परिवर्तित राजनीतिक मौसम
राजनीति दृश्य परिवर्तन भएको छ। र, यो अचानक भएको देखिएको छ। तर भनिन्छ, राजनीतिमा असम्भव केही हुँदैन। त्यसैले अचानक भएको देखिए पनि, नाटककार बालकृष्ण समको भाषामा भन्ने हो भने– नियमित आकस्मिकता हो यो। यो नभए त्यो हुन्थ्यो वा त्यो नभए यो हुन्थ्यो, आखिर केही न केही त हुन्थ्यो नै। किनकि हुनुपर्ने जे हो त्यो हुनै पथ्र्यो, भएरै छाड्थ्यो। भएरै छाड्छ। प्रकृतिको नियम नै हो, जस्तो कि भन्ने नै गरिन्छ– लेखिएको मेटेर मेटिन्न। नेपालको आजको राजनीति त्यही ‘लेखोट’ हो। यस आधारमा भन्न सकिन्छ, यसलाई लेख्ने माध्यम मात्रै बनेका हुन् दृश्यमा देखिएका नेताहरू।
तीन वर्षअघि, दुई विपरीत धु्रवीय दलहरू तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले बिनातैयारी केवल चुनावको मौकालाई ‘क्यास’ गर्न एकीकरण गरिएको घोषणा गरेका थिए। त्यो एकताको घोषणाप्रति विश्वास गर्ने आधार त्यतिखेरै पनि देखिएको थिएन। आज आएर, वास्तवमै त्यो देखावटी थियो भन्ने सावित भएको छ। त्यो एकता फेरि भंग भएको छ। यसरी, अकालमै तथाकथित एकता भंग हुनुमा एक–अर्कामा दोषारोपण थुपार्नुबाहेक कार्यकताका सामु स्पष्टीकरण दिने यतिबेला तत्सम्बन्धित नेताहरूसँग अन्य कुनै विकल्प छैन।
प्रश्न त त्यसै पनि उठिरहेकै थियो, पार्टी एकीकरण गर्दाताका तिनले कुन त्यस्तो सैद्धान्तिक सहमति गरेका थिए र ? थाहा थियो नै, स्थायी ढंगले एक भएर बस्न सक्ने कुनै ठोस विषय तीसँग थिएन। आज देखिएको छ, त्यो एकीकरणको अन्तर्य भनेको जसरी हुन्छ चुनाव जित्ने र सत्ता भाग लगाउने थियो। आज आएर ती सत्ताकांक्षीहरूको लोभ नेपाली समाजमा छताछुल्ल भएको छ। देश हाँक्ने जिम्मेवारी पाएका प्रधानमन्त्रीले समेत आपूmलाई अविश्वासको प्रस्ताव पेस गर्ने र आफ्ना विश्वासिला राष्ट्रपतिलाई समेत महाभियोग लगाउने तयारीको सुइँको पाएरै हुँदाखाँदोको प्रतिनिधिसभाको विघटन गर्न पुगिएको चर्चा गरेका छन्। उनले थप भनेका छन्, ‘संविधानबाट बाहिर गएर अनेक दाउपेच, जालझेल र तिकडमले महामारीको रूप लिन लागेपछि के गर्ने ? पद, पैसा र परिवार मात्रै सोच्नेलाई देश कसरी सुम्पिन सकिन्छ र ?’ यस्तोमा संसदीय प्रणालीले प्रावधान गरेअनुसार, बहुमतका प्रधानमन्त्रीले आफ्नो अधिकारलाई प्रयोग गरेर संसद् विघटन गरिएको हो। तर यो अवस्थाको सरसर्ति विश्लेषण गर्नेहरूले भनेका छन्– केवल व्यक्तिगत अभिमान जोगाउन नागरिकप्रति प्रधानमन्त्रीले एक किसिमको खेलाँची नै गरेका हुन्। हुन पनि पाँच वर्षका लागि करीब दुईतिहाइको मत दिएर राज्य चलाउने अधिकार सुम्पिएर बसेका जनता दुई वर्षअघि नै हिस्स परेका छन्। कालगतिले नभई दुर्घटनाका कारण भोगेको मृत्युजस्तो।
