विद्यार्थीले बनाए औषधि
दाङ : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको बिजौरीस्थित जनता विद्यापीठका विद्यार्थीले औषधि बनाएका छन्। आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तह (एएचए) अध्ययनरत विद्यार्थीले वासावलेह औषधि उत्पादन गरेका हुन्।
दोस्रो वर्षका विद्यार्थीले प्रयोगात्मक अभ्यासका रूपमा औषधि उत्पादन गरेका हुन्। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त प्रयोगात्मक सीप दिने उद्देश्यअनुसार यस्तो सफलता मिलेको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए। विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयास भइरहेको उनले जानकारी दिए।
वासावलेह स्थानीय जडीबुटी असुरो, मह, घिउ, चिनी र पिपलालगायतको मिश्रणबाट तयार पारिएको छ। यो औषधि स्वास्थ्यका लागि फाइदाजनक रहेकाले दम, रक्तपित्त तथा रुघाखोकीका लागि उपयोगी हुने कार्यक्रम संयोजक डा.मनोज अधिकारीले बताए। औषधि थोरै देखिए पनि धेरै जडीबुटीको मिश्रण गरिएकाले उत्पादनमा धेरै समय लागेको उनले जानकारी दिए।
आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले दुई वर्षसम्म यो औषधि प्रयोग गर्न सकिने अधिकारीको दाबी छ। आयुर्वेद उत्तरमध्यमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक विषयअन्तर्गत यस्ता औषधि उत्पादन गर्दै आइरहेका छन्। आयुर्वेदको कक्षा सञ्चालन भएदेखि नै विद्यार्थीले च्यावनप्रास उत्पादन गरेका छन्। विद्यार्थीले व्यक्तिगत लगानी गरेर च्यावनप्रास बनाएका थिए।
औषधि विशेषज्ञ तथा केन्द्रीय आयुर्वेद बेलझुन्डीका प्राडा सुनील कुमारले पढाइअनुसारको अभ्यास गराउने र त्यहीबाट औषधि उत्पादन गरिरहेको जानकारी दिए। विद्यार्थी धनबहादुर केसीले गुरुहरूको सहयोग र विद्यार्थीको मेहनतले औषधि उत्पादन सम्भव भएको बताए।