भीमेश्वर रंगशाला निर्माणमा जग्गा विवाद

भीमेश्वर रंगशाला निर्माणमा जग्गा विवाद

दोलखा : राष्ट्रियस्तरका खेलहरू सञ्चालन गर्न सकिने १५ हजार दर्शक क्षमताको आरसीसी प्यारापिटसहितको भीमेश्वर रंगशाला स्तरोन्नति योजना जग्गा विवादले अन्योलमा परेको छ।

भीमेश्वर नगरपालिका–३, चरीकोटस्थित १५ हजार दर्शक क्षमताको भीमेश्वर रंगशाला कृषि सामग्री कम्पनी लिमिटेडको जग्गा उपभोग विवादले अन्योलमा परेको हो। भीमेश्वर नगरपालिकाले विभिन्न स्रोत जुटाएर चालू आर्थिक वर्षबाट निर्माण सुरु गरेको भीमेश्वर रंगशालाको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)का कारण विवादमा परेको छ।

नगरपालिकाले गत आर्थिक वर्षमा स्वीकृत गरेको डीपीआरमा कृषि सामग्री कम्पनी लिमिटेडको सवा दुई रोपनी जग्गा प्रयोग गर्नुपर्ने उल्लेख छ। तर, कृषि सामग्री कम्पनी लिमिटेडको नाममा दर्ता कायम रहेको जग्गा भीमेश्वर रंगशालाको नाममा उपभोग गर्न विवाद सुरु भएको हो। स्वीकृत डीपीआरको नापअनुसार कम्पनीको सवा दुई रोपनी जग्गामा भूमिगत पार्किङ, टिकट काउन्टर, क्यान्टिन, शौचालय र विभिन्न विधाका खेलका कार्यालयहरू राख्ने कोठा निर्माण हुनुपर्ने उल्लेख छ।

नगर गौरवको योजनाका रूपमा अघि बढाइएको ११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको भीमेश्वर रंगशाला निर्माणपछि राष्ट्रियस्तरका फुटबल खेलहरू सञ्चालन गर्न सकिनेछ। डीपीआरअनुसार कम्पनीको जग्गा प्रयोग गर्नुपर्ने उल्लेख भएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए। ‘तत्काल सो क्षेत्रमा काम नहुने भएका कारण जग्गा प्राप्तिका लागि प्रक्रिया सुरु गरिएको छैन’, उनले भने।

‘हामीले जग्गा भाडामा लगाएका छौं, कसैलाई निर्माण कार्यका लागि दिएका छैनौं र दिन पनि मिल्दैन’, कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी प्रबन्धक राजेन्द्रबहादुर कार्कीले भने। नेपालको प्रचलित कानुनअनुसार अर्काको जग्गा नापेर डीपीआर बनाउने तथा निर्माण कार्य गर्ने छुट जग्गाधनीबाहेक कसैलाई नभएको सूचना अधिकारी प्रबन्धक कार्कीले बताए।

किरातेश्वर/सीमपानी जेभीले २०७९ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन २५ गते सम्झौता गरेको थियो। पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुईतले भवनसहितको अत्याधुनिक आरसीसी प्यारापिट निर्माण गरिने भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतले बताए। करबाहेक ११ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको भीमेश्वर रंगशाला फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने इन्जिनियर राउतले बताए। तीन दिशाबाट गौरीशंकर हिमालसहितका रोल्वालिङ हिमशृंखलाको मनमोहक दृश्यावलोकनसहित खेलको मज्जा लिन सकिने भीमेश्वर रंगशालामा दशरथ रंगशालाकै तहको सेवासुविधा उपलब्ध हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.