कतिपयले यस्तो भनेका छन्, देशप्रति साँच्चैको माया गर्ने, जनताप्रति उदारभाव राख्ने उत्तरदायी मुटु भएको भए प्रधानमन्त्रीले भन्न सक्नुपथ्र्यो– मलाई आफ्नै साथीहरूबाट विश्वास प्राप्त भएन, साथीहरूले मलाई राज्य सञ्चालन गर्न असमर्थ ठाने। त्यसैले म सहर्ष सत्ताबाट बिदा हुन्छु भनेर ठूलो छाती देखाउन सक्नुपथ्र्यो, पहिलो नम्बरमा। दोस्रो नम्बरतिर हेर्ने हो भने एकीकरण नामधारी गुजुल्टोभित्रै प्रतिपक्षजस्तो भएर देखापरेका, प्रधानमन्त्रीको भाषामा ‘किचकिचे’ हरूले प्रधानमन्त्रीलाई सधैंभरि कुनै पनि काम गर्न नदिएर निहुँ खोजिरहनुको सट्टा आफूहरू अलिक तल परेरै भए पनि पूरै पाँच वर्ष बिनाअवरोध सरकारलाई सहयोग गर्नुपथ्र्यो। तर गरे दुवैले उल्टो कर्म। दुवैतर्फबाट आफू एक पाइला पछाडि हट्ने कुरो कहिल्यै–कुनै समयमा पनि देखापरेन। उल्टो, हात खैंचेर कोहीभन्दा कोही कम नहुने बेहोरा देखाइरहे। अन्ततः जे नहुनुपथ्र्यो अथवा यसो भनूँ– जे हुनु थियो त्यो भएरै छाड्यो। यसैलाई भन्ने हो नियति। हुनुपर्ने कुरोलाई लाख कोसिस गरे पनि नहुने बनाउन सकिन्न। भयो त्यही, जसको परिणति कार्यप्रारम्भले नै निश्चित गरिसकेको थियो।
देश संक्रमणको व्यथाबाट केही निकोजस्तो भएको थियो, अब फेरि व्यथा बल्झिएको छ, अझ बढी संक्रमणको। थाहा छैन, यो व्यथाको सहन कहिलेसम्म गर्नुपर्ने हो देशले ? कतिसम्म लम्बिने हो यो अस्वस्थ समयको सीमारेखा ? कम्तीमा पनि दुईतिहाइको भरोसामाथिको यस्तो विश्वासघात सम्भवतः कमसेकम कुनै मतदाताले कल्पनासम्म पनि गरेका थिएनन्। त्यसैले धेरैले त केसम्म भनेका छन् भने यो प्रतिगमन हो। यस्तोमा विपक्षी मतदाताको त कुनै कुरो भएन नै। आफ्ना मतदाताको मुख हेरेरै भए पनि सरकार हाँक्नेले वा पार्टी चलाउनेले ठण्डा दिमागले सोच्नु आवश्यक थियो यो बेला। त्यसै पनि त, कोरोना–कहरले देश थिलथिलो भएको यस्तो अवस्थामा बेमौसमी बाजा बजाएजस्तो भएको छ यो संसद् विघटनका साथ फेरि निर्वाचन गर्ने उद्घोष। कहाँ कोरोनाको पीसीआर टेस्टका लागि सरकारले नागरिकलाई निःशुल्क सेवा दिन्छु भनेर भन्नसमेत असमर्थता प्रकट गरेर आफ्नो गरिबी प्रदर्शन गरिरहेको परिस्थिति छ। यस्तोमा अब कहाँ अर्बौं–खर्बौं खर्च गरेर चुनाव गर्ने कुरो ?
