दाङमा कोरोना खोप लगाउन सुरु
दाङ : दाङमा बुधबारदेखि कोरोना विरुद्धको खोप सुरु गरिएको छ। कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि जिल्लाका दुई स्थान तुलसीपुर र घोराहीमा कोरोना खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यलय दाङका अनुसार जिल्लामा पहिलो चरणमा तीन हजार जनालाई कोरोना खोप दिइने छ। यसका लागि मंगलबार ६ हजार डोज खोप जिल्लामा आइसकेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए। पहिलो चरणमा अग्रपक्तिंमा खटिने स्वास्थ्य क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई खोप लगाउन सुरु गरिएको छ।
कोरोना खोप लगाउनका लागि तालिम प्राप्त चिकित्सकहरु व्यवस्थापन गरिएको छ। ‘कुनै खोप लगाउनका लागि प्रयाप्त सिप र ज्ञान हुनुपर्छ', उनले भने, 'यसर्थ कोरोना खोप लगाउनका लागि चिकित्सकहरुलाई तालिम समेत दिइसकेका छौं।’ राप्ती प्रादेशिक अस्पतालमा पहिलो चरणमा तीनसय डोज खोप दिइने छ। भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनसय ५० डोज खोप दिइने छ। खोप लगाउनका लागि घोराही र तुलसीपुरका लागि आठ जनालाई तालिमसमेत दिइएको उनले जानकारी दिए।
आजबाट लगाउन थालिएको पहिलो चरणको खोप अन्तरगत अग्रपंक्तिममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, कार्यालयमा खटिने कार्यालय सहयोगी, एम्बुलेन्सका चालक, सरसफाईकर्मी लगायतलाई खोप दिइने छ। त्यसपछि सरकारको निर्देशन अनुसार विभिन्न क्षेत्रमा आवद्ध कर्मचारी, जेष्ठ नागरिक, दिर्घरोगीहरुलाई खोप लगाइने प्रमुख शाहीले बताए।
कोरोना खोपलाई विश्वासका साथ लिइएको र यसको व्यवस्थापन सहज रुपमा अस्पतालले गर्ने राप्ती प्रादेशिक अस्पतालका मेसु विनोद सिहले बताए। उनले यसका लागि जनशक्ति अस्पतालले व्यवस्थापन गरिसकेको जानकारी दिए।
जिल्लामा तीनहजारको सँख्यामा पहिलो चरणमा खोप लगाउनेको संख्या रहेको छ। भने तुलसीपुरमा मात्रै आठसय ७३ जनाको विवरण तयार भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्वास्थ्यस्वयंसेविका लगायतका स्वास्थ्यका क्षेत्रमा रहेर काम गर्नेहरु रहेको उनले बताए। सरकारको निर्देशन अनुसार यसपछिको चरणमा दिर्घरोगी र बृद्धवृद्धाहरुलाई कोरोना खोप दिइने उनको भनाइ छ।
कोरोना खोप लगाउँदा स्वास्थ्यमा खतरा हुने, मानिसको ज्यानजाने जस्ता गलत सुचनाहरु बाहिर आइरहेको भन्दै उनले भ्रममा नपर्न नागरिकलाई अनुरोध समेत गरेका छन्। ‘कुनै पनि खोप लगाउँदा सामान्य असरहरु देखा त पर्छ नै', उनले भने, ‘तर जसरी कोरोना खोप लगाउँदा यस्तो हुन्छ, उस्तो हुन्छ भनिएको छ त्यो गलत हो, नडराएर कोरोना खोप लगाउन मेरो अनुरोध छ।’ कोरोना खोप लगाएको २८ दिनपछि पुनः अर्को खोप लगाउनु पर्ने पनि उनले जानकारी दिए।