जुलुसमा अराजकता
नारा लागिरहेछ सडकमा। नारामा जिन्दावादका वा मुर्दावादका आवाज सुनिन्छन्। यस्ता नारा सुन्न अभ्यस्त छन् हाम्रा कान। तर यहींनिर अर्कै किसिमका नारा जो सुन्दैमा पनि अप्ठेरो लाग्छन्; ती पनि यसरी जोड–जोडले घन्किरहेछन् कि मानौं, यस्ता किसिमका नारा लगाउन पाउनु भनेको कुनै उत्सवको आगमन हुनु हो। तर नारासँगसँगै स्वर मिलाउनेहरू कतिपय त जुलुससँग तादाम्य मिलाउनका लागि मात्रै उपस्थित भएका छन्। तिनले नाराको अन्तर्य बुझेकै छैनन्। यस्तो लाग्छ, केवल नाराबाट आकर्षित भएर मात्रै तिनीहरू जुलुसमा सामेल हुन पुगेका छन्। स्पष्ट छ, नाराका कारण जुलुस केवल सामान्य नभई अराजक भीडका रूपमा रूपान्तरण भएको छ।
मान्छेको प्रवृत्ति नै यस्तो छ, आफ्नो विषयमा कसैबाट नकारात्मक कुरो सुन्नै चाहँदैनन्, सुने भने विपरीत प्रतिक्रिया व्यक्त गरिहाल्छन्। तर आफूबाहेकका अन्यको विषयमा भने नकारात्मक कुरो सुन्न सदैव लालायित रहन्छन्। जुलुुसमा लाग्ने नाराहरू पनि त्यही प्रवृत्तिअन्तर्गत पर्छन्। अझ त्यसमा पनि, कोही–कसैप्रति अशोभनीय किसिमको सम्बोधित नारा लाग्यो भने त झन् मान्छेहरू तत्कालै त्यसप्रति आकर्षित भइहाल्छन्। त्यस अवस्थाको जुलुसमा कुनै पनि सहभागीले सामाजिक मर्यादा ख्यालै गरेको पाइन्न।
हिजोआज राजधानीका सडकमा देखिएका जुलुसमा पूराका पूरा समाजले कायम गरेको मर्यादा उल्लंघन गरेको देख्ने–सुन्ने गरिएको छ। यस अर्थमा समाजले तिनलाई पचाउन सक्ने त कुरै भएन। तर पनि जुलुसमा नारा लगाउने र त्यसलाई साथ दिनेले सडकमा त्यसप्रति कुनै ध्यान पुर्याएको देखिन्न। त्यसो त, हामीले हाम्रो समाजको इतिहासलाई एकपटक फर्केर हेर्ने हो भने यो तथ्यप्रति त्यतिविघ्न आश्चर्यचकित हुनै पर्दैन। किनभने जुन विसंगतपूर्ण नाराहरू आज सडकमा लागेका सुनिन्छन्, ती आजको मितिमा निर्माण गरिए पनि तिनको आधारशिला पहिल्यै स्थापना गरिसकिएको थियो।
अर्थात्, अघिदेखिकै त्यो प्रवृत्ति दोहोरिएको मात्रै हो। केही समयअघिको इतिहास हेरौं। ०४६ सालको जनआन्दोलनताका व्यक्तिगत रूपमा तत्कालीन राजा वीरेन्द्र, महारानी ऐश्वर्य वा सिंगो पञ्चायती सरकारविरुद्ध लाग्ने गरेका नाराहरूको दुरुस्तै सिको गरिएको भेटिन्छ आज। यसबाट यो केवल कुपरम्पराको सिलसिला चलिआएको मात्रै हो भन्ने बुझ्न कत्ति पनि कठिन पर्दैन। जबकि जसले जे सिकाएको छ त्यो सिकाइ भोलि गएर आफैंमाथि लागू हुन सक्छ भन्ने ज्ञानको हेक्का सायद अघिकाहरूलाई सम्भवतः रहेन। त्यसैले त, आज राष्ट्रपति या प्रधानमन्त्रीसमेतका विरुद्ध विकृतपूर्ण नारा सडकमा लागिरहँदा पनि त्यति बेस्सरी अचम्म मान्नुपर्ने अवस्था छैन। अन्यथा, उसबेला अन्यका विरुद्ध कुनै किसिमका अमर्यादित नारा लाग्दा सही हुने, तर अहिले आफूविरुद्धको नाराचाहिँ गलत हुने कहीं हुन्छ ? यसो भन्दैमा असामाजिक विषयवस्तुमाथि यहाँ समर्थन जनाउन पक्कै खोजिएको होइन। भन्न के मात्रै खोजिएको हो भने, आज जुलुसमा आफूमाथि अभद्र नारा लगाए भनेर सम्बन्धित कसैले पनि चित्त दुखाउनुको कुनै तुक छैन, बस् बरु एकपटक आफूहरूले आफ्नो विगत सम्झन जरुरी छ। यद्यपि, नाराहरूलाई आकर्षक बनाउनुको नाममा मनपरी शब्दशृंगार गर्न मिल्दैन, जतिसुकै विरोधपूर्ण नाराको शब्दगठन होस्, त्यो शिष्ट हुनैपर्छ। भनून् त, के शिष्टतासँग कुनै आकर्षण हुँदैन र ?
