कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण
गोरखा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर बिहीबा गोरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।
‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने, ‘कांग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ ।’
स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।