकका लागि सांसद यज्ञराज सुनुवारले पूर्वाधार साझेदारी कार्यक्रममा तीन वर्ष लगातार गरेर १ करोड बढी बजेट विनियोज गरेर प्रथामिकता दिएका थिए। 
त्यस योजनामा खिजीदेम्वा र मोलुङ गाउँपालिकाले साथ दिएपछि खिजिफलाटे–हातेबन्से–श्रीचौर–ओखलढुंगा सडक गत कात्तिकमा खुलेको छ। 

५५ किमी सडक कालोपत्रे हुँदै 

अहिले गाउँपालिकाले आन्तरिक सडक कालोपत्रेको योजना अघि सारेको छ। संघीय समपुरक बजेट अन्तर्गत लिखु–भुसिंगा सडक कालोपत्रेको तयारी थालेका छ। ५५ किलोमिटर लामो लिखु–भुसिंगा सडकलाई चरणबद्ध रुपमा खण्ड–खण्ड गर्दै बहुवर्षीय योजनाका रुपमा काम गर्ने योजनाका साथ कालोपत्रेको ठेक्का लगाइएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिए। 

खिजिदेम्बा गाउँपालिकाले आफ्नो सीमित बजेटको बाबजुद पनि संघीय समपुरक बजेटबाट योजना छनोट गरी कालोपत्रे गर्न लागेको गाउँपालिकाले जनाएको छ। अध्यक्ष रोकाले हाल उक्त सडकलाई बजेटको व्यवस्था गरिदिन अझै पनि विभिन्न कोणबाट संघीय सरकारसँग पहल गरिरहेको बताए। 

खिजिदेम्बा गाउँपालिकाले यसअघि लिखु–भुसिंगा सडकको स्तरोन्नति गरेपछि सार्वजनिक यातायात सञ्चालनमा आएका थिए। हाल सो सडकमा अरनिको र संयुक्त यातायातका बसहरु दैनिक रुपमा सञ्चालनमा रहेका छन्। हाल काठमाडौंबाट खिजिफलाटे, रगनी र खिजीकाति गरी ३ ठाउँमा सुपर बस सञ्चालनमा छन्। थप सेवा विस्तारका लागि काठमाडौंदेखि रावादोलु–भुसिंगासम्म सार्वजनिक बस सञ्चालनको तयारी भइरहेको छ। 

जसका लागि खिजिचण्डेश्वरी–खिजिकाति सडक र खिजिफलाटे–रावादोलु–भुसिंगा सडक खण्डमा सुधारको काम पनि सुरु भएको छ। 

सदरमुकाम जोड्ने विकल्प सडक

ठूलो भूगोल र पातलो बस्ती भएको गाउँपालिका रहेकाले सदरमुकामको सहज पहुँचको कुरालाई मध्यनजर गर्दै खिजिदेम्बा गाउँपालिकाले सदरमुकाम जोड्ने विकल्प सडकमा जोड दिइरहेको छ। पहिले सदरमुकामसँग सडक नजोडिँदा खिजिदेम्बाबाट रामेछापको ढाँडे, सिरीषे, मन्थली, सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी हुँदै ओखलढुंगा सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। 

अहिले खिजिदेम्बाका ४ ठाउँबाट सदरमुकाम सडक जोडिसकेको छ। जसमा भुसिंगा–पात्ले–धाप–ओखलढुंगा, खिजिफलाटे–पात्ले–धाप–ओखलढुंगा, खिजिफलाटे–नयाँवन–श्रीचौर–रामपुर–ओखलढुंगा र खिजिफलाट–हातेबन्से–श्रीचौर–ओखलढुंगा सडक रहेका  छन्।

यी सडकको ट्रयाक खुलेर स्तरोन्नतिपछि गाउँपालिकाका सबै क्षेत्रमा सडक विस्तार हुनेछन् भने चारैतिरका नाका खुल्ने छन्। सडकको पहुँच पुगेपछि यस क्षेत्रका उत्पादन तराईदेखि काठमाण्डौंसम्म पुर्याउन र पर्यटकीय क्षेत्रमा पयर्टक सकेत सहज रुपमा आउने खिजिदेम्वाबासीको आशा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.