लोकतन्त्रका नाममा जारी रहेको यस्ता अशोभनीय कर्तुतको पर्दा कहिले खस्ला ? घोषित आगामी चुनावसम्म रंगमञ्चमा यो दृश्य यसरी नै प्रदर्शित भइरहला कि एक पक्षले आशा गरेजस्तो संसद् पुनस्र्थापना भएपश्चात् यसको समापन होला ?
दक्षिण अफ्रिकाको धेरै परको होइन नजिकैको इतिहास हेरौं। मन्डेला साढे दुई दशक कारागारमा बन्धित रहे। त्यहाँ कष्टपूर्ण जेलजीवन व्यतीत गरे उनले। जेलभित्र उनलाई असाध्य घिनलाग्दो व्यवहार गरिन्थ्यो। कतिसम्म भने उनका अनुहारमा बेला–बेला सैनिक प्रहरीले पिसाब फेरिदिन्थे। समयक्रममा मण्डेला जेलबाट छुटे र दक्षिण अफ्रिकाका राष्ट्रपति बने। एक दिन उनी एउटा होटेलमा गएका बेला त्यहाँ भोकैजस्तो अलिक असामान्य देखिएका एउटा मान्छेमाथि उनको दृष्टि पर्न गयो। जब त्यो मान्छेका आँखा मन्डेलाका आँखासँग जुध्न पुगे, ऊ थरथर काँप्न लाग्यो। मन्डेला उसको नजिकै गएर आफ्ना हातले मायालु पारामा उसलाई स्पर्श गरे। बडो हतोत्साही भावमा त्यो व्यक्तिले भन्यो– ‘म त्यही मान्छे हुँ, जसले जेलभित्र तपाईंमाथि पिसाब फेर्ने घोर कुकर्म गरेको थिएँ।’ तर यो सुनेर मन्डेला उल्टो मुस्कुराए र बडो विनम्रताका साथ बोले, ‘यो सबै समयको खेल हो। त्यसबखत तिमी आफ्नो कर्तव्यमा थियौ, आज म आफ्नो कर्तव्य निभाउँदै छु।’
शिष्टताको प्रसंगमा माथिको उद्धरण केही अतिरञ्जित लाग्न सक्छ, तर धेरै हदसम्म सत्यता मिसिएको यो प्रसंग महसुस गर्ने हो भने आजको सडकीय नाराहरूका कारण शिष्टता–शब्दमाथि नै कलंक पोतिएको भान हुन्छ। प्रश्न उठ्छ– सडकमा यो कस्तो मानसिकता हो ? शिष्टता भन्ने शब्द नै समाजबाट अब अलग भइसकेको हो ? हो, चित्त नबुझेको कुरालाई लिएर रुन सकिन्छ, चित्त दुखाउनेलाई दोष दिएर कहीं–कतै गुनासो गर्न मिल्छ वा स्वयं सम्बन्धित व्यक्तिसँगै पनि गुनासो गर्न सकिन्छ। तर सडकमै गएर एक–अर्काको उछित्तो काढ्नु कहाँसम्मको सामाजिकता हो ? जुलुस गरेर हिजोसम्मका अभिन्न (?) कमरेडहरूले एक–अर्कामाथि अशिष्ट नारा लगाइएको यस्तो जगहँसाइ कमसेकम यसभन्दा अघि नेपालको राजनीतिमा सुनिएको–देखिएको थिएन।
मन नपर्नासाथ व्यक्तिलाई मात्रै होइन, सामान्य नागरिकमाथि कुनै पनि अशिष्ट किसिमका शब्दहरू प्रयोग गरिनु पक्कै पनि सभ्यताको परिचायक होइन। त्यसमाथि कुनै घरको कोठामा होइन, कुनै चारदिवारीभित्र होइन, खुलमखुला मूल सडकमा निस्किएर एकले अर्कामाथि अशिष्ट/अमर्यादित/असामाजिक नारा लगाउन पाउने स्वतन्त्रताको उल्लेख संविधानतः कुन धाराको कुन दफा र कुन उपदफामा छ ? लोकतन्त्र भनेर नाम दिइएको के यो यही शासन प्रणालीको उपहास गर्नका निमित्त हो ? कम्तीमा पनि आफैंले ठूलो संघर्षबाट प्राप्त गरेको भनी दाबा गरिएको यो लोकतन्त्रको लाज त राखिदिनुपर्ने हो तिनले !
प्रश्न खडा छ– लोकतन्त्रका नाममा जारी रहेको यस्तो अशोभनीय कर्तुतको पर्दा कहिले खस्ला ? घोषित आगामी चुनावसम्म रंगमञ्चमा यो दृश्य यसरी नै प्रदर्शित भइरहला कि एक पक्षले आशा गरेजस्तो संसद् पुनस्र्थापना भएपश्चात् यसको समापन होला ?