झूटको खेतीमा सत्य उब्जन्छ ?
हिजोको नेपाली समाज; हाम्रो पुस्ताले आज त्यसलाई परिकल्पना गर्दा कसरी कुन रूपमा गर्छ होला ? सत्यवादी राजा हरिश्चन्द्रको पालाको कुरो अहिले पनि कतै–कतै प्रसंगमा आउने गर्छ। त्यो पौराणिककालको कुरो; त्यसो त आज असान्दर्भिक होला। त्योभन्दा पनि अझै, आश्चर्यलाग्दो होला। हो, आजको समाजले त्यसबेलाका कुरालाई केवल कहानीकहावत मात्रै मान्ने हो भने त कुनै विषयमाथि चर्चा/परिचर्चा वा बहसको केही अर्थ छैन, आवश्यकता छैन। अन्यथा, त्यो समयलाई गहिरिएर वर्तमान समयमा मूल्यांकन गर्ने हो भने त्यसको अन्तर्य सहजै बुझ्न सकिन्छ। कुरो यति मात्रै हो कि, त्यो बुझिएको कुरोलाई कतिसम्म अनुसरण गर्ने हो या अनुसरण नै नगर्ने हो ? त्यो, यही समाजमा भर पर्छ।
पुस–माघको पारिलो घाममा बिस्कुन सुकाइने परम्परा आज पनि यदाकदा पाइन्छ। खास गरेर गाउँ–समाजमा। सामान्यतः सहरमा भने बिस्कुनको परम्परा हराइसकेको छ। खास गरेर सहरिया बालबच्चाका लागि त बिस्कुनको प्रसंग किंवदन्ती नै भइसकेको छ। कतिसम्म भने आजका बालबालिका सिंगो फर्सी देखे भने पनि सोध्ने भइसके– यति ठूला फर्सी फल्ने रूख कस्तो र कत्रो हुन्छ ? यहाँ प्रसंग जोड्न खोजिएको छ उसबेलाको कुरो हो। सत्यवादी राजा हरिश्चन्द्रको राज्यकाल र बिस्कुनको विषयमा एउटा बडो घतलाग्दो प्रसंग छ। एउटा अनाम गाउँमा एकजना पाका व्यक्तिले आफ्नो घरअगाडि बिस्कुन सुकाएका थिए र स्वयम् आफ्नो हातमा एउटा लामो छडी (लठ्ठी) लिएर बसेका थिए। बेलाबेलामा छडी ट्याकट्याक गरिरहन्थे।
संसारलाई ढाँट्न सकिन्छ, झुक्याउन सकिन्छ तर आफ्नो आत्मालाई सकिन्न। आफ्नो आत्मालाई सोधौं– सही के हो ? गलत के हो ? महाशय ! निष्ठाको राजनीति गर्नोस् ! निष्ठाको !!
दिउँसोको कडा घाममा थकित झैं देखिन्थे उनी। बेलाबेलामा उँघिरहेका थिए, जसै उँघ्थे हातका छडी हातबाट लत्रन्थ्यो र झल्याँस्स हुन्थे। त्यो समयको यस्तो दृश्यको कल्पना गरेर एकपटक गहिरोसँग यसलाई विश्लेषण गरौं। वास्तवमा उँघेर पनि बिस्कुन रुँघ्दै बस्नुपर्ने बाध्यता के थियो त्यो पाका व्यक्तिको ? आजको ‘कलियुग’ का आँखाबाट हेर्ने हो भने सुकाइएको त्यो बिस्कुनलाई चरचुरुंगी–चौपायाहरूको आहार हुनबाट जोगाउन ती पाका व्यक्ति पहरेदार भएर बसेको हुनुपर्छ भन्ने रूपमा बुझिन्छ। अझ प्रस्टरूपमा भन्नुपर्दा, त्यो बिस्कुनलाई आँखा छलेर कुनै दोस्रो व्यक्तिले लैजान नपाऊन् भन्ने हेतुले पहरेदारी गरिएको हुनुपर्छ। तर त्यो बेलाको ‘सत्ययुग’ को आँखाले यही दृश्यको कल्पना गर्दा फरक ढंगले विश्लेषण गर्न सकिन्छ। बेला थियो त्यो, सत्ययुगको। राज्यको राजा थिए सत्य हरिश्चन्द्र। र, हरिश्चन्द्रको राज्यमा सुकाइएको बिस्कुन थियो त्यो। थियो त त्यो बिस्कुनमा अन्नपात नै सुकाइएको थियो। तर तुलनात्मक रूपले त्यो बिस्कुन विशेष थियो। किन विशेष थियो भने त्यो बिस्कुनको रूप आज सुकाइने जस्तो थिएन। अर्थात् फरक थियो। फरक के थियो भने, त्यतिखेर बिस्कुन सुकाइएको ठाउँबाट कसैले चोरिदेला भन्ने आजको जस्तो डर थिएन। तर पनि डर त पक्कै थियो। त्यो डर के–कुन प्रकारको थियो ?
