बिप्लवविरुद्ध प्रहरी अपरेसन : हात हतियार बनाउने प्राविधिकसहित दुई जना पक्राउ
कालिकोट : प्रतिबन्धित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाविरुद्ध प्रहरीले अपरेसन सुरु गरेको छ। नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटमा त्यस पार्टीले पछिल्लो समय गतिबिधि बढाएपछि प्रहरीले बिप्लवविरुद्ध अपरेसन सुरु गरेको हो।
प्रहरीले सुरु गरेको अपरेसनका क्रममा आइतबार नरहरीनाथ गाँउपालिका वडा नं. ९ लालुको चौथास्थित दुर्गबहादुर बोहोराको घरबाट बिप्लवको हात हतियार बनाउने प्राविधिकसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी चक्रबहादुर शाहले सुराकीको आधारमा उनीहरूलाई समातिएको जानकारी दिएका छन्। उनका अनुसार बिप्लवका हातहतियार बनाउने प्राविधिक दुर्ग बोहोराको घरबाट केही विस्फोटक पदार्थसहित बोहोरा र उनका सहयोगीलाई समातिएको हो।
ती सहयोगी नेकपाका पुर्णकालिन सदस्य जाजरकोटका भेरीमालिका गाउँपालिका वडा नं. २ का पदमबहादुर पुन रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले दुर्गबहादुर बोहोराको घरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी शाहले बताए।
प्राविधिक बोहोराको घरबाट एक थान प्रेसर कुकर बम, सकेट, वायर, बन्दुक, जेवाले, डेटेनेटर १४ थान, सकेट ११ थान, ब्याट्रि चार्जर, सेफ्टी फ्युज र गन्धक १ किलोग्राम प्रहरीले बरामद गरेको छ। त्यस्तै सेलो टेप, हात हतियार बनाउने सम्बन्धि किताब, विप्लव समूहको राजनीतिक प्रतिवेदन, नमस्ते वइलकम कार्ड ११ थान, इस्काई १ थान, दुई वटा मोबाईल लगायत विस्फोटक पदार्थ बनाउने कच्चापदार्थ समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका बिप्लव नेतृत्वको कार्यकर्ता र जफत गरिएका सामानहरु सोमबार सार्वजनिक गर्दै प्रहरीले बिप्लवबिरुद्ध कडा अपरेसन सुरु गरेको जनाएको छ। ‘जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, आपराधिक गतिविधिहरुलाई निष्तेज बनाउने प्रहरीको दायित्व हो’, डिएसपी शाहले भने, ‘यसमा हामी लागिपरेका छौँ।’ उनले पछिल्लो समयमा जिल्लामा बिप्लव समूहले आफ्ना गतिविधि बढाएकाले प्रहरी सक्रिय भएको बताए।
प्रहरीले पक्राउ परेकाविरुद्ध विस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तरगत मुद्धा दर्ता गर्ने तयारी गरेको छ। पक्राउ परेका दुर्गबहादुर बोहोराको बायाँ हात छैन। उनी तत्कालिन नेकपा (माओवादी)ले सुरु गरेको ‘जनयुद्ध’ताका पनि विस्फोटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ।