प्रचण्डको ‘म’ स्वभावले पार्टी र सरकार कमजोर भयो : परराष्ट मन्त्री ज्ञवाली

प्रचण्डको ‘म’ स्वभावले पार्टी र सरकार कमजोर भयो : परराष्ट मन्त्री ज्ञवाली

विराटनगर : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’आफ्नै कारणले विस्तारै आफैँ मासिंदै जाने बताएका छन्। नेपाल बुद्धिजीवी परिषद, मोरङले विराटनगरमा शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद र प्रतिष्ठाको लोभ बोक्ने प्रचण्डकै कारण आज पूर्व माओवादी नेता पनि आफ्नो साथमा नरहेको बताए।

‘सँगै जनयुद्धमा होमिएका विप्लवदेखि अहिले बादलसम्मले उनको साथ छोडिसकेका छन्, प्रचण्डको ‘म’ स्वभावका कारण अरुलाई साथमा लिएर हिँड्न र साथ दिन उनलाई ज्ञान छैन’, नेकपा ओली समूहका प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘अहिलेको राजनीतिक अवस्था सृजना हुनुको मुख्य दोषी पनि प्रचण्ड नै हुन्।’ 

चुनावी सहकार्य सँगै पार्टी एकतासम्म पुग्दा पद र प्रतिष्ठाको लोभमा पार्टीभित्र बार्गेनङ मात्रै गर्ने प्रचण्डले आफ्नो स्वार्थ र विदेशी शक्तिको स्वार्थ पूरा गर्न-गराउन नसक्दा सरकार सञ्चालनमा बारम्बार बाधा पुर्‍याउँदै आएको ज्ञवालीको आरोप छ। ‘भारत भ्रमणमा जाँदा, सरकारी संवादकै क्रममा म प्रधानमन्त्री भएपछि मात्रै सहयोग गर्नु, अहिले पर्दैन भन्ने, सरकारलाई हरेक काममा असहयोग गर्ने र दिएको जिम्मेवारी पनि पूरा नगर्ने प्रचण्ड अहिले आफ्नै स्वाभावले सडकमा पुगेका हुन्’, ज्ञवालीले भने। 

सडकमा बस्ने र कालो झण्डा देखाउने प्रचण्ड–नेपाल समुहको वास्तविक स्वभाव भएकाले अब सूर्य चिन्हभन्दा पनि कालो झण्डालाई नै चुनावि चिन्ह बनाउन उनले व्याङ्ग्यात्मक रुपमा आग्रह गरे।‘हामीले सबै प्रकृया र पार्टीको नियम बमोजिम केन्द्रीय समिति विस्तार गरेका छौँ, आधिकारिकताको कसैसँग लडाई गर्न हामीलाई आवस्यक नै छैन, सूर्य चिन्ह हाम्रौ हो’, ज्ञवालीले भने, ‘वर्षौँदेखि जितेर ल्याएको ‘गोल्ड मेडल’ एक दिन उफ्रँदैमा कसैले पाउँछ ?’

पार्टी भित्रैबाट सरकारमा असहयोग र सत्ता कब्जा गर्ने सड्यन्त्र सुरु भएपछि प्रधानमन्त्री ओलीले बाध्य भएर प्रनिनिधिसभा विघटन गरेर नागरिकलाई नै सही व्यक्ति छनोट गर्ने अधिकार दिएको मन्त्री ज्ञवालीको भनाइ छ। 

उनले सर्वोच्चमा पुगेको यो विषयमा न्याय मुर्तिका रुपमा रहेका पूर्व न्यायधीशहरु पनि जता ततै संलग्न भएर वक्तव्य निकाल्नु दुखद कुरा भएकाले अब न्याय जनताले गर्ने र समयमा नै चुनाव हुने उद्घोष गरे।  

कार्यक्रमलाई संवोधन गर्दै संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा बोलेको र काम गरेकाले नै विदेशीको इसारामा प्रचण्ड–नेपाल समूह भड्किएको दावी गरे। 

‘देशको विकासका विषयमा प्रधानमन्त्रीले बोले, नेपालको नयाँ नक्सा सार्वजनिक गरे र नेपाललाई विश्वमा चिनाउने काम गरेको लोभ र आरिस आज सडकमा बसेर पोखिरहेका छन्’, मन्त्री ढकालले दाबीका साथ भने, ‘प्रधानमन्त्रीले यस्तो काम नगर्ने हो भने अहिलेको अवस्था आउने थिएन, सडकमा बसेर कराउनेहरु सुसुप्त रुपमा रहेका हुने थिए।’ 

कोरोना भाइरस संक्रमणको समयमा औषधी खरिद र ओम्निको सम्लग्नताका विषयमा बोल्दै मन्त्री ढकालले एक रुपैयाँ पनि सरकारले लगानी नगरेको र औषधीका विषयमा प्रश्न उठेपछि ओम्निले राखेको ५ करोड धरौटी पनि जफत गर्दा सरकारले के गल्ति गर्‍यो भन्दै प्रश्न समेत गरे। 

‘सरकार यस विषयमा न कमिसनमा फसेको छ नत गैर कानुनी काम नै गरेको छ’, उनले प्रश्न गर्दै भने, ‘सरकारको एक रुपैयाँ पनि चलखेल नहुँदा पनि किन सरकारलाई अनेक आरोप लगाईन्छ ?’

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘प्रचण्ड’ले पार्टी एकतालाई भिन्न रुपमा सम्झिएकाले यसको असर, पार्टी हुँदै केन्द्र सरकार र अहिले प्रदेश सरकारसम्म परेको बताए। 

उनले प्रचण्डको केन्द्रदेखि प्रदेश सरकारसम्म कब्जा गर्ने षड्यन्त्रले केन्द्रमा सरकारलाई घेराबन्दीमा पार्ने र रातारात तयारी गरेर प्रदेशमा अविश्वासको प्रश्ताव दर्ता गर्ने चलखेल भएको बताए। ‘प्रचण्डले पार्टीमा घुस्दै केन्द्र र प्रदेश सरकारसम्म कब्जा गर्ने षड्यन्त्र बनाएका रहेछन्, यो असफल हुनेछ ’, मुख्यमन्त्री राईले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.