जनार्दन शर्माको दावी: बैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन
ताप्लेजुङ: प्रचण्ड–माधव समूहको नेकपाका नेता जनार्दन शर्माले बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दावी गरेका छन् ।
मंगलबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजित विरोधसभामा बोल्दै नेता शर्माले निर्वाचन हुन्छ भनेर प्रधानमन्त्री केपी ओली समूहले भ्रम फैलाइरहेको आरोप लगाए ।
जनताले देश विकास गर्न कम्युनिस्ट पार्टीलाई म्यान्डेट दिएको भए पनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई कुल्चिएको शर्माको आरोप थियो ।
‘संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्रको हत्या गरे,’ शर्माले भने, 'संविधान र जनताको सर्वोच्चताको रक्षाका निम्ति हामी सडकमा छौँ, तपाईँहरुले पनि साथ दिनूस् ।’
संविधानभन्दा माथि कोही पनि नभएको शर्माको भनाइ थियो । ‘केपी ओली र राष्ट्रपति विद्या भण्डारीको कुर्सी पनि संविधानभन्दा तल छन्, म नै सर्वेसर्वा हुँ भन्ने अहमता कसैले नलिए हुन्छ,’ शर्माले भने ।
आफूहरुको लडाईं पदका लागि नभएर लोकतन्त्रको रक्षाका लागि भएको र त्यसका लागि साझा मोर्चा बनाएर आन्दोलन गर्न शर्माले आह्वान समेत गरे ।