महात्मा गान्धी दक्षिण अफ्रिकामा एकपटक अत्यन्त हतारमा रेल चढ्दै थिए। रेल चढ्दाचढ्दै हडबडीमा उनको एउटा खुट्टाको जुत्ता प्लेटफार्ममा झर्यो। एउटा खुट्टाको जुत्ता छँदै थियो। अर्को खुट्टाको जुत्ता मात्र झर्यो। रेल हिँडिसकेको थियो। अकस्मात् गान्धीले सेकेन्डभरमै गजबको काम गरे। एउटा खुट्टामा सहीसलामत रहेको अर्को जुत्ता एकछिन पनि ढिला नगरी आफैँले खोलेर प्लेटफार्ममै झारिदिए। गान्धीको यस्तो कार्यकलापबाट अन्य यात्री आश्चर्यचकित भए। एकले त सोधिहाले, ‘के गरेको तिमीले यस्तो ?’
गान्धीले भने, ‘एउटा खुट्टाको जुत्ता छुटिहाल्यो। अब यो एउटा खुट्टाको जुत्ता मलाई के काम ? त्यसैले झारिदिएको हुँ। जसले भेटे पनि जोर जुत्तै भेटोस्, उसलाई काम लाग्नेछ।’
गान्धीको त्यो सोचाइ आज हाम्रो देशको संसद् विघटन गर्ने प्रधानमन्त्री वा प्रधानमन्त्रीलाई अविश्वास गरेर सत्ताच्युत गराउने खोज्ने ‘किचकिचे’ हरूले हृदयंगम गर्न सक्लान् ? यिनका चरित्र हेर्दा त यस्तो पटक्कै लाग्दैन कि यिनीहरूले अरूको भलाइ सोच्लान्। यस्तो लाग्छ, यिनले आफ्नो खुट्टामा बाँकी रहेको जुत्ताको त्याग गरेर दोस्रोले जोडी मिलाएर लगाउन पाऊन् भन्ने सोच त होइन, आफ्नो खुट्टाको एकल जुत्ताको जोडी मिलाउने सोचमा अरूले खोलेर राखेका जुत्ताका जोडीहरूमा आँखा लगाउलान् बरु। यिनीहरूबाट यसभन्दा फरक अपेक्षा के गर्न सकिन्छ ? किनकि जनताले असोचनीय उपलब्धि गरेका थिए। अचानक त्यो जुत्ता भेटेका थिए, गणतन्त्रको। त्यसरी त्यो जुत्ता भेटिनुसँगै दुईतिहाइवाला स्थिर सरकारले दिलाउने समृद्धिरूपी त्यसको जोडी जुत्ताको आशा देखाइएको थियो। आजको मितिमा त्यो आशा पूर्णरूपमा निराशामा परिवर्तन भएको छ। सबै खालका भरोसा र विश्वास धुलिसात् भएको छ। समग्रमा, गान्धीको यो जुत्ता–विम्बले हाम्रो देशको वर्तमान राजनीतिमा कुनै अर्थ राख्दैन।
आफूले बोकेको अहंकार–अभिमानलाई आफ्नो श्रीपेच बनाएर भिरुञ्जेल दोस्रोको शृंगारलाई कदापि सुन्दर देख्न सकिन्न। आँखामा बाँधिएको पट्टी नखोलेसम्म आफूबाहेक दोस्रोको अस्तित्व स्वीकार गर्न गाह्रो हुन्छ, तर आँखाको पट्टी नखोलीकनै ठूलो मन बनाउने हो भने दोस्रोको उपस्थितिलाई महसुस गर्न सकिन्छ। वास्तवमा मान्छेले देखाउन सक्ने महानता नै यही नै हो। तर यसो गर्नका लागि अहिले समय भट्किसकेको छ,। अब भोलि के होला ? यसै भन्न सकिन्न। हुन नहुने कुरो पनि हुन सक्ला। तर त्यसो भन्दैमा समयले तोक्ने फैसलालाई नस्वीकारी धर छ र ?