फेरि दोहो¥याऊँ, सत्यवादी राजा हरिश्चन्द्रको पालाको कुरा थियो त्यो। राजा नै सत्यवादी भएपछि राज्यले पनि पक्कै सत्यतामा नै विश्वास गथ्र्यो। भन्नै परेन, ‘सत्य’ संज्ञाले विभूषित राजा हरिश्चन्द्रको राज्यमा स्वभावतः नागरिकहरू पनि सत्यको लाइनमा थिए। त्यही हरिश्चन्द्र–युगको कुरो थियो त्यो। जब सत्यवादीहरू कुनै बाटो हिँड्छन् त्यो बाटो जस्तोसुकै किन नहोस्, त्यो सत्यको मार्ग बन्छ, त्यसलाई बनाउँछन्। सन्दर्भ बिस्कुनको। त्यसबेला सुकाइएको त्यो बिस्कुन रुँघ्ने मान्छे सत्यवादी थिए। सत्यमार्गी थिए। तर विडम्बना ! सत्यको मार्ग पहिल्याउँदा पनि डराउनुपर्दो रहेछ; उनलाई डर थियो, उँघेको मौका पारेर कतैकोही लुकिचोरी आइदेला। तर लुकिचोरी आइदिने मान्छेले उनले रुँघिराखेको बिस्कुनको अन्न चोरिदेला भन्ने उनलाई डर होइन, उनको बिस्कुनमाथि अरू अन्न थपिदेला भन्ने डर थियो। समाजमा सबैजना असल मात्रै हुन्छन् भन्ने छैन। खराब पनि हुन्छन् नै। खराब मान्छे राजा हरिश्चन्द्रको राज्यमा पनि थिए। तर कस्तो खराब ? कसैलाई सहयोग गर्नु, कसैमाथि धर्म गर्दा पनि लुकीचोरी गर्नुपर्ने सोच राख्ने खराब व्यक्ति थिए त्यसबेला। यही खराब व्यक्तिबाट आफूले सुकाएको बिस्कुनमा अन्न थपियो भने उसको ऋण खाइएको ठहरिन्छ। त्यसैले बिस्कुन सुकाउने मान्छे दोस्रो मान्छेको सहयोगबाट जोगिने कोसिस गरिरहेछन्। कति चोखोपन ! कति इमानदारी ! कति नैतिकता ! फरक नै यही हो आफू सत्यको बाटोमा रहनु र सत्यलाई छोड्नुमा।
आज सत्य हराएको छ। समाज झूटमुठमा अल्झिएको छ। आजको समयमा झूटको गाँठो यसरी गुजुल्टिएको छ कि त्यसलाई कसै गरे पनि फुकाउन नसकिने भएको छ। त्यही झूटमा बाँच्ने बानी परिसकेको छ आजका मान्छेलाई देशमा। झूटसँगै अभ्यस्त भइसकेका छन् सबैजना। थाहा छ, यो झूट हो। बोली झूट हो, भाषण झूट हो, आश्वासन झूट हो। समग्रमा, आजको राजनीति झूट हो। झूटको खेती गरिरहेछन् राजनीतिज्ञहरू। तर यो सब थाहा भएरै पनि राजनीतिप्रति आकर्षित हुनेहरू यो झूटको खेतीमा साथ दिइरहेछन्, मलजल गरिरहेछन्। राजनीतिज्ञहरू सडकमा आएर भनिरहेछन्– संसद् पुनस्र्थापना हुन्छ। कुर्सीमा हुने राजनीतिज्ञहरू भन्दै छन्– संसद् भंग भइसक्यो, अब चुनाव हुन्छ। दुवै तर्फबाट गरिएको दाबी के सही दाबी हो ? यद्यपि, दुवैलाई लागेको छ– मेरो दाबी सही छ। होला। तर दुईमध्ये एक जे भए पनि यति भन्न सकिन्छ– त्यो झूटको बाटो हुनेछ। किनभने आज देखिएको राजनीतिक विषय नै झूटका आधारमा खडा भएको छ। त्यो आधार खोज्दै जाने हो भने यसको फेहरिस्त लम्बेतान हुन्छ। त्यसैले, थोरै मात्र सत्यको कुरो गर्ने हो भने समग्रमा यी राजनीतिज्ञहरूले एउटा तथ्य बुझ्न आवश्यक छ। त्यो तथ्य हो– आफ्नो आत्मा। संसारलाई ढाँट्न सकिन्छ, झुक्याउन सकिन्छ तर आफ्नो आत्मालाई सकिन्न। आफ्नो आत्मालाई सोधौं– सही के हो ? गलत के हो ?
महाशय ! निष्ठाको राजनीति गर्नोस् ! निष्ठाको !!
[email protected]