चिसोबाट जोगिन घुरकै सहारा (फोटोसहित)
जनकपुरधाम : बाक्लो हुस्सु र कुहिरोले दिनभरी घाम छेक्दा तराई मधेशमा शरीरै कठ्यांग्रिने चिसो बढेको छ । हुने खानेले अनेक जतन गरेर ज्यान जोगाए पनि गरिबका बस्तीमा पराल र घाँसपातको घुरनै चिसोबाट जोगिने सहारा बनेको छ।
हिजोआज साँझ बिहान मधेसका गाउँहरुमा प्रत्येक घर अगाडी घुर बलिरहेको हुन्छ । घरका वृद्ध अभिभावक, साना बालबालिका र छरछिमेकीहरुको दैनिकी घुरको आगो ताप्दै गफगाफ गरेरै बित्छ ।
कोरोना कहरले रोजगारी गुमाएका मजदुर र विपन्नहरुको परिवारमा भने शितलहरले अर्को आफद लिएर आएको छ । चार महिना अगाडिसम्म जनकपुरमा ठेला चलाएर तीन छोराछोरी सहित पाँच जनाको परिवार चलाउँदै आएका धनुषाको लक्ष्मीनियाँका श्रीराम सदालाई महामारीकै बेला साहुले काम छैन् भन्दै घर पठायो ।
उनले त्यस एता काम पनि पाएका छैनन् । चिसोमा छोराछोरीलाई न्यानो लुगा किनदिने भन्दा भन्दै पनि उनले लुगाको जोहो भने गर्न सकेका छैनन् । यस्तोमा शितलहरबाट परिवार जोगाउन साँझ बिहानको घुर र परालनै सहारा छ उनको ।
'भर्खरै अगहनी सकेको छ, गाउँमा पराल जतिपनि पाईन्छ,'श्रीरामले भने, 'हामी गरिबका लागि यहिँ पराल ओढ्ने, ओछ्याउने र ताप्ने सबैमा काम लाग्छ ।'
चिसोबाट जोगिन ग्रामिण भेगहरुमा तीन तहकै सरकारबाट दाउरा बाँड्ने, न्यानो वितरण जस्ता कुनै कार्यक्रम चलाईएको छैन् । तर, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला भने जिल्ला विपद् व्यवस्थाप समिति शितलहरको विपद्बाट जोगिन तम्तयार अवस्थामा रहेको बताउँछन् ।
'शितलहरको लागि पूर्व तयारी कार्ययोजना बनाईसकेका छौं,'प्रजिअ अधिकारी भन्छन्, 'सबै स्थानीय तहहरुसँग समन्वय गरिरहेका छौं । नेपाल सरकार विपद् व्यवस्थापन प्राधिकरणले पनि शितलहरबाट जोगिने कार्ययोजना पठाईसकेको छ र हाम्रो पनि कार्ययोजना तयार छ यो दुईटैलाई सगै कार्यान्वयनमा लग्छौं ।'
कार्ययोजना तहत सूचनाको प्रवाह गर्ने, तथ्यांक संकलन मुख्य काम रहेको यसका साथै कमजोर वर्गहरुलाई तातो न्यानो लाउने खाने व्यवस्था गर्न लागेको प्रजिअ अधिकारीले बताए ।
अहिले स्थानीय सरकार र प्रदेश सरकार दुवै नजिक भएपनि विपन्न र पछि पारिएका समुदायहरुको सहयोगमा खासै चासो नलिएको असहाय संरक्षण मन्च जनकपुरका संयोजक बैद्यनाथ साह बताउँछन् ।
'यस्तो कठ्यांग्रिदो चिसोमा कम्तीमा मुसहर बस्तीमा दाउरा वितरण र कम्बल वितरण गर्न सरकारहरुले चासो देखाउनु पर्थ्यो,'साहले भने, 'यस्तो विपतको आकलन त पहिलादेखिनै गरेर सरकारहरुले पहल गर्नुपर्थ्यो तर, जबसम्म कुनै मानविय क्षति हुँदैन तबसम्म कसैको ध्यान जाँदैन् ।' अभियानहरु पनि सहर केन्द्रितनै रहेको हुँदा गाउँटोल र विपन्न परिवारलाई कसैले नहेरेको स्थानीयहरुको गुनासो छ ।